Home पुनर्निर्माण मेयर विद्यासुन्दरको अवरोधका कारण विद्यालय भवन निर्माण रोकियो

मेयर विद्यासुन्दरको अवरोधका कारण विद्यालय भवन निर्माण रोकियो

344
0
SHARE

–हरेकपल टिप्पणी–

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अवरोधका कारण दरबार हाईस्कुल भवनको निर्माण कार्य रोकिएको छ । महानगरपालिकाको अवरोधले नेपालको शैक्षिक इतिहासमै सबैभन्दा पुरानो विद्यालय निर्माण नहुने सम्भावना बढेको छ ।

भूकम्पबाट क्षतिग्रस्त बनेर सो विद्यालय भवन काम नलाग्ने अवस्थामा पुगेपछि चीन सरकारले नयाँ भवन निर्माण गर्ने तयारी गरेको थियो । तर, काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ नबनाए विद्यालय भवन निर्माण गर्न नदिने भन्दै अड्को थापेको छ ।

काठमाडौंको मध्यभाग रानीपोखरीनजिकै रहेको सो विद्यालय राणाहरूले आफ्ना सन्तान पढाउन स्थापना गरेका थिए । पछि जनताका छोराछोरीका लागि पनि खुला गरिएपछि सो विद्यालय औपचारिक शिक्षाको इतिहासमा कोसेढुंगा नै सावित भएको थियो ।

विद्यालय भवनको पहिलो तलामा संस्कृत माध्यमिक विद्यालय र दोस्रो तलामा भानु माध्यमिक विद्यालय सञ्चालित छन् । ६ कक्षादेखि १० कक्षासम्मको पढाइ हुने संस्कृत माविमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १ कक्षादेखि १० कक्षासम्मको पढाइ हुने भानु माविमा भने मुस्किलले एक सय विद्यार्थी अध्ययनरत छन् ।

विभिन्न पक्षको पटक–पटकको अवरोधका कारण विद्यालय भवन निर्माणका लागि आएको चिनिया कम्पनीले हैरानी बेहोर्नुपरेको छ । यसअघि पुरातत्व विभागले पुरातात्विक महत्व दर्शाउँदै भवन निर्माणमा अवरोध गरेको थियो ।

सिमेन्ट तथा रड प्रयोग गर्न नपाइने अडानमा रहेको विभागले पछि पुरानो स्वरूप र उचाइ नबिग्रिने गरी चारतले नयाँ भवन निर्माणमा सहमति दिएको थियो । सो सहमतिपछि भवन निर्माणको तयारीमा जुटेको चिनियाँ कम्पनीले दुई वर्षभित्र भवन निर्माण गरी सम्बन्धित दुई विद्यालयलाई हस्तान्तरण गर्ने योजना कम्पनीले बनाएको थियो ।

भूकम्पका कारण भवन जीर्ण बनेपछि दुवै विद्यालयले विद्यालयपरिसरभित्रै टहरो निर्माण गरी तीन वर्षदेखि पठनपाठन सञ्चालन गरिरहेका छन् । भवन निर्माण पक्का भएपछि निर्माणअवधिभर विद्यार्थी पढाउनका लागि चिनियाँ कम्पनीले नै प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको चौरमा अस्थायी भवन निर्माण गरिरहेको छ ।

८० करोड रुपैयाँ लागत अनुमानसहित निर्माणको जिम्मा चीन लिएको भए पनि बारम्बार अवरोध भइरहेपछि सहयोग रकम नै फिर्ता जाने सम्भावना बढेर गएको छ ।

महानगरका प्रतिनिधिकै रोहवरमा भवनको नक्सा तयार पारिएको थियो । नक्सा डिजाइनका क्रममा उनीहरूले कुनै असहमति नजनाएको  केन्द्रीय आयोजना कार्यान्वयन एकाइले दाबी गरेको छ ।

भूमिगत पार्किङ निर्माण गर्दा नवनिर्मित भवन कमजोर हुने भएकाले पार्किङ निर्माण गर्न चीन सहमत छैन । विद्यालय भवन अस्पतालजस्ता संवेदनशील पार्किङ बनाउने नीति नरहेको दूतावासका प्रतिनिधिको भनाइ छ ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठका अनुसार दरबार स्कुल निर्माण गर्न नपाए अन्य १५ वटा स्कुलबाट पनि चीनले हात झिक्ने संकेत गरेको छ ।

पार्किङ बनाउनका लागि आफूहरूले अडान राखेको मेयर विद्यासुन्दर शाक्यले स्विकारेका छन् । स्कुल छिटो बनाउनुपर्नेमा सचेत रहे पनि उपत्यकामा निर्माण हुने हरेक नयाँ भवनमा अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्ने उनको अडान छ ।

LEAVE A REPLY