Home अन्तर्वार्ता सरकार मुलुकलाई द्वन्द्वमा फसाएर प्रतिक्रान्तिमा जाँदैछ

सरकार मुलुकलाई द्वन्द्वमा फसाएर प्रतिक्रान्तिमा जाँदैछ

428
0
SHARE

-फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्य, नेपाली कांग्रेस-

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री फरमुल्ला मन्सुर प्रष्ट बक्ता हुन् । पार्टीको आन्तरिक बैठकमा होस् वा बाहिर उनी आफूलाई लागेको कुर स्पष्ट राख्छन् । २०२८ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएका उनी २०४८ सालदेखि ०५७ सालसम्म बारा जिल्ला अध्यक्ष थिए । प्रस्तुत छ मन्सुसंग गरेको कुराकानीः

० देउवा सरकारले गरेका सबै निर्णय सरकारले उल्ट्याउने निर्णय गरेको छ, यस विषयमा के भन्नु हुन्छ ?
– शेरबहादुर देउवा नेतृत्व सरकारले गरेको निर्णय नेपाल सरकारले गरेको निर्णय हो । त्यो निर्णय देश हितका लागि गरिएको हो । संसदीय प्रणालीमा अद्यावधिक निर्वाचन हुन्छ र सरकार परिवर्तन भइरहन्छ । तर सरकार फेर्नेवित्तिकै राष्ट्रिय हितका लागि गरिएका निर्णय फेर्नुपर्ने अवस्था आउँदैन । यस्तो काहीँ पनि हुँदैन । तर  अहिलेको सरकार कांग्रेससँग धेरै तर्सिएका छन्, यो त्रसित मानसिकताको उपज हो । यसको प्रमाण हो, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा तत्कालीन एमाले र माओवादीमा कांग्रे्रससँग एक्लाएक्लै लड्ने हैसियत थिएन । कांग्रेससँग डराएर माओवादी र एमाले मिलेका हुन् । एक्लाएक्लै चुनाव लडे हार्ने भएपछि उनीहरूले गठबन्धन गरेका हुन । त्यही त्रसित मानसिकताबाट यो सरकारले यस्तो निर्णय गरेको हो ।

० कर्मचारी क्षेत्रमा तपाईहरूले गर्नुभएको निर्णय, सरुवा बढुवा जस्तो निर्णय पनि यो सरकारले खारेज गर्ने भनेको छ, यो त निहुँ खोज्ने कुरा होईन र ?
– मैले त्यही भनेको हँु । विगतको सरकारले गरेको राम्रो कामलाई यो सरकारले निरन्तरता दिनुपर्ने हो । यो लोकतान्त्रिक मूल्यभित्र पर्छ । तर यिनीहरू कम्युनिस्ट हुन् । यिनीहरूको सोच र शैली स्टालिन र पोलपोटको जस्तो छ । त्यसैले म भन्छु– कम्युनिस्ट हुन् । कम्युनिस्ट सोच भनेको एकदलीय सोच हो । अर्को दललाई निषेध गर्नु कम्युनिस्ट सोच हो । माक्र्स, लेनिन, माओवादमा एकदलीय पार्टीको सोच बनाइएको छ । विगतको सरकारले गरेको राम्रो कामलाई यो सरकारले अगाडि बढाउनुपथ्र्यो । यो सरकारले राम्रो काम गर्छ भने हामीले त्यसलाई समर्थन गर्छौं । नराम्रो कामको विरोध गर्छांै । लोकतान्त्रिक मूल्य मान्यता भनेको यही हो, तर यो सरकारले लोकतन्त्रको मूल्य र मान्यतालाई कुल्चिँदै गएको छ । त्यसैले हामीले यो सरकार अधिनायकवादको बाटोमा हिँडेको छ भनेर भनेका हांै । हजारौं सहिदहरूको बलिदानीबाट यो लोकतान्त्रिक व्यवस्था आएको थियो । अहिले यो व्यवस्थामा समेत खतरा उत्पन्न हुने स्थिति देखिएको छ । नेपालीहरूका लागि चिन्ताको विषय हो ।

० यो निर्णयबाट सरकार र प्रतिपक्षबीच झन् द्वन्द्व बढ्ने स्थिति आयो, होइन र ?
– हो, यो स्वाभाविक हो । सरकारको यस्तो निर्णयबाट मुठभेडको राजनीति सुरु हुन्छ । कांग्रेसले गरेको काम देश हितमा छ । तर देश हितका लागि गरेको कामलाई पनि स्वीकार गरेको छैन । जनतालाई मर्कामा पर्ने र लोकतन्त्रतलाई आघात पर्ने काम यो सरकारले गर्न थालेको छ । यस्तै हो भने हामी सडक र सदनबाट यो सरकारको विरोध गर्छांै । त्यो त हामीले गर्छांै नै । त्यस्तो भएमा मुठभेडको राजनीति सुरु हुन्छ । त्यो दिशामा यो सरकार नजाओस् । हामीले बारम्वार यो सरकारलाई सचेत गराइरहेका छौं ।

० माइतीघर मण्डलालाई यो सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा कांग्रेसको विरोध किन ?
– हाम्रो विरोधभन्दा पनि लोकतान्त्रिक प्रणालीमा विरोध, जुलस गर्न पाइन्छ । यसमा म एउटा उदाहरण दिन्छु । यो कुरा काहीँ पढेको थिएँ । केही समयअघि एकजना अमेरिकन नागरिक रुसमा गएछन्,  उसले हाम्रो देशमा प्रजातन्त्र छ, हामी वासिंग्टनमा ह्वाइटहाउसको अगाडि उभिएर राष्ट्रपतिको विरोध गर्न सक्छौं । हामी हाम्रो राष्ट्रपतिको विरोध गर्न सक्छौं, तर तिमीले तिम्रो राष्ट्रपतिको विरोध गर्न सक्दैनौ भनेछ । मैले भन्न खोजेको, लोकतान्त्रिक देशमा सरकारले गरेको गलत कामको विरोधमा जनताले बोल्ने, विरोध गर्ने स्वतन्त्रता छ । त्यसलाई नागरिक स्वतन्त्रता भनिन्छ । यो लोकतन्त्रको मूल मन्त्र हो । आज यो सरकारले विरोध गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । भोलि यो सरकारले गरेको निर्णयको विरोध गर्न पाइँदैन भनेर निर्णय गर्ला । अहिले त्यही बाटोमा यो सरकार गएको छ । माइतीघरमा निषेधित क्षेत्र घोषण गर्नु भनेको लोकतन्त्र मास्ने पहिलो खुड्किलो हो । त्यो रूपमा हामीले यसलाई लिएका छौं ।

० तर तपाईहरूले पनि निषेधित क्षेत्र घोषणा गर्नुभएको थियो नि ?
– केही क्षणका लागि हामीले निषेधित क्षेत्र घोषणा गरेका हौं । थोरै समयका लागि निषेधित क्षेत्र घोषणा गर्नु अलग कुरा हो । त्यो राज्यसँग अधिकार छ पनि । तर राज्यको विरोध फलाना, फलाना ठाउँमा मात्र गर्न पाइन्छ भनेर हामीले निर्णय गरेका होइनौं । यो लोकतन्त्रमाथि एक किसिमबाट सुनियोजित आक्रमण हो । यो गैरलोकतान्त्रिक काम हो । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने एउटा षड्यन्त्र हो यो । यसबाट कम्युनिस्ट पार्टीले गरेको कामको विरोध गर्न पाइँदैन, सरकारको विरोधमा बोल्न पाइँदैन भन्ने हिसाबबाट यो सरकार अगाडि बढेको छ ।

० तर अहिले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका पनि निभाउन सकेको छैन भन्ने आरोप लागेको छ नि ?
– त्यस्तो होइन । प्रतिपक्षी पार्टीले सत्तापक्षीय पार्टीको टाउकोमा ढुंगा बजार्ने त होइन नि । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक तरिकाले सरकारले गरेको गलत कामको विरोध गर्छ र गरिरहेको छ पनि । लोकतन्त्रमा सरकारले गरेको गलत कामको विरोध गर्ने ठाउँ संसद र सडक हो । संसद्मा कांग्रेसले गर्ने भूमिका गर्दैछ । सरकारले गरेको गलत कामको ध्यानाकर्षित गर्ने, जनतालाई सुसूचित गर्ने काम नेपाली कांग्रेसले गरिरहेको छ । भोलि नेपाली कांग्रेसले सम्पूर्ण शक्ति लगाएर सडकमा आउने कामसमेत गर्छ । मान्छे विरामी भएपछि सबै औषधि एकैपटक खुवाइँदैन । ज्वरो आयो भने सुरुमा सिटामोल खुवाइन्छ । सिटामोलले पनि काम गरेन भने त्यो भन्दा अरु शक्ति भएको अर्को औषधि खुवाइन्छ । औषधि थपिँदै जान्छ । त्यसरी नै क्रमिक रूपमा कसबेला के गर्नुपर्छ त्यो कांग्रेसलाई थाहा छ । त्यसरी नै कांग्रेस जान्छ । सुरुमै नेपाल बन्द गर्ने, बाटो बन्द गर्ने तोडफोड गर्ने काम नेपाली कांग्रेसले गर्दैन । कांग्रेसले प्रजातान्त्रिक तरिकाबाट सरकारले गरेको गलत कामको र अधिनायकवादको जवाफ दिन्छ । यो काम प्रक्रियाअनुसार हुन्छ । यसैलाई नै तपाईले कमजोरी भन्नु हुन्छ भने म के भनूँ ?

० तर सदनमा कांग्रेस सशक्त नदेखिएको पार्टीकै नेताहरूले गुनासो गर्ने गरेका छन् नि ?
– संसद्मा नगएका नेताले त्यस्तो भन्नु अलग कुरा हो । फुटबल मैदानमा गोल हान्नु र दर्शकदीर्घामा बसेर गोल हान, गोल हान भनेर चिच्याउनु अलग कुरा हो । त्यसकारण को नेताले कहाँ के बोल्छ, त्यो कुरा छाड्नु होस् । तर कांग्रेसका सांसदहरूले क्रियाशील भएर आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । उनीहरू पार्टी नेतृत्वको सम्पर्कमा छन् । त्यसैगरी उनीहरू संसदीय दलको नेताको सम्पर्कमा छन् । संसदीय दलको नीतिअनुसार काम भइरहेको छ ।

० प्रतिपक्षले सशक्त भूमिका नखेलेका कारण सरकार अधिनायकवादको बाटोबाट अघि बढ्दै छ भनेर कांग्रेसकै नेताहरूले भन्ने गरेका छन् , सुन्नु भा छ ?
– यो सरकार अधिनायकवादको दिशामा जान्छ भनेर वाम गठबन्धनको चरित्र हेरेरै हामीले पहिल्यै भनेका हौं । खासगरी हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले चुनावको बेला नै यो कुरा भन्नुभएको थियो । कसैले कांग्रेसले सशक्त भूमिका निभाउन नसकेका कारण सरकार अधिनायकवादको बाटोमा गयो भने होलान्, त्यो बेग्लै कुरा हो । तर यो सरकार अधिनायकवादको बाटोमा जाने नै भयो । कम्युनिस्ट पार्टी बहुदीय शासन, संसदीय पद्धति, जनताको अभिव्यक्तिको स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, न्यायिक स्वतन्त्रतामा विश्वास गर्ने पार्टी नै होइन  । कसैले कम्युनिस्ट पार्टीबाट यस्तो आशा राखेको छ भने त्यो मूर्ख हो ।
कांग्रेस पहिले नै प्रस्ट थयो कि वाम गठबन्धन जुन रूपमा अगाडि बढिरहेको छ, यो सर्वसत्तावादकै बाटो हो । यिनीहरूले लोकतन्त्रलाई समाप्त गर्छन् । नेपाली जनताले यति दुःख गरेर ल्याएको लोकतन्त्रलाई समाप्त पार्न खोज्छन् र जनताको बोल्ने अधिकारलाई कुण्ठित गर्दै नेपालमा कम्युनिस्ट व्यवस्था ल्याउन प्रपञ्च गर्छन् । कम्युनिस्ट शासन ल्याउन नसक्लान् तर यिनीहरूले प्रयास गर्छन् । कम्युनिस्ट शासन किन ल्याउन सक्दैनन् भने नेपाली जनता सर्वशक्तिशाली छन् । त्यत्रो राणालाई नेपाली जनताले खत्तम गरे, पञ्चायती व्यवस्थालाई समाप्त गरे । राजाको निरंकुशतालाई खत्तम गरे  । यिनीहरूको हैसियत के छ ?  सिट मात्रै बढी हो । भोट त बराबरी हैसियतमा छ । यत्रो प्रतिकूल अवस्थामा पनि नेपाली कांग्रेसको पक्षमा जुन जमात छ, त्यो जमात लोकतन्त्रको पक्षमा उभिएको जमात हो । त्यसैले यिनीहरूले जति प्रयास गरे पनि लोकतन्त्रलाई समाप्त पार्ने खेलमा सफल हँुदैनन् । कांग्रेसले यी सबै कुराको अध्ययन गर्दै कुन कदम कसबेला चाल्नुपर्छ, त्यसबारेमा  अध्ययन गरिरहेको छ । त्यसबेला कांग्रेस सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्छ ।

० सरकारविरुद्ध कुन बेला कदम चाल्नुपर्छ, त्यो कांग्रेसलाई थाहा छ भन्नुभयो, कांग्रेसले त्यो कदम कुन बेला चाल्छ त ?
– त्यसको अहिले अध्ययन भइरहेको छ । विरामी औषधि गर्न अस्पतालमा गयो भने डाक्टरले सबै कुरा हेर्छ । एक्सरे गर्छ, रगत जाँच्छ अनि मात्र के औषधि दिनुपर्छ, दिन्छ । त्यसैगरी, अहिले हामी यो सरकारले गरेको कामकारबाहीको अध्ययन र विश्लेषण गरिरहेका छौं । हामीले हाम्रो शक्तिलाई सञ्चय गर्ने, संगठनलाई सुदृढ गर्ने काम गरिरहेका छौ । संगठनका सबै एकाइलाई कसरी परिचालन गर्न सकिन्छ ? त्यसमा पनि हामी लागेका छांै । यसका लागि नीति बन्दै छ ।
भर्खरै जिल्ला सभापतिहरूको भेला सकिएको छ । भेला सफलतापूर्वक सम्पन्न भएको छ । त्यहाँ केही एजेन्डा आएका छन् । र, केही सुझाव पनि आएका छन् । त्यसलाई महासमिति बैठकमा लगेर ती एजेन्डा पारित गर्छौ । त्यसपछि नेपाली कांग्रेसका लाखौंलाख क्रियाशील सदस्यलाई परिचालन गरेर अगाडि बढ्छौ । त्यो काममा कांग्रेस लागिरहेको छ । अहिले नीति बन्दै छ, कार्यक्रम त घोषणा गरेको दिनदेखि न सुरु हुन्छ ।

० यो सरकार गठन भएको ६ महिना हँुदैछ । यो अवधिमा यो सरकारले गरेको कामलाई कसरी हेर्नुभएको छ ?
– मैले भन्नु भन्दा पनि यस विषयमा तपाईहरूले नै विश्लेषण गर्ने कुरा हो । सबैभन्दा पहिले यो सरकारले कानुनी शासनको धज्जी उडाएको छ । अपराध गर्नेहरूलाई थुनामुक्त गरेको छ । नागरिकको अधिकार, कानुनी राज्यको अधिकारलाई ध्वस्त पारेको छ । महँगी बढाएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामाथि आघात पार्ने काम यो सरकारले गरिरहेको छ । लोकतन्त्रमाथि हमला गर्ने र जनताको अधिकार कुण्ठित गर्ने काम भइरहेको छ । देश विकासको काममा यो सरकार गएको छैन ।
नेपाली जनता एकजुट भएर विकास र प्रगतिको बाटोमा अघि बढ्नुपर्ने बेलामा त्यसलाई खण्डित गर्ने काम यो सरकारले गरिरहेको छ । यो सरकारले देशलाई समृद्धिको दिशामा नभई अधोगतिको दिशमा लग्ने  प्रयास गरिरहेको छ भन्ने हाम्रो बुझाई हो । काम कम कुरा बढी गर्ने गरेको छ । प्रधानमन्त्रीले नेपालमा पानीजहाज चलाउँछु भन्नु भएको छ । अहिले नेपालको कुन नदीमा पानीजहाज चल्छ ? नेपालको ठूलो नदी भनेको कोसी र नारायणी हो । अहिलेको अवस्थामा कोसी र नारायणीमा पानीजहाज चल्छ ? के स्टिमरलाई जहाज मान्ने ? पानीजहाज ठूलो जहाजलाई भनिन्छ । प्रधानमन्त्रीले पानीजहाज देख्नुभएकै छैन कि । त्यसैले आजको परिस्थितिमा पानीजहाज न कोसीमा चल्न सक्छ, न नारायणीमा । लेनिनले हावामा पनि पानीजहाज चल्न सक्छ भन्नुभएको थियो या त्यसैगरी पानीजहाज चलाउन खोज्नुभएको हो कि ? यो सरकारले हावादारी काम गरेर अघि बढिरहेको छ ।

० कांग्रेस अब कसरी अघि बढ्छ त ?
– मैले भने नि । अब कांग्रेसले आफ्नो सम्पूर्ण शक्तिलाई एकीकृत गरेर पार्टीलाई प्रतिबद्ध बनाएर अगाडि जान तयारी गरिरहेको छ । महासमितिको बैठकपछि हामी पार्टीलाई सशक्त रूपमा क्रियाशील बनाएर अघि बढ्छौ ।

  • साभार तरुणबाट

LEAVE A REPLY