Home मुख्य समाचार नेकपाका नेताहरू प्रधानमन्त्रीसँग रुष्ट, सल्लाहकार भन्छन्– राज्य असफल भयो

नेकपाका नेताहरू प्रधानमन्त्रीसँग रुष्ट, सल्लाहकार भन्छन्– राज्य असफल भयो

203
0
SHARE

–हरेकपल टिप्पणी–

समृद्धि र सुशासनको नारा लिएर गठन भएको वर्तमान सरकार एकपछि अर्काे गर्दै असफल हुँदै गएपछि सरकारले चौतर्फी आलोचना मात्रै खेप्दै आइरहेको छ । नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले मात्र होइन, तत्कालीन एमालेका प्रभावशाली नेताहरूले पनि सरकारको आलोचना गरेका छन् ।

नेकपाको केन्द्रीय सचिवालय बैठकमै प्रभावशाली नेताहरू भीम रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत एक दर्जनभन्दा बढी नेताले सरकारको खुलेर आलोचना गरेका छन् ।

सरकारले दैनिक जीवनमा जनतामा प्रभाव पार्ने गरी काम गर्न नसकेको उनीहरूको दाबी छ । त्यति मात्रै होइन, बजेटपछि बढेको कालोबजारी नियन्त्रणमा सरकार असफल रहेको, मन्त्रीहरूको एक–आपसमा समन्वय नभएको, केन्द्र र प्रदेशसरकारबीच धेरै कुरामा समन्वय हुन नसकेको भन्दै उनीहरूले सरकारलाई खबरदारी गरेका छन् ।

सरकारको काम–कारबाहीमाथि चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरू पनि जनसम्पर्कबाट टाढै रहन थालेका छन् । उनीहरूले आफ्नै कार्यकर्तासम्मको फोन उठाउन छाडेका छन् । सरकार गठन हुँदा दिइएका कुनै पनि आश्वासन सरकारले पूरा गर्ने लक्षण नदेखिएपछि प्रधानमन्त्रीका सल्लाहकार र सहयोगीहरू विलखबन्धनमा परेका छन् ।

कार्यकर्ताले प्रधानमन्त्रीसँग सीधा सम्पर्क गर्न नपाउने भएकाले उनीहरू पहिले सल्लाहकार तथा सहयोगीलाई सम्पर्क गर्ने प्रयास गर्छन् र आक्रोश पोख्छन् । त्यही आक्रोशबाट आजित भएर उनीहरूले प्रायः मोबाइल स्विच अफ गर्ने र कल डाईभर्ट गर्ने जुक्ति निकाल्न थालेका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट जनताको अपेक्षा पूरा गर्नेभन्दा निराश बनाएको छ । घोषणपत्रमा राखिएका महत्त्वाकांक्षी प्रतिबद्धता त कुरै छाडौँ, सरकारले दैनिक कार्यसञ्चालनमा पनि असफल देखिँदै गएको छ ।

लोकप्रिय नारा लगाएर नेकपा सरकारमा पुगेपछि उसले गरेका अलोकप्रिय कामका कारण चुनावमा उनीहरूलाई भोट दिएका जनता मात्र होइन, सोही पार्टीका नेता तथा कार्यकर्ता पनि रुष्ट बन्न थालेका हुन् ।

विशेषगरी केही महिनायता जथाभावी निषेधित क्षेत्र घोषणा गर्नु, सञ्चारमाध्यमका कार्यक्रममाथि रोक लगाउनु, डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्नुको सट्टा झनै कडा रूपमा प्रस्तुत हुनु, गंगामायाको अनशनप्रति उदासीन देखिनु, संस्कृत सम्मेलनका लागि क्यानडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट अपहरणको शैलीमा पक्राउ गरेर बालुवाटारमा बन्दी बनाउनुलगायत कारणले सरकार दिनानुदिन बदनाम हुँदै गएको छ ।

सरकारको कार्यशैलीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै असन्तुष्ट बनेपछि प्रधानमन्त्रीले आफ्ना सल्लाहकार नै गलत परेको बताउन थालेका छन् । एकातिर प्रधानमन्त्रीले सल्लाहकार गलत भएको बताउनु, अर्काेतिर सरकारले जथाभावी रूपमा आश्वासन बाँड्ने तर कामको नाममा सिन्को नभाँच्ने अनि उल्टै दोषजति आफूहरूको टाउकोमा खन्याउने गर्नुले सल्लाहकार तथा सहयोगीहरू समस्यामा परेका हुन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले केही दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटसले पनि त्यसलाई पुष्टि गरेको छ । उनले अहिले ‘नेपाल राज्य मल्टिअर्गेन फेलियर भएको बिमारीको अवस्था’मा रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन् :

वर्तमान सरकारले सत्ता सम्हाल्दाको नेपाल राज्य मल्टिअर्गेन फेलिअर भएको विमारीको अवस्थाको हो । अहिले त्यसको परिणाम भोगिँदैछ । एउटा निको गराउन औषधि गर्यो अर्को तर्फ साइड इफेक्ट भैदिन्छ । त्यसकारण यसको उपचारका लागी पनि समय र जनशक्ति दुवै सिंगलले नपुगेर मल्टीपल नै चाहिने देखिँदैछ । परिणामका निमित्त केही समय धैर्यताको आवश्यकता छ ।

LEAVE A REPLY