Home अन्तर्वार्ता राजनीतिलाई साहित्यले जितेको हुनुपर्छ…

राजनीतिलाई साहित्यले जितेको हुनुपर्छ…

945
0
SHARE

काठमाडाैँ । नेपाली समालोचनाका एक सिद्धहस्त व्यक्तित्व जसले स्रष्टा र द्रष्टा दुवै स्थानबाट साहित्यलाई नियाल्नुभएको छ । यस्ता सिद्धहस्त साहित्यकार एवं समालोचक प्राध्यापक कृष्ण गौतमसँग हरेक पल साहित्यिक मेचमा रोशन थापा ‘नीरव’ले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म बाल्यकालदेखि नै साहित्यक्षेत्रबाट प्रभावित भएको व्यक्ति हुँ । आमाले गाउनुभएको रामायणका श्लोकबाट मलाई साहित्यमा अभिरुचि बढ्दै गयो । आमाले गाउनुभएको रामायण एवं कृष्णचरित्रका श्लोकहरू पनि मेरो प्रेरणाका स्रोत बने । पछि सुब्बा होमनाथ केदारनाथले लेख्नुभएको ‘सचित्र महाभारत’ पिताजीले ल्याइदिनुभयो । जसमा भएका सुन्दर चित्रले पनि मलाई साहित्यतर्फ लाग्न अभिप्रेरित गरे । साथै ‘यस्तै किताब लेख्ने हुनुपर्छ’ भन्ने पिताजीको वचनले पनि मलाई साहित्यतर्फ लाग्न उत्प्रेरित ग¥यो । अलि पछि वासुदेव भट्टराईले लेख्नुभएको रामायणको पुस्तक पनि पढ्ने अवसर मिल्यो जसले नित्य यस्तै साहित्यिक वातावरण सृजना गरिरह्यो । माताजीले सिलोक गाउने र पिताजीले पुस्तक जुटाइदिने कार्यले मलाई साहित्यमा लाग्न अभिप्रेरणा जागृत गरेको हो ।

कुन समयदेखि कलम चलाउन थाल्नुभयो र पहिलो रचना कुन हो ?

सायद त्यो समय पन्ध्र सोह्र सालतिर हुनुपर्छ । मेरो पहिलो रचना निबन्ध हो । मेरोे ‘हिमाल’ कविता ‘युग युवक’ पत्रिकामा २०२४ सालमा सर्वप्रथम प्रकाशित भएको हो ।

समालोचनामा कहिलेबाट प्रवेश गर्नुभयो ?

मेरो ‘ज्योत्स्ना’ पत्रिकामा २०४३ सालमा भानुभक्तसम्बन्धी समालोचना सर्वप्रथम प्रकाशित भएको थियो । सोपश्चात् नेपाल सरकारको संस्कृति भन्ने पत्रिकामा पनि मेरो समालोचना प्रकाशित भयो । यसपछि मेरो पहिलो समालोचनाकृति ‘देवकोटाको प्रबन्धकारिता’ २०३८ मा प्रकाशित भयो ।

निबन्ध र समालोचनामा के भिन्नता हुन्छ ?

निबन्धमा बढी हार्दिक पक्ष हुन्छ भने समालोचनमा बढी बौद्धिक पक्ष रहन्छ । हाल उत्तरआधुनिक सोचमा निबन्ध र समालोचना उस्तै हुन थालेको छ । विधाभञ्जनको स्थिति देखा परेको छ ।

पहिलो सृजना कृति कुन हो ?

मेरो ‘स्वर्णबिम्ब’ उपन्यास २०४८ सालमा प्रकाशति भएको सृजानात्मक पहिलो कृति हो ।

‘स्वर्णबिम्ब’को पृष्ठभूमि के हो ?

यो राजनीतिक विषवस्तु समेटिएको उपन्यास हो । यसमा अस्तित्ववादको चिन्तन रहेको छ । यसै गरी अद्वैत जीवनदर्शन पनि प्रस्तुत उपन्यासमा पाउन सकिन्छ । हामीले उच्चकोटिका सन्तान जन्माउनुपर्छ भन्ने चिन्तन पाइन्छ यस उपन्यासमा समेटिएको छ ।

कथा र उपन्यास लेखनमा कुन सहज लाग्छ ?

कथा नै सटिक हुन्छ । धेरै तारतम्य मिलाइरहनु पर्दैन । उपन्यासमा थुप्रै कुराको ख्याल राख्नुपर्ने हुन्छ । त्यसैले उपन्यास लेख्न गाह्रो लाग्छ ।

सर्जकको रूपमा हालको नेपाली आख्यान लेखन यहाँलाई कस्तो लाग्छ ?

कविताभन्दा ज्यादा प्रिय विधा अहिले आख्यान छ । उपन्यास लेखन प्रवृत्ति पनि हाल बदलिसकेको छ । विधाभञ्जनको स्थिति पनि आएको छ । अहिले लेखिएका उपन्यास होइनन्, आख्यान हुन् । आख्यानलाई अब अनौठो बनाउन सक्नुपर्दछ भन्ने रसियन चिन्तन पनि आएको छ । उत्तरआधुनिकता भनेको नै माक्र्सवाद हो । अहिलेका माक्र्सवादीले यही प्रवृत्तिलाई लिएर आख्यान लेखिरहेका छन् ।

बिपीका कुन कृतिमा समाजवाद पाउन सकिन्छ ?

बिपी राजनीतिमा समाजिवादी र साहित्यमा अराजकतावादी नै हुन् । तर उनका कृतिमा राजनीति पनि पाउन सकिन्छ । तीनघुम्तीमा रमेशले गुप्तचरको काम गरेर राजनीति गरेको छ भने पीताम्बर राजनीतिको नेता नै हो । सुम्निमामा पनि राजनीति पाउन सकिन्छ । हिटलर र यहुदी पनि राजनीतिबाट भिन्न छैन । बिपीले साहित्यमा प्रत्यक्ष राजनीति गरेका छैनन् । राजनीतिलाई सहित्यले जितेको हुनुपर्छ । त्यो कुरा बिपीका कृतिमा पाइन्छ ।

देवकोटा र सममा के भिन्नता पाउनुहुन्छ ?

देवकोटामा मन र सममा बुद्धिपक्ष विशेष रहेको पाइन्छ । देवकोटाका कृतिमा कोमल भाव उद्वेलित पाइन्छन् भने समका कृतिमा बौद्धिक दर्शन भरिएको छ ।

हाल नेपाली साहित्य पनि केही छिनका लागि प्रयोग गर अनि फालिदेऊ भन्ने चिन्तनमा अघि बढिरहेको छ, यसमा के भन्नुहुन्छ ?

साहित्य पनि एउटा व्यवसाय हो । चित्रकला त विक्रीवितरण नै हुन्छ । मान्छे सबै बजारिया नै भइसके । यही चलन सािहत्यमा पनि भित्रिएको देखिन्छ । तर हामी मानवताको हित गर्ने कार्यमा नै लाग्नु उपयुक्त हुन्छ ।

यहाँको भर्खरै प्रकाशित उपन्यास ‘रानीवन’का बारेमा भन्दिनुहोस् न ?

कतिपयले यो उपन्यासलाई राजनीतिक भने । तर यो कृति यथार्थको बिम्बीय चित्रण हो । अर्का थरीले पुँजीवाद र प्रविधिको प्रयुक्त उपन्यास पनि भनेका छन् । मिडियाले जे बनायो पुस्तक त्यस्तै हुन्छ । यो मिडयाकै हातमा छ । यसमा नारीवाद, यौन, विषमता आदि थुप्रै दृष्टिकोण पाउन सकिन्छ । यसमा भाषाको पक्षलाई पनि विशेष ध्यान दिइएको छ । पूर्वाधुनिक, आधुनिक र उत्तरआधुनिक तीनवटै समयको चित्रण प्रस्तुत उपन्यासमा गरिएको छ ।

 

LEAVE A REPLY