Home मुख्य समाचार राजपाको निष्कर्ष : प्रधानमन्त्री गले, सरकार दुई वर्ष टिक्दैन

राजपाको निष्कर्ष : प्रधानमन्त्री गले, सरकार दुई वर्ष टिक्दैन

99
0
SHARE

–हरेकपल टिप्पणी–

मुलुकको प्रधानमन्त्री भएर पनि प्रतिपक्षी दलको नेताले झैँ गरी विपक्षी पार्टीहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली आफैँ भने अत्यन्त निराश अवस्थाबाट गुज्रिरहेको बुझिएको छ । मुलुकमा घटिरहेका बलात्कार, तस्करीलगायत अनियमितताको विरोधमा सिंगै राष्ट्र उर्लिरहेका वेला आफ्ना कार्यकर्तालाई ‘अरिंगाल बनेर जाइलाग्न’ प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।

लोकतन्त्रका लागि लामो संघर्ष गरेको दाबी गर्ने प्रधानमन्त्रीले सरकारका गलत गतिविधिप्रतिको खबरदारीलाई ग्रहण गर्न नसकेको भन्दै उनको गम्भीर आलोचना भयो । बालिकको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कारबाहीको सट्टा सरकारले बचाउ गरिरहेको भन्दै अहिले पनि सर्वत्र विरोध जारी छ । अझै पनि सरकारले दोषीमाथि कारबाही गर्ने कुनै गुन्जायस छैन ।

सरकारलाई समर्थन दिएर पनि सत्ताबाहिरै बसेको राष्ट्रिय जनता पार्टीका नेताहरूले प्रधानमन्त्री ओली दुईतिहाई बहुमतको भएर पनि निरीह र निराश देखिएको टिप्पणी गरेका छन् ।

सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएको (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थाहा पाएर प्रधानमन्त्री ओलीले सो पार्टीका शीर्षनेतासँग केही दिनअघि भेटघाट गरेका थिए । सो भेटमा सरिक भएका राजपा नेताले प्रधानमन्त्री पूरै गलेको र ओली सरकार दुई वर्ष नटिक्ने विश्लेषण गरेका छन् ।

आफ्नो गुनासो लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका राजपाका नेताहरू उल्टै गुनासो सुनेर फर्किएका छन् । प्रधानमन्त्री ओलीले राजपाका नेताहरूसँग आफूले काम गर्ने वातावरण नपाएको गुनासो गरेको ती नेताले बताएका छन् ।

सो भेटमा प्रधानमन्त्री ओलीले अदालतप्रति र गृह प्रशासनप्रति गम्भीर गुनासो गरेको खबर बाहिरिएको छ । सरकारले गुण्डा वा कुनै अपराधीलाई समात्यो भने न्यायालयले उसलाई छाडिदिने गरेको भन्दै प्रधानमन्त्रीले गृह प्रशासनबाट पनि आफूलाई सहयोग नभएको गुनासो गरेका थिए । बलात्कार र हिंसाका घटना नरोकिनुको कारण बताउँदै प्रधानमन्त्रीले अदालत र आफ्नै नेतृत्वको सरकारको गृह मन्त्रालयलाई दोष दिएका हुन् ।

तत्कालीन माओवादी र एमालेको एकतापछि बनेको नेकपाभित्रको भाँडभैलो प्रधानमन्त्रीको सो भनाइले पुष्टि गरेको छ । भर्खरै पार्टी एकता भएका कारण आफूलाई जति असहयोग गरे पनि प्रधानमन्त्री ओली आफैँले बनाएका मन्त्रीलाई हटाउन सक्दैनन् । पार्टीले राम्रोसँग आकार पनि लिइनसकेको अवस्थामा त्यसरी मन्त्री हटाउँदा पार्टीभित्रको सन्तुलन बिग्रिन सक्ने प्रधानमन्त्रीको बुझाइ हुन सक्छ ।

तर, गृहमन्त्री रामबहादुर थापाका कारण मात्रै सरकार बदनाम भएको भने पक्कै होइन । ओलीको आफ्नै पार्टी पूर्व एमालेबाट मन्त्री बनेकाहरू पनि एकसे एक बदनाम भएका छन् । सिन्डिकेट हटाउन नमान्ने यातायातमन्त्री रघुवीर महासेठ, विमान किन्दा घोटाला गरेको आरोप लागेका पर्यटनमन्त्री रवीन्द्र अधिकारी, लोकतान्त्रिक मूल्य मान्यताविपरीत काम गर्दै हिँड्ने सञ्चारमन्त्री गोकुल बास्कोटा यसका प्रतिनिधि उदाहरण हुन् ।

यदि साँच्चै प्रधानमन्त्री ओलीले मुलुक र जनताका लागि काम गर्न चाहेका हुन् भने उनले जनताको नजरमा अयोग्य ठहरिएका जोसुकैलाई कारबाही गर्नुपर्छ । चाहे त्यो आफ्नै गुटको होस् वा अन्य गुटको । प्रधानमन्त्री स्वयंले भनेझैँ उनी पाटीको अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले उनले अब गुट बनाएर हिँड्न जरुरी छैन ।

यस्ता कुरालाई मनन गरेर अघि बढ्ने हो भने प्रधानमन्त्री ओली प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाजत्तिकै लोकप्रिय बन्न सक्छन् । त्यसका लागि उनले सम्पूर्ण आग्रह–पूर्वाग्रह त्यागेर देश र जनताको समृद्धिलाई मूलमन्त्र बनाउन जरुरी छ ।

LEAVE A REPLY