Home अन्तर्वार्ता ‘मेरो कर्तव्य सभापतिलाई सहयोग गर्ने हो’

‘मेरो कर्तव्य सभापतिलाई सहयोग गर्ने हो’

653
0
SHARE

-विमलेन्द्र निधि, उपसभापति, नेपाली कांग्रेस-

१३ औं महाधिवेशन भएको २६ महिनापछि उपसभापतिमा मनोनीत हुनुभएको छ, कस्तो महसुस भइरहेको छ ?

ढिलै भए पनि राम्रो भएको छ । विधानसम्मत भएको छ, राम्रो भएको छ । सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गर्न चाहन्छु । उहाँले मलाई विश्वास गरेर कांग्रेसको उपसभापतिको जिम्मेवारी दिनुभएको छ । हाम्रो पार्टीको विधानअनुसार उपसभापतिले सभापतिको निर्देशन पालना गर्नुपर्दछ । उपसभापतिको कर्तव्य भनेको सभापतिलाई सहयोग गर्ने हो, म त्यही भूमिका निभाउँछु । पार्टी सभापतिद्वारा प्रस्तावित उपसभापतिका लागि मनोनयनको प्रस्तावलाई अनुमोदन गरिदिनु भएकोमा केन्द्रीय समितिका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । देशभरका कांग्रेसका सबै साथीहरूलाई म विश्वास दिलाउन चाहन्छु कि मेरो काँधमा जुन जिम्मेवारी आएको छ, चुनौती आएको छ, त्यसलाई मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सबैलाई समेटेर सबैसँग सम्मानपूर्वक व्यवहार गरेर अघि बढ्छु ।

 

महाधिवेशन भएको दुई महिनाभित्रै उपसभापति बन्नुभएको भए धेरै काम गर्न सक्नुहुन्थ्यो होला । अब छोटो कार्यकाल छ । यो अवधिमा के के काम गर्छु भन्ने कार्ययोजना बनाउनु भएको छ ?
हामीलाई दुई महिनाभित्र मनोनीत गर्नुपर्ने थियो, दुई वर्ष किन लाग्यो भन्ने प्रश्न गरिन्छ । तर, हामी बिर्सिन्छौं कि दुई वर्षमा राष्ट्रिय जिम्मेवारी र दायित्व के के आएका थिए ? अब त्यो बेलामा संविधान कार्यान्वयन गर्नुपर्ने थियो । सभापति सुशील कोइरालाको निधन भइसकेपछि पार्टी सभापतिमा शेरबहादुरजी निर्वाचित हुनुभयो । त्यसपछि देशभरिको कार्यकर्तामा त्यो बेलामा दुईवटा कम्युनिस्ट पार्टीको तालमेलका कारण निराशाको अवस्था थियो । त्यसकारण त्यो बेलामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भए राम्रो होला भनियो । सुशीलजी प्रधानमन्त्री पदको निर्वाचनमा अघि बढेर पराजित भएको र त्यसका बारेमा पनि निराशाजनक मानसिकता थियो । त्यसलाई पनि चिर्नुपर्ने थियो । त्यसको अर्थ के भनेदेखि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको तालमेल टुटाएर कांग्रेससँग गराउनु थियो । त्यो भयो भने देशभरका कार्यकर्ताको मोरल उच्च होला भन्ने थियो त्यतिबेला । त्यो प्राथमिक विषय थियो । त्यो विषयलाई ध्यानमा राखेर सभापति शेरबहादुर देउवाजीलगायत म आफैं पनि सभापतिको निर्देशनअनुसार त्यस काममा लागेकै हो । त्यसपछि गएर फेरि संविधान संशोधनका लागि जुन हामीले आश्वासन दिएका थियौं, त्यो संशोधन कसरी मिलाउने, संविधान सबैले स्वीकारून् भन्ने जुन राजनीतिक विषय थियो, त्यसका लागि सबैलाई मिलाउने जुन दायित्व थियो, भूमिका निर्वाह गर्नुपर्ने थियो त्यसले पनि ढिलाइ भयो । यो सबै काममा पार्टी नेतृत्व व्यस्त भएको मान्छेले याद गरेको छैन । यी विषयलाई प्राथमिकतामा राखेकाले पदाधिकारी मनोनयन ढिलो भएको हो । अर्कोतर्फ पार्टीभित्र पनि तीनवटा पदाधिकारीमध्ये एउटा पदाधिकारी दिनुपर्छ भन्ने एकजना शीर्ष नेताले भनेकाले पनि ढिलाइ भएको हो । तर, हामीले कसैलाई आरोप लगाउनु भन्दा पनि ढिलाइ भएको कारणको औचित्यलाई सोचेर, विचार गरेर त्यसलाई ग्रहण गर्नु पर्दछ ।

 

दुई महिनामा भएको भए उपसभापतिका रूपमा धेरै काम गर्ने समय तपाईंसँग हुन्थ्यो । २६ महिना बितिसक्यो अब कामलाई व्यवस्थापन गर्ने योजना चाहिँ के छ तपाईंसँग ?
तपाईंले भनेको कुरा ठीक हो । अब मैले उपसभापति भएर गर्नुपर्ने काम भनेको दुईवटा क्षेत्रमा हेर्नु पर्नेछ । केही काम पार्टी संगठनको क्षेत्रमा गर्नु पर्नेछ भने साथसाथै देशको लागि गर्नुपर्ने काम पनि छ । पार्टीलाई सुदृढ गर्नु पर्यो र संघीय संरचनाअनुसार पार्टीलाई रूपान्तरण गर्नु पर्नेछ । त्यसका लागि जिल्ला सभापतिहरूको भेला, महासमिति बैठक बोलाएर पार्टीको विधान संशोधन, त्यसपछि १४औं महाधिवेशनको तयारी यही हुन पार्टीको क्षेत्रमा गर्नुपर्ने कामहरू । मलाई पूरा विश्वास छ साथीहरू सबैले यो कुरालाई स्वीकार गरेका छन् कि पार्टीको क्षेत्रमा अबको काम के हो भने पार्टीको संरचनालाई दुई सय ४० निर्वाचन क्षेत्रको ठाउँमा एक सय ६५ निर्वाचन क्षेत्र आयो । त्यस्तै सातवटा प्रदेशका लागि तीन सय ३० नयाँ निर्वाचन क्षेत्र नयाँ थपियो । स्थानीय तहहरू पहिले चार हजार थिए अब अहिले ७४४ स्थानीय तहहरू छन् । यो संरचनाअनुसार पार्टीको संरचना पनि हामीले निर्माण गर्नु पर्नेछ । त्यसका लागि पार्टीको विधान संशोधन गर्नु पर्नेछ । यो सबैले स्वीकार गरेको विषय हो । यो जुन कार्य छ त्यसलाई कसरी सम्पादन गर्ने भन्ने विषयमा मेरो भूमिका सभापतिजीलाई सहयोग गर्ने मेरो भूमिका अपेक्षित हुन्छ । म त्यो भूमिका निर्वाह गरेर अघि बढ्छु । अब दुई महिनामै उपसभापति भइदिएको भए भन्ने कुरा अहिले सोच्न जरुरी छैन । अब आजको मितिदेखि पार्टीको क्षेत्रमा गर्नुपर्ने काम गर्नुपर्छ ।

अर्को राष्ट्रिय राजनीतिको सवालमा अहिले कम्युनिस्ट गठबन्धनको सरकार बनेको छ । कम्युनिस्ट सरकारका कारण अहिले दुईवटा क्षेत्रमा खतरा उत्पन्न भएको छ । लोकतन्त्रको पद्धतिमा हामीले जुन विश्वास गर्छौं त्यसमा अहिले आशंका देखिइरहेको छ । सरकार सञ्चालनको शैली जुन छ त्यो अहिले केन्द्रीकृत सोचबाट अघि बढिरहेको छ । अधिनायकवादतिर जाने हो कि भन्ने पनि खतरा छ । संघीय प्रणालीका लागि चाहिने अवयवयहरू, उपकरणहरू, अधिकार, त्यसको लागि दिनुपर्ने ऊर्जा त्यो सबकुरातिर सरकारको ध्यान छैन । सरकार के गर्दैछ भने विभिन्न मन्त्रालयहरूसँग भएका निकायहरू पनि प्रधानमन्त्री मातहत ल्याइएको छ । प्रदेशहरूलाई दिनुपर्ने, हस्तान्तरण गर्नुपर्ने, निजामती सेवा, प्रहरी संगठन, कृषिसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित राज्यका संरचनाहरू जुन छन् ती संरचना हस्तान्तरण गर्नेतिर केन्द्रीय सरकारको रुचि छैन । त्यसैले के बुझिन्छ भने यो संविधान र अहिलेको संघीय प्रणाली हामीले जुन ल्याएका छौं त्यसलाई पनि धरापमा पार्ने खतरा छ । यसबाट मुलुकलाई जोगाउनु पर्नेछ ।
राष्ट्रिय राजनीतिमा कांग्रेसले महत्वपूर्या भूमिका निर्वाह गर्नु पर्नेछ । अनि, अब पाँच वर्षमा निर्वाचन हुन्छ सबै तहमा । त्यो निर्वाचनमा नेपाली कांग्रेसलाई कसरी फेरि बहुमत प्राप्त गर्न सक्ने पार्टी बनाउने हो ? त्यसका लागि पनि पार्टीको वैचारिक, नीतिगत प्रष्टतासँगसँगै कार्यकर्तालाई प्रशिक्षत गर्ने, परिचालन गर्ने, कार्यकर्ताबीचमा एकताको भावना सिर्जना गर्ने यो काम तपाईंको राष्ट्रिय राजनीतिका क्षेत्रमा भूमिका प्रदान गर्नका लागि तयारी गर्नु आवश्यक छ । यसका लागि हामीले दुईवटा काम गर्नुपर्छ, त्यसका लागि हामी तयार छौं ।

 

पार्टीको विधानमा पार्टीको प्रशिक्षण प्रतिष्ठानको संयोजक उपसभापति हुने भन्ने व्यवस्था छ । प्रशिक्षण देशभर सञ्चालन गर्न कसरी काम गर्नुहुन्छ ?
भर्खरै त म उपसभापति भएँ । उपसभापतिको जिम्मेवारी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्ने पनि छ । प्रशिक्षणका लागि नेपाली कांग्रेसभित्रको वैचारिक विषयको प्रशिक्षणमा कुन कुन विषयमा प्रशिक्षण दिनु पर्यो ? अहिले संघीय गणतन्त्रात्मक प्रणालीअन्तर्गत जुन संविधान बनेको छ त्यसअन्तर्गत रहेका केही वैचारिक भ्रमहरू चिर्नु पर्नेछ । गणतन्त्रका विषयमा, राष्ट्रियताका विषयमा, लोकतन्त्रका बारेमा यस्तो जुन विषय छन्, यसमा प्रशिक्षण दिन आवश्यक छ । त्यसकारण म साथीभाइ, बुद्धिजीवीहरूसँग पनि सरसल्लाह र सुझाव लिन्छु । पार्टीका नेताहरूसँग पनि सल्लाह गरेर प्रशिक्षण प्रतिष्ठानलाई गठन गरेर देशभरि प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्छु ।
सबै प्रदेश, निर्वाचन क्षेत्र र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुन्छ । सीमित सानो घेराभित्र भन्दा पनि अलि व्यापक र विस्तारित रूपमा प्रशिक्षण कार्यक्रमलाई लैजानु पर्दछ । सँगसँगै प्रशिक्षणको विषयलाई जनतासँग यसलाई माथि केन्द्रदेखि तल, त्यस्तै कार्यकर्ताको आफ्नै तहमा ‘भर्टिकल र होरिजेन्टल’ संवाद, वैचारिक प्रशिक्षण हुनु प¥यो । विकास र समृद्धिको विषयमा पनि प्रशिक्षण हुनुपर्छ । नेतासँगमात्रै संवाद होइन जनता र कार्यकर्तासँग संवाद भइराख्नुपर्छ, त्यसलाई निरन्तर चलाइराख्नका लागि के गरेर अघि बढ्नुपर्छ म छलफल गरेर अघि बढ्छु ।

 

पार्टीलाई एकताबद्ध बनाएर लैजाने चुनौती पनि छ । यही मनोनयनका क्रममा पनि असन्तुष्टिहरू देखिए । यसलाई समाधान गर्ने तपाईंको योजना के छ ?
मैले रामचन्द्र पौडेलजीसँग धेरै पटक छलफल गरेको छु, फेरि पनि भेट्छु । उहाँसँग पनि लगातार भेटिरहन्छु । पदाधिकारी नियुक्तिको विषयमा पनि छलफल गरेको थिएँ । सरकार निर्माण विषयमा जब नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनाउने कुरा भयो त्यो बेलादेखि नै छलफल गर्दै आएको छु । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीचमा मैले आदानप्रदान भइरहेको कुरा जानकारी गराउँदै आइरहेको छु । कुनै पनि कुरा रामचन्द्र पौडेलजीसँग लुकाएर राखेर होइन, बरु प्रस्टसाथ भनिदिएर यो कुरा सम्भव छ र यति सम्भव छ यसमा मिल्नु पर्यो भनेर काम गर्दै आएको छु । उहाँहरूसँग मिलेरै काम गरिरहेको छु । त्यसकारण उहाँहरूसँग पनि सरसल्लाह गरेर छलफल गरेर प्रशिक्षण प्रतिष्ठान गठन गरेर हामी एकताबद्ध भएर जान सक्छौं ।

 

नेतृत्व तहमा त तपाईंले भने झैं संवाद गरेर समाधान होला । तर, कांग्रेसको तल्लो तहका कार्यकर्ताबीच पनि हार्दिकता टुटेको छ, माथिको गुट उपगुटका कारणले । त्यसलाई जोड्ने उपाय के हुन सक्छन् ?
संवाद र प्रशिक्षण नै हो । तपाईंले भनेजस्तो हार्दिकता टुटिसकेको छैन । लोकतन्त्रमा के हुन्छ भने हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । लोकतन्त्र भनेको खाली राज्य र संविधानमा मात्रै लोकतन्त्रको पक्ष समावेश गरेर हुँदैन, लोकतन्त्रका लागि बहुदलीय प्रणालीमा दलहरू पनि लोकतान्त्रिक हुनुपर्छ । हामीले त जान्छौं नै तर, अन्तर्राष्ट्रिय स्तरबाट यहाँ विज्ञका रूपमा जो आउनुहुन्छ, उहाँहरूले नि बेलाबखत भन्नुहुन्छ । दक्षिण एसियाका मुलुकहरूमा जहाँ दलीय प्रणाली छ, दलीय लोकतन्त्र छ, मलाई बताइदिनुस् त उनीहरूभित्रको आन्तरिक जीवन कहाँ लोकतान्त्रिक छ । छ छैन म भन्दिनँ, म आरोप लगाउँदिनँ । तर के कुनै मिडियामा आउँछ ? तर, कांग्रेस यस्तो दल हो जहाँ वडादेखि लिएर (जे होस् राम्रो नराम्रो प्रणालीको विषयमा छलफल गर्न सकिन्छ ।) सबै तहमा प्रतिनिधिमूलक निर्वाचन हुन्छ । निर्वाचन भएर वडादेखि केन्द्रीय नेतृत्वसम्मको टुंगो लाग्छ । मलाई देखाउनुस् न भारतमा कुन चाहिँ पार्टीको सत्तापक्ष वा विपक्षी, कम्युनिस्ट वा गैरकम्युनिस्ट पार्टी छन्, कुन पार्टीको केन्द्रीय सभापति र केन्द्रीय महामन्त्री र केन्द्रीय सदस्य निर्वाचित भएर आएका हुन्छन् ? कहिल्यै सुन्नु भा’छ ? अब त्यहाँका पार्टीभित्रको लोकतन्त्र छ कि छैन भन्ने कुरामा के भन्नुहुन्छ ? म त केही टिप्पणी गर्न चाहन्नँ । तपाईं टिप्पणीकार, लेखकहरूले लेख्नुस् न तपाईंको माध्यमबाट । हो त्यो दृष्टिकोणबाट नेपाली कांग्रेसभित्र आन्तरिक जीवनका बारेमा अध्ययन गर्नुपर्दछ । त्यस कारणले यो हार्दिकता नै छैन भन्न मिल्दैन । कांग्रेसभित्र कुनैपनि नेता, कार्यकर्ताले जुनसुकै विषयमा पनि खुला छलफल गर्छ । छलफल गरेकै कारण बाहिर सतहमा आउँछ । सतहमा आएकै कारण विचार भिन्नता भयो, विचार अलग भयो त्यसैले यो पार्टीमा हार्दिकता छैन भन्नु हुँदैन । त्यसैले मैले यसलाई कुन रूपमा लिएको छु भने नेपाली कांग्रेस जुन पार्टी छ– दक्षिण एसियाकै सबै पार्टीहरूमध्येमा लोकतन्त्रमा विश्वास गर्ने, सरकार र राजकाजमा पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई अंगीकार गर्दछ ।
पार्टीको आन्तरिक जीवन र व्यवहारमा लोकतान्त्रिक नै छ । त्यसैले पार्टीभित्र विचार भिन्नता देखिन्छ । तपाईंले भनेजस्तो यदि केही हार्दिकताको अभाव छ भने सबै अभावको निरूपण गर्ने भनेको वार्ता र संवाद नै हो । कांग्रेसमा अहिले वैचारिक, नीतिगत, कार्यक्रम निर्धारण, पार्टीलाई कसरी आफूले सुदृढीकरण गर्ने भन्ने सन्दर्भमा, पार्टीको रूपान्तर र राष्ट्रिय राजनीतिमा वैचारिकरूपले कसरी जाने, परराष्ट्र नीति कस्तो हुने, जलस्रोतका, कृषि र समृद्धिका लागि के के गर्ने । यी सबै विषयहरूमा हामीले देशभरिका तल्लो तहको कार्यकर्तासम्ममा पनि उसको सीमामा रहेर संवाद ग¥यौं भने आफसेआफ हार्दिकता हुन्छ । हार्दिकताको अभाव वा निराशाको वृद्धि किन हुन्छ भने जब मान्छे खाली हुन्छ, कामविहीन हुन्छ । कामविहीन र हार्दिकताको अभाव कुनै पनि संस्थाको स्वास्थ्यका लागि राम्रो होइन । त्यसकारण कांग्रेसमा मैले कोसिस गर्ने के हो भने म त्यसमा सहयोगी हुन सक्छु ।

 

मूलभूतरूपमा कांग्रेसका तीन आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादबाहेक अरू विषयमा कांग्रेस छलफल र बहसमा जान तयार भएको हो ?
होइन, राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रा स्थायी आदर्श र सिद्धान्त हुन् । यो हाम्रा नीति र कार्यक्रमको निर्धारण गर्ने आधार पनि हो । अहिले परिवर्तन जुन भएको छ, मैले जहिले पनि भन्ने गरेको छु– नेपालमा एकै पटक पाँचवटा परिवर्तन भएका छन् । राजतन्त्रबाट गणतन्त्र आएको छ, एकात्मक प्रणालीबाट संघीय प्रणाली आएको छ, हिन्दु राज्यबाट धर्मनिरपेक्षता आएको छ, असमावेशीबाट समावेशिता आएको छ र एकै किसिमको निर्वाचित प्रणाली थियो, अहिले मिश्रित प्रणाली आएको छ । समानुपातिक निर्वाचन प्रणालीसमेत जोडेर । यो पाँचवटा ठूलो परिवर्तन एकै पटक नेपालमा आयो । र, यो लोकतान्त्रिक परिवर्तन हो, दीर्घकालीनरूपमा यो अत्यन्त औचित्यपूर्ण र उपयोगी र हितकर छ । यो परिवर्तनका बारेमा प्रशिक्षण जरुरी छ । यो परिवर्तन जुन भएको छ त्योप्रति प्रतिबद्धता, इमानदारिता र प्रस्टता ल्याउन प्रशिक्षण जरुरी छ । यसको लागि हामीले नेपाली कांग्रेसलाई तयार गर्नु पर्दछ । कांग्रेसबाहिर पनि समाजलाई यसको पक्षमा एउटा जमात सिर्जना गर्नु पर्दछ । यो परिवर्तनहरू हामीले संविधानमार्फत गरेका छौं । यो संविधानप्रति हामी गर्व गर्छौं भने यी परिवर्तनहरू नै हुन् । यो संविधानले आत्मसात् गरेको राजनीतिक तत्वहरू, राजनीतिक उपकरणहरू भनौं अथवा राजनीतिक चरित्रहरू भनौं त्यसलाई हामीले बुझ्नु पर्यो र बुझाउनु पर्यो ।

 

त्योभन्दा पनि कांग्रेसले अहिले अंगीकार गरेको अर्थ, परराष्ट्रजस्ता नीतिहरूका विषयमा बहस गर्न चाहेको हो ?
यो अर्थ नीति, परराष्ट्र नीति यस्ता विषय हुन्, जुन समयसमयमा छलफल र बहस चलाई राख्नुपर्छ । यसमा समयअनुसारको परिवर्तन भई राख्नुपर्छ । हामीले कुनै स्थायी अर्थ र परराष्ट्र नीति बनाइराख्नु हुँदैन । एकपटक बनाएर बिर्को लगाउने गर्नु हुन्न । समयअनुसार त्यसलाई परिवर्तन गर्दै लैजानु पर्छ । भारत र चीन दुई छिमेकी देश हुन्, दुई छिमेकी देशसँग अलगअलग राजनीतिक प्रणाली छन् । हाम्रो प्रणाली अलग छ । राजनीतिक प्रणाली उनीहरूको अलग विषय हो हाम्रो राजनीतिक प्रणाली आन्तरिक विषय हो । तर, दुईवटैको राजनीतिक प्रणालीको बीचमा हाम्रो नेपाल छ । चीन र भारत हाम्रा छिमेकी हुन्, तर यसका अलावा पनि अन्य अन्तर्राष्ट्रिय देशहरू पनि छन् । पहिले अमेरिका र रूसमात्रै थिए । अहिले अमेरिकाको छुट्टै, रूसको, बेलायतको छुट्टै आउँछ । यी सबै अन्तर्राष्ट्रिय समुदायको चासो कुनै न कुनै हिसाबले नेपालमा हुन्छ । र हाम्रो पनि चासो उनीहरूसँग हुन्छ । त्यसकारणले एउटा अधिकतम सन्तुष्टिमा पुग्न सक्छौं त्यस्तो खालको परराष्ट्र नीति हामीले तय गर्नु पर्दछ । यस्तो परराष्ट्र नीति सञ्चालन गर्नका लागि हामीले आवधिक मूल्यांकन गर्दै जानु पर्दछ । अरू विषयहरू अर्थ नीति, कृषि नीति, शिक्षा नीतिलगायतका विषय पनि विदेश नीतिजस्तै समयानुकूल परिमार्जन र परिवर्तन गर्दै लैजानु आजको आवश्यकता हो । त्यसैगरी कांग्रेस अब अघि बढ्छ । देशान्तरबाट

LEAVE A REPLY