Home देश ‘सीधा प्रश्न’ झेल्न नसक्दा सञ्चारमन्त्री बदनाम

‘सीधा प्रश्न’ झेल्न नसक्दा सञ्चारमन्त्री बदनाम

107
0
SHARE

–हरेकपल टिप्पणी–

नेपालीमा एउटा उखान प्रसिद्ध छ– बदनाम हुनु गुमनाम नहुनु । नेकपा सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले सो उखानलाई राम्रैसँग चरितार्थ गर्दै आइरहेका छन् ।

केही साताअघि आफ्नो सम्पत्ति विवरणमा ‘सामसङको आइफोन भएको’ उल्लेख गरेर हासोको पात्र बनेका उनले अहिले प्रश्न सोधेकै कारण नेपाल टेलिभिजनको एक बहस कार्यक्रम बन्द गराएका छन् ।

नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको बहस कार्यक्रम ‘सीधा प्रश्न’ सञ्चारमन्त्री बास्कोटाको ठाडो निर्देशनमा बन्द भएको छ । सो कार्यक्रमका प्रस्तो राजु थापाले मन्त्रीकै ठाडो निर्देशनमा कार्यक्रम बन्द भएको जानकारी गराएका छन् ।

गत शनिबार कार्यक्रम सञ्चालक थापाले सरकारको सय दिन र मन्त्रीहरूको सम्पति विवरणका बारेमा केन्द्रित रही कार्यक्रम चलाएका थिए । कार्यक्रमका अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई थापाले ‘कम्युनिष्ट सरकारका मन्त्रीहरूले आफ्नो सम्पति किन श्रीमतीका नाममा राख्छन् ?’ भनेर प्रश्न गरेका थिए । मन्त्रीले त्यसको प्रतिक्रियास्वरूप कार्यक्रम नै बन्द गराइदिएको थापाको दाबी छ ।

कार्यक्रम बन्द गरिएकोमा विरोध गर्दै नेपाल प्रेस युनियनले विज्ञप्ति निकाली त्यसको मन्त्रीको कदमको भत्र्सना गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै ‘नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा कार्यक्रम बन्द भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ ।

कम्युनिष्ट पार्टी नेतृत्वको शासन सुरु भएयता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको युनियनको ठहर छ ।

‘केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाएको छ,’ प्रेस युनियनको विज्ञप्तिमा लेखिएको छ, ‘यो घटनाले सरकार अधिनायकवादको यात्रातर्फ उद्यत भएको प्रष्ट भएको छ ।’

मन्त्रीले ठाडो आदेशमा सो कार्यक्रम बन्द गराएसँगै उनले अतिथिका रूपमा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रश्नकर्ता थापा शालीन रूपमा प्रश्न गरिरहेका छन् भने मन्त्री अत्यन्त आक्रोशित मुद्रामा अन्टसन्ट जवाफ दिइरहेका छन् ।

आफ्नो अन्तर्वार्तामा सोधेको प्रश्नकै आधारमा कार्यक्रम नै बन्द गर्ने मन्त्रीके योग्यताप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् । मन्त्रीले गल्तीको लागि माफी माग्नुको साटो दुईतिहाईवाला शक्ति प्रयोग गरेर कार्यक्रम नै बन्द गरिदिएको अधिका‌शको बुझाइ छ ।

LEAVE A REPLY