Home फिंचर अधिकारका कुरा गर्ने नै लिङ्गभेदको हिस्सेदार बन्नु विडम्वना

अधिकारका कुरा गर्ने नै लिङ्गभेदको हिस्सेदार बन्नु विडम्वना

105
0
SHARE

-गीता लामिछाने-

छोराको ब्याग बोकेर कता हिड्नु भयो ? एक जना पुरुष अधिवक्ता साथीले सोधे । उनी युरोप गएकाले केहि समयको अन्तराल पछि भेट भएका थिए । मानवअधिकारका क्षेत्रमा पनि काम गर्ने भएकाले उनीसंग मानवअधिकारका कार्यक्रममा प्राय भेट हुने गर्थ्यो । अहिले उनी यस्ता कार्यक्रममा जान के गर्छन ? त्यो मलाई थाहा छैन । किनकी आजभोलि यस्ता कार्यक्रमहरु मेरो प्राथमिकतामा पर्दैनन् । हामीले अधिकारका विभिन्न विषयमा धेरैे तालिमहरु सगैं लिएका छौं । त्यसैले उनी एउटै क्षेत्रमा काम गर्ने भएकाले साथी बनेका हुन ।

साथीको प्रश्न थियो कता हिड्नु भयो ? तर मैले जवाफ दिएं, छोराको हैन म आफैको ब्याग बोकेर हिडेकी हुँ । यति भन्दै म उनीसंग छुट्टिए । त्यस पछि मेरो मनमा प्रश्नका बाढीहरु आउन थाले । किनकी छोराको व्याग भन्ने यी साथी सामान्य नागरिक होइनन् । पेशाले यिनी कानुन व्यवसायी हुन । यिनले वकालत गर्ने कानुनमा यस्तो खालको व्याग आमाले प्रयोग गर्ने, यस्तो खालको व्याग बाबुले प्रयोग गर्ने, यस्तो खालको ब्याग छोराले प्रयोग गर्ने, र यस्तो खालको ब्याग छोरीले प्रयोग गर्ने भनेर लेखेको छैन नत मैले बोकेको ब्यागमा नै त्यस्तो केहि लेखेको छ । अनि मनमा अर्को प्रश्न पनि आयो, किन यिनले श्रीमान्को भनेर सोधेनन् ? जवाफ आफैले दिएं ।

सायद उनको विचारमा यो कम उमेर समूहकाले प्रयोग गर्ने खालको ब्याग हो भन्ने ठानेर होला । त्यो भन्दा पनि अहम् अनुउत्तरित प्रश्नहरु मनमा छन् । जस्को उत्तर मैले अनुमान पनि गर्न सक्दिन । नत मैले कसैसंग मागेर सिधा र सही उत्तर पाउछु । आज यिनै प्रश्नहरुले मलाई यो समाज र यसको क्षेत्रमा काम गर्ने प्रति शंका पैदा हुन थालेको छ । सायद यस्तै प्रश्नहरुको उत्तर नपाएर होला नेपाली युवाले आफ्नै देशमा आफ्नो भविष्य नदेखेका ।

ती अहम् प्रश्न यी हुुन, माथी उल्लेखित साथीलाई ‘जेन्डर र समानता’ का विषयमा गरिएको लगानी कहाँ गयो ? किन त्यति धेरै तालिम गोष्ठिले पनि तिनको मानसिकतालाई परिवर्तन गर्न सकेन ? उनको नामको अगाडि अधिवक्ता र मानवअधिकारकर्मी टाईटल जोडिदा सम्म सरकारी र गैरसरकारी निकायको कति लगानी भयो होला ? र अझ कति हुदैं छ ? यो लगानीको प्रतिफल खोजेका छन् कि छैनन् लगानी गरेका निकायले ? कि तालिम र गोष्ठिहरुमा मात्र यस्ता विषयको प्रयोग गर्ने हो ? या डाक्टरले विरामीलाई धुम्रपान गर्न हुदैन भन्ने तर आफ्नो जीवनमा त्यही प्रयोग गर्ने जस्तै विषय हो ?

माथीका विद्घान साथी त प्रतिनिधि पात्र मात्र हुन । यहाँ शहरी क्षेत्रमा मानवअधिकार, जेन्डर, समानता, सामाजिक न्याय जस्ता विषयमा प्रशस्त लगानीमा थुप्रै कार्यक्रमहरु भएका छन् । धेरै व्यक्तिहरु उल्लेखित विषयका तालिममा सहभागि भएका छन् । तालिम र गोष्ठिमा चर्को श्वरमा यस्ता सवालहरु उठ्ने गर्छन । तर व्यवहारिक जीवनमा ती सवालहरु छायां पर्ने गर्छन । यस्ता सबै सहभागिबाट त परिवर्तन पाउन सकिदैन तर कमसेकम जो आफुलाई सामाजिक अभियान्त हुँ भन्ने ठान्छ तिनका व्यवहारमा त समानतावादी सोच हुन आवश्यक छ ।

पछिल्लो समयमा सामाजिक कामलाई पेशाको रुपमा अपनाउनेहरुको संख्या वृद्घि हुदै गएको छ । कुनै गैरसरकारी संस्था दर्ता गरेर होस वा संजाल निर्माण गरेर अथवा लायन्स, रोटरी जस्ता अन्तरराष्ट्रिय संस्थाको सदस्य बनेर होस् सामाजिक काम गर्ने भावना जागृत हुदै गएको पाईन्छ । यो सकरात्मक पक्ष हो । तर आफू परिवर्तन नहुने केवल फेशनको रुपमा मात्र सामाजिक संस्थामा लाग्ने हो भने त्यो समाजप्रतिको धोका हो । त्यसैले त सामाजिक संस्था र व्यक्तिप्रति अविश्वासको अवस्था सृजना भएको छ । त्यसका कारक हामी आफै सामाजिक अभियान्त भन्नेहरु नै हौं ।

प्रसंग ब्यागको थियो । जुन ब्याग बोक्दा सजिलो हुन्छ, जुन कपडा र जुत्ता लगाउदा महिलालाई हिड्डुल गर्न, कार्यस्थलमा काम गर्न सजिलो हुन्छ किन त्यो प्रयोग नगर्ने ? अझ पनि हाम्रो समाजमा कामका वारेमा भन्दा बस्तुका वारेमा बढी चर्चा गरिन्छ । जुन अर्थहीन छ । पढेलेखेका, समाजमा केही गर्छ भन्ने अपेक्षा लिईएका व्यक्ति पनि यसबाट अछुतो छैन । आज हामी छोरा र छोरी जे भए पनि एउटै हो भन्न सक्ने अवस्थामा आईपुगेका छौ । छोरी मात्र भए पनि पुग्छ भनी परिवार नियोजन गर्ने दम्पती पनि छन यहां । हामी जेन्डर (सामाजिक लिङ्गभेद) का वारेमा धेरै चर्चा गर्छौ । महिलालाई हेर्ने दृष्टिकोणले महिलाको विकास हुन सकेन भन्ने चेतना हामीसंग छ यद्यपि महिला र पुरुष समान हुन भन्दै हिड्ने हामी आफैले जेन्डर निर्माण गरिरहेका छौ ।

बच्चा जन्मने वित्तिकैबाट हाम्रो सामाजिक लिङ्गभेदको प्रकृया शुरु हुन्छ । महिला बच्चा भए उसलाई पुतली जसरी सजाउने किसिमका कपडा र सामानहरु किन्ने र पुरुष बच्चा भए त्यही किसिमको सामान किन्ने देखि विभेदको प्रकृया शुरु हुन्छ । बच्चा हुर्कदै गर्दा पुरुष बच्चालाई बन्दुक, कार, जाहज, बल जस्ता खेलौना किनीदिने र महिला बच्चालाई गुडिया, किचन सेटको भाँडाकुटी जस्ता खेलौना किनीदिन्छौ । छोरी मान्छेले यो काम गर्नुपर्छ , छोरा मान्छेले यो काम गर्नुपर्छ भन्दै कामको फरक फरक जिम्मेवारी सिकाउदै जान्छौ । पारिवारिकदेखि सामाजिक दायित्व सम्म महिला र पुरुषका फरक फरक हुन्छन भन्दै सिकाउदै जान्छौ । जस्तै घरका घरयासी काम छोरीलाई गर्न लगाउने घर बाहिरका काम छोरालाई गर्न लगाउने गर्छौ ।

कम्पनीहरुले पनि महिलाहरुको मनलाई तान्न सक्ने खालका झिलीमिलीका सामानहरु उत्पादन गर्छन । जुन सामानको प्रयोगबाट महिला, नेपाली समाजको आखामा पक्का महिला बन्छिन् । जुनसुकै वर्ग, शैक्षिक अवस्था वा पेशाका महिलाले पनि प्राय: परम्पराबादी सोच र व्यवहार आत्मासात् गरेको देखिन्छ । साथै महिलाका लागि निर्मित सामान प्रयोग गर्नुलाई नै प्राथमिकता दिने गरेको पाईन्छ । वास्तवमा यहि कार्यबाट नै महिलाले पनि सामाजिक लिङ्गभेदको निर्माण गरिरहेका हुन्छन् ।

जेण्डर महिला र पुरुष वा लिंगका आधारमा समाजले उनीहरुबाट गरिने अपेक्षा हो । समाजमा महिलाले यो गर्नुपर्छ पुरुषले यो गर्नुपर्छ भनी गरिने वाडफाड नै जेण्डर हो । समाजले महिला लजालु, कमलो मनको हुनुपर्छ र पुरुष शाहसी, निडर, नेतृत्वदायी भुमिका भएको हुनुपर्छ भन्ने जस्ता अपेक्षा राखेको हुन्छ र हामी समाजले अपेक्षा राखे अनुसार नै बन्न खोज्छौ, जुन कार्यले यो परिवर्तनशील छ ।

जेन्डरका विषयमा वकालत गर्ने र तालिम संचालन गर्दै हिड्ने समाजमा स्थापित व्यक्ति आफै सामाजिक लिङ्गभेद निर्माणकाे हिस्सेदार बन्नु वर्तमान समाजका लागि विडम्वनाको विषय हो । यसैकारणले पनि नेपालमा सामाजिक क्षेत्रमा लगानि भए अनुसार उपब्धि हासिल गर्न सकिएको छैन ।

LEAVE A REPLY