Home अन्तर्वार्ता ‘विराट लेखक सम्मेलनले नेपाली भाषा साहित्यमा नयाँ बहस प्रारम्भ गर्छ’

‘विराट लेखक सम्मेलनले नेपाली भाषा साहित्यमा नयाँ बहस प्रारम्भ गर्छ’

1061
0
SHARE

विराटनगर । प्रादेशिक अवधारणाको पूष्ठभूमिमा भाषा साहित्यको विकास भन्ने मूल नाराका साथ नेपाली लेखक सङ्घ मोरङले आगामी फागुन ४ र ५ गते विराटनगरमा विराट लेखक सम्मेलनको तयारीलाई अन्तिम रुप दिँदै छ । सातै प्रदेशका लेखक तथा साहित्यकारको बृहत जमघट गराउने उदेश्यले आयोजना हुने लेखक सम्मेलनमा विभिन्न विषयका चार वटा कार्य पत्र प्रस्तुत हुने भएका छन । विराट लेखक सम्मेलनको सेरोफेरोमा रहेर नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीसँग हरेकपलले गरेको विशेष कुराकानिकाे सम्पादित अंश ।

विराट लेखक सम्मेलनको तयारी कस्तो हुदैछ ?
नेपाली लेखक संघ मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ४ र ५ गते विराट लेखक सम्मेलन प्रदेश नं. १ को मुकाम विराटनगरमा गर्ने निर्णय एक महिना अघि नै गरेको थियो । लेखक सम्मेलन गर्ने निर्णय सँगै सभ्य र भव्य रुपमा विराट लेखक सम्मेलन आयोजनाका लागि तयारी पनि सुरु भयो । तयारी पहिलो चरणमा लेखक संघ मोरङले कसरी लेखक सम्मेलन गर्ने भनी अवधारणा निर्माण गरेको थियो । विभन्न लेखक तथा साहित्यकारहरुसँगको छलफल र भेटघाटबाट प्राप्त सल्लाह सुझाब बमोजिम प्रारम्भिक अवधारणा परिमार्जन गर्दै विराट लेखक सम्मेलन गर्ने निर्णयमा पुगेको हो ।

देश भरका २५० जना भन्दा धेरै लेखकहरुलाई जमघट गराई सम्मेलन सम्पन्न गर्न सजिलो काम होइन । तर पनि हामीले प्रदेश नं. १ बाटै लेखक सम्मेलन गरी भाषा साहित्यको विकासमा नयाँ बहस प्रारम्भ होस् भनी काम सुरु गर्याैँ । सातै प्रदेशका विद्वान साहित्यकारहरुलाई अतिथिका रुपमा निमन्त्रणा पठाएका छौं । फागुन ३ गते बेलुका उहाँहरुको न्यानो सत्कार सँगै आवास र भोजनको प्रबन्ध गरिनेछ । जसका लागि आर्थिक स्रोतको व्यवस्थापन गर्दैछौं । फागुन ४ गते एक समारोहका बिच विराट लेखक सम्मेलन उद्घाटन गरिनेछ । विराटनगरमा फागुन ४ र ५ गते विराट लेखक सम्मलेन सफलता पूर्वक सम्पन्न गर्न नेपाली लेखक संघ मोरङ जुटिरहेको छ ।

नेपाली लेखक सङ्घ मोरङलाई विराट लेखक सम्मेलन गर्ने सोच कसरी आयो ?
नेपालमा प्रदेशिक संरचनाको अवधारणा सँगै सामाजिक, सांस्कृतिक सोच पनि प्रादेशिक मैत्री हुदै गएका छन । झन स्थानीय तह र प्रदेश सभाको निर्वाचन पछि सामाजिक जीवनमा पार्ने प्रभाव र सुन्दर भविष्यकाे सपना देख्नेहरुका सपनासँगै चिया पसलमा हामी लेखक साहित्यकारहरुले पनि सपना बुन्न थाल्यौं । प्रादेशिक संरचनाको संस्थागत हुनेक्रममा प्रादेशिक भाषा साहित्यको विकास कसरी गर्न सकिन्छ भन्ने बहस प्रारम्भ हुने नै भयो । नेपाली लेखक संघ मोरङको कार्य समितिको बैठकमा सल्लाहकरहरुको समेत उस्थितिमा लेखक महोत्सव गर्ने छलफल सुरु भयो । अन्तत: प्रदेशिक अवधारणाको पूष्ठभूमिमा भाषा साहित्यको विकास भन्ने मूल नाराका साथ विराट लेखक सम्मेलन गर्ने निर्णयमा पुग्यौं ।

याे सम्मेलनमा के के कुरामा छलफल तथा बहस हुनेछन् ?
लेखक सम्मेलनको मूल नारा नै प्रादेशिक अवधारणाको पूष्ठभूमिमा भाषा साहित्यको विकास भन्ने रहेको छ । सात प्रदेशका लेखक सहित्यकारसँग एकै छाना मुनी बसेर प्रादेशिक संरचनामा कसरी प्रादेशिक भाषा साहित्यको विकास गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श हुने छ । प्रा.डा. गोविन्द भट्टराईले लेखकीय स्वतन्त्रा सम्बन्धी कार्यपत्र, प्रा.डा.टंक न्यौपानेले प्रदेश नं. १ भित्र रहेका मातृ भाषा सम्बन्धी कार्यपत्र र डा. लक्ष्मण गौतमले नेपाली कविताको विषयमा तयार गर्नु भएको कार्यपत्र विराट लेखक सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम तय गरेका छौं । विराट लेखक सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र माथी विचार विमर्श हुने छ । बृहत कवि गोष्ठी हुने छ । सम्मलेनमा प्रस्तुत विषयलाई संघले अभिलेखिकरण पनि गर्ने छ । जसले प्रादेशिक भाषा साहित्यको विकास गर्न नीतिगत निर्णय लिने निकायलाई सहायोग मिल्ने विश्वास लेखक संघ मोरङको रहेको छ ।

प्रादेशिक संरचनामा भाषा साहित्यको विकास तथा संरक्षण कसरी गर्न सकिन्छ ? लेखक सम्मेलनमा के कस्ता प्रस्तावहरु प्रस्तुत हुनेछन ?
मैले पहिला नै भनि सके सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र माथी हुने छलफल र विद्वानहरुको विचार, विमर्श र बहसबाट प्रादेशिक संरचनामा भाषा साहित्यको विकासमा विराट लेखक सम्मेलनले निकालेको निष्कर्षलाई लिपिबद्ध गरी सर्वाजनिक गर्ने छौं । जसले प्रदेश सरकारलाई भाषा साहित्यको विषयमा नीतिगत निर्णय गर्न सहयोग पुग्नेछ । भाषा साहित्यको केन्द्रीय नीति तथा अवधारणलाई कसरी प्रादेशिक बनाउन सकिन्छ ? यस प्रश्नमा सम्मेलन केन्द्रीत हुने छ ।

तपाईहरुले लिनभएकाे उदेश्यनुरुप उपलब्धी प्राप्त गर्न सकिएला ?
सातै प्रदेशका लेखक सहित्यकारहरुलाई एकै स्थानमा जमघट गराउनु र सातै प्रदेशको भाषा साहित्यको विकास कसरी हुन्छ भनि छलफल केन्द्रित गर्नु तथा उहाँहरुका विचारलाई विमर्श गरी अभिलेखका रुपमा प्रकाशन गर्नु लेखक सम्मलेनको उपलब्धीका रुपमा रहनेछ भन्ने लेखक संघले विश्वास लिएको छ । लेखक संघ मोरङले लिएको यो विश्वासलाई सम्पूर्ण साहित्यकारहरुले हृदयदेखि सहयोग गर्नु हुने छ भन्ने अपेक्षा पनि गरेको छ । विराट लेखक सम्मेलनबाट नेपाली भाषा साहित्यमा नयाँ बहस प्रारम्भ हुने छ ।

LEAVE A REPLY