Home ताजा समाचार उपत्यकामा ‘लभ पार्क’ को अभाव

उपत्यकामा ‘लभ पार्क’ को अभाव

2128
0
SHARE

-केशर कार्की-

काठमाडौं । देशका विभिन्न स्थानबाट आएर काठमाडौं उपत्यकामा बसोबास गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । बसोबास गर्नेको संख्या जति बढे पनि देशको राजधानीमा त्यही अनुसारका सेवासुविधाहरु पर्याप्त नहुँदा सर्वसाधारण जे छ त्यसैमा रमाउन बाध्य छन् । यस्तै उपत्यकाका युवायुवतीहरुको लागी बस्ने, घुम्ने व्यवस्थित सुविधायुक्त पार्कको अभाव रहेको छ । सार्वजनिक विदा साथै विभिन्न पर्वहरुमा रमाइलो गर्ने, बस्ने सुरक्षित पार्कको खोजीमा उपत्यकाबासी युवायुवतीहरु भौतारिरहेका हुन्छन् ।

यस्ता विशेष दिनहरुमा उपत्यकामा बाँकी रहेका केहि ठाउँहरुमा युवायुवतीहरुको डेटिङ स्थल बन्ने गरेको छ । उनीहरु प्रेममा गफिदै माया साट्ने उपयुक्त पार्कहरु नपाउँदा दिनभर बाटोमै भौतारिदै हिड्न बाध्य छन् । उनीहरु चाहन्छन् सुन्दर पार्क होस्, एकान्त ठाउँ होस् तर बिडम्बनाको कुरा त्यस्ता पार्कहरु बनाउने कुनै सरकारी योजना आएका छैनन् ।
पार्क भनिने केहि ठाउँहरु पनि फोहोरको थुप्रोले भरिएर दुर्गन्धित छन् । यस्ता पार्कहरुमा भएपनि यूवा यूवतीहरु दिन बिताउँदै आएका छन् । काठमाडौंको फनपार्कमा भेटिएको एक जोडीले पार्कको अभाव रहेको गुनासो यसरी पोखे – ‘हामी यस्तो ठाउँमा मनभरिका कुरा गर्न असहज छ, एक अर्कालाई भन्न चाहेको कुरा पनि अरुले सुन्छन् कि जस्तो लागेर भन्न नै सक्ने अवस्था हुँदैन ।’


काठमाडौँ उपत्यकामा युवायुवतीहरु जोडी बाधेर हिडेको त धेरै भेटिन्छन् तर उनीहरुले चाहे जस्तो ठाउँ कहिकतै बनेको छैन । कुपण्डोलमा यूएन पार्कको नामले बनेको स्थल पनि व्यवस्थित छैन । तर त्यहाँ आएका युवायुवतीहरु त्यहाँ बस्न असहज मानिरहेको पाइन्छ । यूनपार्कको वरिपरी फोहोर प्लास्टिक, बदमको बोक्रा, चटपटे खाएर फालेका कागज यत्रतत्र छरिएर बसेको छ । यदि यो ठाउँलाई व्यवस्थित बनाउने हो भने जोडीहरुको लागी सहज हुने बताउँछन् स्थाानियहरु ।
पार्क भित्रको चौतारीमा केही जोडीहरु मुखामुख गरेर हाँस्दै थिए त्यहीबेला मलाई जिज्ञासा लाग्यो र सोधिहाँले –‘बस्न लाएक पार्क छ यो ?’ खिस्स हाँस्दै उनले भने ‘बस्नलाई उपयूक्त पार्क त उपत्यकामा खासै छैनन् । उनले बोलिसक्न नपाउँदै यूवतीले मुख खोलिन् –‘हामीलाई त शान्त, सफा र एकान्त ठाउँ भएको पार्क भए राम्रो हुन्थ्यो नी ।’ उनीहरु रमाइलो पार्क नभेटेपछि बाध्य भएर यूएनपार्कमा आएका रे ।

काठमाडौंकै पार्कहरु मध्येको एक पार्क रत्नपार्कमा समेत पछिल्लो समय युवयुवतीहरु आउने क्रम बढेको पार्कको टिक वितरक कार्यालयले जनाएको छ । पार्कका एक कर्मचारीले भने – ‘पहिले भन्दा अहिले पार्कमा युवयुवती आउने क्रम बढेको छ । ‘ रत्नपार्कलाई अहिले ब्यबस्थित बनाइएपछि पहिले निशुल्क प्रवेश गर्न पाइने पार्कमा अहिले टिकट लागु गरिएको छ । पार्कमा जाँदा युवायुवतीहरु पुस महिनाको घाम ताप्दै गफिदैँ बसिरहेको देखिन्थे । यहाँपनि एक युवाले गुनासो राखे –’पार्कमा छिर्नेहरुको भिड लाग्ने गर्छ तर युवा युवतीका लागि यो पार्क खासै ब्यबस्थित बनेको छैन, यहाँ सबै प्रकारको मानिसहरु आउने गर्छन । केहि जोडीहरु आए पनि वरिपरी घुम्छन् र छिटै फर्कन्छन् ।’

यस्तै अर्को क्षेत्र पशुपति क्षेत्रमा रहेको कैलास डाडाँ वरीपरी पनि घुम्ने युवायुवतीको भिड लाग्ने गर्छ । यहाँपनि केही जोडीहरु रुखको फेदमुनि बसेर गफगाफ गरिरहेका थिए । भने केहि चउरको छेउछाउमा अंकमाल गरेर बसिरहेका थिए । राम्रो पार्क कतै नभेट्दा यहाँ आउने गरेको एक युवातीले बताइन ।  कोहि जोडीहरु उपत्यकामा पार्क नभेट्दा उनीहरु बाटोमा गफगाफ गर्दै हिड्ने गर्दछन् । बाटोमा हिँड्दै गरेका प्रेम जोडी बताउँछन्,– ‘हामी रमाइलो गफ गर्दै हिड्दा बाटो कटेको पत्तो हुदैन र समय गएको पनि थाहा हुँदैन ।’


बालाजुको ठूलो क्षेत्रमा फैलिएको बाइसधारा पार्क पनि युवा युवतीहरुको रोजाइमा पर्ने पार्क हो । यहाँ धेरै जोडीहरु घुम्न आउने गर्छन् । यहाँ आउने युवा युवती भन्छन्, –’धाराहरुमा पनि पानी आउँदो रहेनछ । हेर्दा राम्रो देखिने तर ब्यबस्थित पनि छैन । यस पार्कलाई सरकारले महत्व दिए देखि यहाँ पार्क राम्रो बन्ने थियो ।
युवा युवतीको रोजाइमा पर्ने ठाउँ मध्य स्वयम्भू पनि एक हो । यो ठूलो क्षेत्रमा फैलिएको छ । वरिपरी जङ्गलले घेरिएको छ । राम्रो पार्क नहुँदा बिभिन्न ठाउँबाट युवा युवतीहरु जोडी बनेर यहाँ आउने गर्छन् । बाटोको छेउछाउमा र जङ्गल भित्र प्रेम जोडीहरु मुखामुख गरेर बसिरहेका हुन्छन् ।
युवा युवतीहरुको लागि ब्यबस्थित र राम्रो पार्क उपत्यका भित्र बन्न नसक्दा उनिहरुलाई समस्या परेको छ । यस्ता जोडीहरु बेलामौकामा आफ्ना प्रेमी प्रेमिकालाई शान्त र एकान्त ठाउँमा भेटेर गफगाफ गर्न मन पराउँछन् । उनीहरुका लागि ब्यबस्थित पार्क निर्माण गर्न सरकारको महत्वपूर्ण भूमिका रहन्छ । उपत्यका भित्र रहेका बिभिन्न पार्कहरुलाई ब्यबस्थित ढङ्गले निर्माण गर्न सके र सरकारले सशुल्क प्रबेश गराउने गरि आवश्यकता अनुसारको पार्कहरु बनाउन सके उचित हुने उनीहरुको भनाई छ ।

Leave a Reply