Home मुख्य समाचार सरकारकाे दुईतिहाई : गुण्डा नाइके हाईहाई, डाक्टर–प्राध्यापक त्राहीत्राही

सरकारकाे दुईतिहाई : गुण्डा नाइके हाईहाई, डाक्टर–प्राध्यापक त्राहीत्राही

179
0
SHARE

–हरेकपल टिप्पणी–

प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरू बारम्बार सुशासन र समृद्धिको राग अलापिरहेका छन् । तर, देशको सुशासनमा अवरोध खडा गरिरहेका गुन्डा नाइकेहरूलाई भने प्रधानमन्त्रीकै दलबाट सांसद बनेका व्यक्तिहरूले संरक्षण गरिरहेका छन् ।

पछिल्लोपटक गुण्डाको संरक्षण गर्ने जिम्मा लिएकी छिन्, अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामाले । केही समयअघि मूल्यवृद्धिको समर्थन गरेर चर्चामा आएकी लामा अहिले पुनः गुण्डाको संरक्षण गरेर चर्चामा आएकी छिन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई बिहीबार बिहान पक्राउ गरेको थियो । गुण्डागर्दीमा संलग्न भए पनि प्रधानमन्त्रीको दलबाट संरक्षण पाएका कारण उनले जेलको हावा खानुपरेन ।
उनी पक्राउ परेलगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट सांसद बनेकी नवीना लामाले लामाको रिहाइका लागि बारम्बार प्रहरीलाई दबाब दिइन् । शक्तिशाली प्रधानमन्त्रीको दलको भातृसंगठनकी अध्यक्ष एवं संघीय संसद्की सांसदको दबाब आएपछि प्रहरी संगठन निरीह हुन बाध्य भयो ।

काठमाडौंको बालुवाटारबाट बिहीबार बिहान पक्राउ परेका लामा सोही साँझ रिहा भए । रिहाइपछि प्रहरीले गुण्डानाइके सत्यमान लामालाई सांसद नवीना लामाको जिम्मा लगाएर पठाएको छ ।

लामा नेपाल प्रहरीको ‘क’ वर्गको गुण्डाको सूचीमा थिए । उनले दावा लामाको ‘मुन्सी’का रूपमा काम गर्दै आएका थिए । सत्यमान लामा लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको भन्दै पीडितहरूले उनीविरुद्ध काठमाडौं प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउलगत्तै जिल्ला प्रशासन कार्यालयले लामामाथि अनुसन्धान गर्नका लागि म्याद थप गरेको थियो ।

तर लामाले बारम्बार दबाब दिएपछि प्रहरी उनलाई रिहा गर्न बाध्य भएको हो । यसबारे प्रस्ट पार्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘प्रतिनिधिसभाका सांसद नवीना लामाको जमानीमा रिहा गरेका छौँ, म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी व्यवस्थाअनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’

काभ्रे स्थायी घर भएका सत्यमानलाई लामा थर भएकै कारण काभ्रे माइती भएकी सांसद नवीनाले ‘मेरो दाइ हो’ भन्दै छाड्न दबाब दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकृतले जानकारी दिए ।

सत्यमानका बोस अर्का गुण्डा नाइके दावा लामा भने प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै केही महिनाअघि काठमाडौँ छाडेका थिए । दावा काठमाडौँ छाडेर भारतको सिक्किममा लुकेर बस्न थालेपछि उनको उत्तराधिकारीका रूपमा सत्यमानले उनको कारोबार सम्हाल्दै आएका थिए ।

यसअघि रक्तचन्दन तस्करी गरेका कारण प्रहरीले उनलाई पक्राउ गरेर कारबाही गरेको थियो । पछिल्लोपटक उनी बुद्धचित्त मालाको तस्करीमा संलग्न थिए । सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । काभ्रे र रामेछापमा पाइने बुद्धचित्तको चीनमा ठूलो माग रहँदै आएको छ ।

त्यति मात्र होइन, सत्यमानविरुद्ध लुटपाट र धाकधम्कीको पनि उजुरी परेको थियो । बुढानीलकण्ठका दिलीप लामालाई धम्की दिएर उनले २५ लाख लुटपाट गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरीसमेत परेको काठमाडौं प्रहरीले जनाएको छ ।

अघिल्लो वर्ष शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नवीना लामाले कडा प्रतिक्रिया दिएकी थिइन् । अहिले केपी ओली प्रधानमन्त्री बनेपछि पेट्रोलियमको मूल्य फेरि वृद्धि भयो ।

त्यसपछि सामाजिक सञ्जालमा लामाले अघिल्लो वर्ष लेखेको स्टाटस भाइरल बन्यो । सो स्टाटस सेयर गर्ने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्तालाई उनले ‘देखाइदिने’ धम्की दिइन् । लामाको पछिल्लो गतिविधिले उनी साँच्चै शक्तिशाली रहिछिन् भन्ने पुष्टि भएको छ । होइन भने साना–साना कमजोरी देखाउँदै डाक्टर र प्राध्यापकलाई अपहरणको शैलीमा धरपकड गर्ने सरकारले गुण्डानाइकेलाई त्यत्तिकै कहाँ छाड्थ्यो होला र !

LEAVE A REPLY