Home मुख्य समाचार निरु पाल धम्की प्रकरण : सत्ताको आडमा ठगीको गतिलो उदाहरण

निरु पाल धम्की प्रकरण : सत्ताको आडमा ठगीको गतिलो उदाहरण

97
0
SHARE

–हरेकपल टिप्पणी–

आफूलाई प्रधानमन्त्री केपी ओलीकी धर्मपुत्री बताउँदै आएकी युवा संघकी पूर्वउपाध्यक्ष एवं वर्तमान सांसद निरु पाल पछिल्लो समय एकाएक चर्चामा आइन् । उनको गतिविधिले नेपाली सञ्चारमाध्यम मात्र होइन, राजनीतिलाई नै तरंगित बनायो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले स्वीकृत गर्ला कि नगर्ला भनेर सबैले चासो राखिरहेका थिए । न्यायपालिका र कार्यपालिकाको टकरावका बीचमा नेकपाकी सांसद एवं सुनुवाइ समितिकी सदस्य पालमाथि अज्ञात व्यक्तिले पेस्तोल ताकेर समिति बैठकमा नजान भन्दै उनको हातबाट आइफोन खोसिएको समाचार भाइरल बन्यो ।

त्यससम्बन्धमा नेपाल प्रहरीले राम्रै अप्रेशन गरे पनि त्यसको निचोडका बारेमा अहिलेसम्म केही सार्वजनिक गरेको छैन । बरु, त्यो मुद्दा बिस्तारै सेलाउँदै गएको छ । सो मुद्दा सेलाउँदै जानुको पछाडिको रहस्यले सबैलाई अचम्मित पारेको छ ।

पालले आफ्नो जुन मोबाइल हराएको भनेर प्रहरीलाई बयान दिएकी थिइन्, हराएको भनिएको समयभन्दा ७–८ घन्टा पछिसम्म पनि सो मोबाइल उनकै कोठावरिपरि एक्टिभ भएको र नियमित नम्बरहरूमा फोन आउने–जाने गरेको रहस्य प्रहरीले पत्ता लगाएको खबर प्रकाशित भएको छ ।

उनले जसलाई ‘शंकास्पद’ भनेर प्रहरीलाई बयान दिइन्, ती सबैजसोले आफूहरू उल्टै निरु पालबाट आर्थिक ठगीमा परेको बताए । प्रधानमन्त्री ओलीको नाम लिँदै पालले आफूलाई धम्क्याएको बयान ती व्यक्तिले प्रहरीलाई दिए ।

सो घटनाका प्रत्यक्षदर्शी पनि नदेखिनु र दोषी पनि पत्ता नलाग्नुले सो घटना सत्ताको आडमा गरिएको ठगीका रूपमा पुष्टि हुन थालेको छ । पालले ‘धर्म बा’का रूपमा उल्लेख गरेका केपी ओली प्रधानमन्त्री पदमा भएकाले प्रहरीले सो घटनाको अनुसन्धानबारे ठोस कुरा सार्वजनिक नगरेको आँकलन गरिएको छ ।

यदि यसरी सामान्य व्यक्तिले गलत अफबाह पैmलाएको हुन्थ्यो भने प्रहरीले उसलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने थिएन । तर, प्रधानमन्त्रीको निकट भएकै कारण पालमाथि कुनै कारबाही हुने गुन्जायस छैन ।

राज्यका सयौँ प्रहरी प्रयोग गरेर गरिएको अनुसन्धानको कुनै वास्तविक नतिजा सार्वजनिक नहुँदा प्रहरी प्रशासनको क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ । दोषी पत्ता पनि नलाग्ने, घटनाको वास्तविकता पनि आधिकारिक निकायबाट बाहिर नआउनुले यो घटना कतै नेकपाभित्रै बुनिएको प्रायोजित त थिएन भन्ने सवाल उठ्न थालेको छ ।

एउटा पहुँचवाला राजनीतिकर्मीले पैलाएको अफवाहका कारण अनुसन्धानका नाममा ९० जनाभन्दा बढी युवाहरूले सास्ती बेहोर्नुपर्यो । अनावश्यक रूपमा शारीरिक र मनोवैज्ञानिक सास्ती बेहोरेका उनीहरूलाई क्षतिपूर्ति दिनुपर्ने र वास्तविक दोषीलाई कारबाही गर्नुपर्ने माग नेकपावृत्तभित्रै उठ्न थालेको छ ।

LEAVE A REPLY