Home ताजा समाचार मह शिकार संकटमा

मह शिकार संकटमा

179
0
SHARE

-आस गुरुङ-

लमजुङ ।  विश्वमा नै विरलै हुने मह शिकार लमजुङमा भने हुँदै आएको छ । कहाली लाग्दो भीर तथा पहराहरुमा ज्यानको बाजी राखेर स्थानीय सिकारीहरुले भीरमहको शिकार गर्दै आएका छन् । भीर माहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विना तयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ । विभिन्न उत्सव तथा महोत्सवको नाउँमा रहरले भीर महहरु काढ्दिा माहुरी मासिने खतरा त्यतिकै बढेको छ ।

देख्दै आङ जिरिंग हुने चट्टानी भिर । चरो पनि बस्न नसक्ने कहालीलाग्दो पहरा । त्यसैमा तुर्लुंङ डोरी झुन्ड्याएर लहरिनु । सामान्य मुटु भएका मान्छेका लागि कल्पनाभन्दा परको हुन सक्छ । पत्याउन गाह्रो भएपनि सत्य यही हो, भीर मह काढ्दा थोरै गल्ती भएमा ज्यान पनि जान सक्छ ।

लमजुङमा भने, मह शिकारले बर्षे पिच्छे स्थान पाउँदै आएको छ । यहाँका अधिकांश भिर पहराहरुमा भिर मह पाइन्छ । जागरिला मह शिकारीहरुले बर्षेपिच्छे मह शिकार गर्दै आएका छन् । अधिकांश स्थानका शिकारीले त यसलाई पुखौली परम्परा ठान्छन् । भीरमह विशेषगरि यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीहरुका लागि अचुक औषधिको रुपमा लिने भएकाले पनि गाउँलेहरु मह शिकार गर्न नछाड्ने मस्र्याङ्दी गाउँपालिका – ६ नाइचेका स्थानीय महशिकारी आसलाल गुरुङले बताए ।

भीर मह जस्तोसुकै भीरमा भने हुँदैनन । भीरमाहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँ कतैवाट ठेस नपुग्ने ठाउँमा बनाईएका घारमा शिकार गर्नका लागि चोयाको डोरीलाई साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखि भ¥याङ जस्तो बनाएर डोरीलाई भीरको शिरानमा रहेको रुखमा बाँधी त्यसबाट शिकारी झुण्डेर भीरमा मह काढ्ने गरिन्छ ।

विशेष गरि कार्तिक, मंसिर र बैशाख महिनामा भिर मौरीको मह काढ्न उपयुक्त मानिने मस्र्याङ्दी गाउँपालिका – ६ नाइचेका अर्काे स्थानीय महशिकारी गंगा बहादुर गुरुङ बताए ।


भीर माहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विना तयारी मह काढ्ने प्रचलन बढेपछि मौरी मासिने खतर पनि उत्तिकै बढेको छ । विभिन्न उत्सव तथा महोत्सवको नाउँमा रहरले भीर महहरु काटिँदा र स्थानीयले अनावश्यक गोलाहरुमा जिस्काउँदा पनि भीरमाहुरीहरु दिनदिनै मासिँदैछन् । कोलाहल र मानव वस्ती नरुचाउने भिर माहुरीहरु अहिले मानविय क्रियाकलापसँगै लोप हुन थालेको स्थानीयहरु बताउँछन् ।

लमजुङका प्रायः गुरुङ बस्ती रहेको ठाउँहरुमा भीरमौरी रहेका छन् । भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दुधपोखरी, बन्सार, नाईचे लगायतका भीर पहराहरुमा भीरमौरीहरु प्रशस्तै मात्रामा पाईन्छ । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाईका पहराहरुमा भीरमौरीले घार बनाउने गर्दछ । ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीरमह विस्तारै लोप हुँदै गएका हुन् ।

भीरमौरीबाट लाखौँ रुपैँया आम्दानी गर्न सकिएपनि यस सम्बन्धी सरकारले योजना र कार्यान्वयनका लागि नीति नियम बनाउन नसक्दा भीरमह भीरमा नै थन्कनु त छँदैछ, यसबाट फाईदा समेत लिन नसकेको स्थानीयको भनाई छ । सरकारी निकायसँग यसलाई संरक्षण गर्ने कुनै योजना नहुनु र यसबारेको अनभिज्ञताले भीरमौरीको संरक्षण हुन सकेको छैन ।

LEAVE A REPLY