Home कला/साहित्य कलशमा नेपाल !

कलशमा नेपाल !

3096
0
SHARE

काठमाडौं, २० चैत – कलश मंगलमय काम गर्न प्रयोग गरिन्छ । भरि पानी राखी शुभकार्यमा प्रयोग गरिने कलशकै रुपमा रड र ढुंगाबाट कलाकार भुवन थापा ‘बहुबि’ले बनाएको कलाकृति अहिले चर्चाको शिखरमा रहेको छ । जसमा थापाले नेपाली समाजको प्रतिबिम्ब उधिनेका छन् । कलश आकारमा रडलाई मोडेर त्यसमा गण्डकी, कोशी कर्णाली तथ मेची महकालीबाट संकलन गरिएका ढुंगा राखिएको छ ।

काठमाडौं ट्रिएनाले अन्तर्गत थापाले बनाएको ‘पूर्ण कलश’ शीर्षकको यो स्मारकीय कलामा नेपाली समाज, संस्कृति, राजनीति र पर्यावरणको प्रतिबिम्ब देख्न सकिन्छ । देशभरीबाट संकलन गरिएका ढुंगामा नेपालका चलेका र चिनिएका कलाकार, साहित्यकार तथा समाजका प्रतिष्ठित व्यक्तित्वको हस्ताक्षरलाई कुँदिएको छ ।
उप–राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री केपी ओली, संगीतकर्मी भक्तराज आचार्य, संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवि माधव घिमिरे, कवि मञ्जुल, मह जोडी, वरिष्ठ कलाकार शशी शाह, उत्तम नेपाली, गोविन्दनारायण ज्यापू, मनुजबाबु मिश्र, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, आनन्ददेव भट्ट, अम्बिका श्रेष्ठ, अंगुरबाबा जोशी, पुष्पा बस्नेत, किरण मानन्धर, गेहेन्द्रमान अमात्य, ठाकुरप्रसाद मैनाली लगायत २०० भन्दा बढी व्यक्तित्वले हस्ताक्षर गरेका ढुंगा कलशमा राखिएको थापाले जनाए ।
थापाले बनाएको यो कला अहिले काठमाडौं ट्रिएनाले अन्तर्गत तारागाउँ म्यूजियममा राखिएको छ । १५ फिट अग्लो र ७ फिट गोलो यो कला नेपाली कला क्षेत्रमा एक बेजोड कृतिको रुपमा रहने छ । नेपाली स्मारकीय कलाका एकल हस्तीका रुपमा परिचित थापाले कलशलाई नेपाली राजनीति, समाज, संस्कृति र पर्यावरणसँग जोडेर बनाएक्को बताए ।
कलशमा गण्डकी, कोशी र महाकाली नदीका ढुंगामा त्यहीका स्थानीय मानिसको हस्ताक्षर गरिएको थापाले १० दिने यात्राका क्रममा थापाले मेची महाकालीको यात्रा गरेको सुनाए ।
‘राजनैतिक परिवर्तनसँगै नयाँ नेपाल बनाउने जनताको संकल्पलाई जोडिएको विषय नै कलाकृतिको मुख्य थिम हो । पूर्वदेखि पश्चिमसम्मका ढुंगालाई कलाकृतिमा राखि एकताको प्रतीकलाई जोड्न खोजिएको हो,’ थापाले भने । उनले थपे, ‘यो कामले अहिलको अवस्थालाई युग–युगसम्म प्रतिनिधित्व गरिरहने विश्वास समेत मैले लिएको छु ।’
क्लशमा ढुंगा नै किन ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘बगरको ढुंगाले पानीलाई नि जितेको हुन्छ । बाढी–पहिरो, बर्षा–भेल आदिको कहर सहदै जसरी बगरमा आफ्नो उपस्थिति जनाइरहेको छ । त्यसैगरी समाजमा पनि संघर्षका अनेकन घुम्ती र मोड पार गर्दै मानिसले आफ्नो जीवनलाई गतिशिल बनाएको हुन्छ । त्यही बगरको ढुंगालाई बिम्बको रुपमा कलशमा राखेर मैले मानिसका संघर्षका कथालाई राजनीति र समाजको पक्षमा चित्रण गर्न खोजेको हुँ ।’ के संघर्षविनाको गतिशिलताले जीवनमा सौन्दर्य भर्न सक्ला ? यी र यस्तै मानव, प्रकृति र समाजका संघर्षका गीतलाई उन्दै थापाले कलश बनाए । जसमा मानवीय जीवनका संघर्षका कथा, राजनीतिमा परिवर्तनलाई संस्थागत गर्नुपर्ने उत्तरदायित्व, समाजको विविधतालाई स्वीकार गरी समान अस्तित्वको खोजी, पर्यावरणप्रतिको सचेतता कलशमा समेटिएको छ ।
कलश बनाउने क्रममा जतिलाई भेटे सबैले श्रद्धाले बंशीभूत हुँदै सहभागी भएको थापाले सुनाए । पूर्ण कलशमा त पानी पो हुनुपर्ने भन्ने जिज्ञासा उनका सामु नआएका होइनन् तर उनले त्यसलाई कलाको रुपमा ग्रहण गर्नुपर्ने मत राखे । कलाले मानिसमा जरा गाडेको आस्थालाई परिवर्तन गर्न सक्दो रहेछ भन्ने अनुभव उनले सगाँले ।
८ जना कलाकारले एक महिनादेखि उनको यो काममा सघाए । ‘यो काम मैले आँटेरै बनाएँ । कामबाट सन्तुष्ट छु । दर्शकको प्रतिक्रियाले निकै उत्साहित छु,’ थापाले थपे । यो काम बनाउन काठमाडौं ट्रिएनाले गरेको सहयोगप्रति उनी आभारी रहेको बताए । नेपालमा विश्वस्तरीय यस्ता कला प्रदर्शनी हुनु नेपाली कलाको अन्तर्राष्ट्रियकरण गर्नु रहेको तथा सीप र सिर्जनाका विविध आयाम यस प्रदर्शनीमार्फत सिक्ने अवसर पाएको उनले सुनाए । यसै कामका लागि उनले तीन महिना बढी लागे ।
काठमाडौं ट्रिएनालेमा राखिएका कलामध्ये उत्कृष्ट कलाकृतिको रुपमा पूर्ण कलश रहेको कलाकार तथा समीक्षक रमेश खनालले बताए । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले यो कलाले नेपाली समाजलाई कलामा जोड्न सहयोग पुगेको जनाए । चैत ११ देखि सुरु काठमाडौं ट्रिएनाले १७ दिनसम्म चल्ने छ जसमा २६ देशका ७० कलाकारका कलाकृति काठमाडौं र ललितपुरका विभिन्न ८ स्थानमा गरिएको कार्यक्रम संयोजक संगीता थापाले बताइन् ।

LEAVE A REPLY