Home मुख्य समाचार बडादसैँ र वामदेवको पीडा

बडादसैँ र वामदेवको पीडा

201
0
SHARE

-पुरुषोत्तम दाहाल-

यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे । कतिपयका घरमा शोकको बास भयो । यो वर्ष बडादसैँ आरम्भ हुनुभन्दा केही पहिले र बडादसैँको मध्यमा नै  ख्यातनामा सञ्चारकर्मी, साहित्यकार, कलाकार, राजनीतिकर्मीहरूको इहलीला समाप्त भयो । नागरिक राष्ट्रिय दैनिकका अभिभावक हेमराज ज्ञवाली र पत्रकार रामचन्द्र हुमागाईँको अवसान यसै समय हुन पुग्यो । हुमागाईँ जरोबाट उठेका पत्रकार थिए । ज्ञवालीले २०४६ को परिवर्तनसँगै नेपाली सञ्चार जगतलाई संस्थागत र औद्योगिकरूपमा स्थापित गर्न योगदान गर्नुभयो । आजको चर्चित कान्तिपुर समूह निर्माण गर्न उहाँ र उहाँका साथी/सहयोगीहरूले बगाएको पसिना, समर्पण गरेको योग्यता, सिप र गरेको योगदान, अविस्मरणीय देखिन्छ।

कसैले माने वा नमाने पनि त्यस पत्रिकाको फेदमा हेमराजको नाउँ नलिई हुँदैन । पछिल्लो चरणमा ज्ञवालीले नागरिक राष्ट्रिय दैनिक र यसका सहयोगी प्रकाशन, प्रसारण संस्थाहरू स्थापना गर्नमा उहाँको देन पनि अविस्मरणीय छ । उहाँ पूर्वीय दर्शनको अध्येता, ज्ञाता र प्रयोगकर्तासमेत हुनुहुन्थ्यो । यो दसैँमा यस्ता अरु धेरै स्मरणीय नागरिकको घरमा बत्ती बलेन । नेपालको लोकतान्त्रिक आन्दोलनमा अत्यन्त चर्चित समकालीन राजनीतिमा फरक विशेषता राख्न सफल चक्रप्रसाद बांस्तोलाको पार्थिव अवशान भयो । यो पंक्तिकारको पुस्ताका निकै योग्य, इमानदार राजनीतिकर्मी सुदर्शन आचार्यको घर पनि शून्य हुन पुग्यो । चक्रप्रसाद बांस्तोला बुद्धिजीवीमाझ नेपाली कांग्रेसको एउटा बौद्धिक र सुल्झिएका नेता मानिन्थे । उनको पार्थिव अवशान एकप्रकारले उनको शारीरिक कष्टको अवशान पनि थियो । तर पनि समाकालीन राजनीतिमा चक्रलाई कुनै न कुनै अध्यायमा पढ्नैपर्ने हुन्छ।

सुदर्शन आचार्य बालाजु क्षेत्रको मात्र होइन, युवा पंक्तिमा सरल, शालीन, निष्ठावान् भनेर परिचित थिए । लोकतन्त्रमा विश्वास गर्ने एकजना राष्ट्रसेवक र लोकतान्त्रिक आन्दोलनको पर्याय परिवारका सदस्य सूर्यकान्त पन्थीले पनि यसै समयमा बिदा लिएछन् । उनी हामी धेरैका बालसखा हुन् । यसैगरी लोकतान्त्रिक आन्दोलनका जुझारु योद्धा कमल पंगेनीको पनि निधन भयो । नेपालको लोकतान्त्रिक आन्दोलनका अत्यन्त प्रभावशाली विश्मयकारी र एक प्रतिभाशाली नाम हो भरतशम्शेर । उनी केही महिनाअघि यस संसारबाट बिदा भए । २००७ सालको राजनीतिक परिवर्तनले ल्याएको बहुदलवाद र बहुदलीय संस्कृतिको विकास गर्न, प्रतिपक्षी संस्कृतिलाई सबल तुल्याउन भरतशम्शेरको महत्वपूर्ण भूमिका रह्यो । उनले २०१५ सालको निर्वाचनमा स्थापित राजनीतिक दलहरूलाई पछाडि पार्दै गोरखा परिषद्लाई जसरी जनताको तहमा पु-याए र प्रजातान्त्रिक प्रणालीको अपहरणपछि लोकतान्त्रिक आन्दोलनको मूलधारमा आफूलाई समाहित गराए त्यसले उनको राजनीतिक निष्ठा र लोकतन्त्रप्रतिको अटुट आस्था प्रमाणित गरेको थियो।

केही दिनअघि मात्रै भीमराज नौलखाको देहावसान भयो । उनी मारवाडी परिवारबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने आदरणीय व्यक्तित्व थिए । विराटनगरमा कृष्णप्रसाद कोइरालाको अभियानमा साथ दिने उनका पूर्खाहरूको उत्तराधिकारित्वलाई निरन्तरता दिँदै उनले मातृकाप्रसाद, बिपी र गिरिजाप्रसादहरूले सञ्चालन गरेका लोकतान्त्रिक आन्दोलनमा सक्दो सहयोग गरे । नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा हतियार भण्डार गर्नेदेखि अन्य धेरै कार्यमा उनको सहयोग रहेको विषय सम्झनायोग्य छ।

यो दसैँलाई धेरै कलाकर्मी र साहित्यकारहरूले पनि देख्न पाएनन् । कलाकार रामकृष्ण बोगटी, भीमबहादुर थापा र कृष्ण लामाको परिवारमा दसैँको कुनै उत्सव भएन । अन्य क्षेत्रका कतिपयका घरमा दसैँको दियो बल्न पाएन । कवि, गीतकार, कलाकर्मी र हाम्रो पुस्ताका एक होनहार लेखक गगन बिरहीले समेत यो समाज र परिवार छाडेर गए। उनले नेपाली साहित्य र कलाको भण्डारमा केही भए पनि कृतित्वको योगदान दिएका छन् । यसबेला दुईजना कलासाधकलाई राष्ट्रले स्मरण गरिरहनै पर्छ । ती हुन्– हरिप्रसाद रिमाल र मनुजबाबु मिश्र । हरिप्रसाद रिमाल विशिष्ट गीत संगीतको साधना र मनुजबाबु चित्रकारिताको क्षेत्रबाट ख्यातनामा हुन् । रिमालको योगदान रेडियो नेपालमा मात्र सीमित छैन । कला क्षेत्रमा संलग्न आजको पुस्तालाई समेत प्रेरक भूमिका रह्यो । मनुजबाबुको कलासाधना देश÷विदेशमा समेत प्रख्यात छ।

कलाकार, लेखक, साहित्यकार यथार्थमा राष्ट्रका स्पन्दन हुन् । आभूषण भनेर समाजले हलुका प्रकारले लिने गर्छ तर संस्कृतिको प्राण कलाकार, साहित्यकार नै हुन् । संस्कृतिको मृत्युसँगै राष्ट्रको पनि अवशान हुन्छ । राष्ट्रका यस्ता अनेक साधक, सर्जकले आफ्नो शरीर परित्याग गरे पनि उनीहरूको स्पन्दन निरन्तर राष्ट्रको मूलमा मुटुमा प्रतिध्वनित भइरहेको हुन्छ । तर नियतिको खेल हो, उनीहरूका परिवारमा शोक छ, व्यथा छ, कुनै उत्सव छैन । हामीले मनाएको बडादसैँ यस्ता सन्दर्भहरूका कारण खल्लो बनिरहे पनि हामी परम्परालाई निरन्तरता दिइरहेका हुन्छौँ।

यसपटकको बडादसैँलाई साम्यवादी नेतृत्वको सरकारले अत्यन्त हर्ष, उत्साह र भावनाका साथ मनाएको देखियो । महंँगी रोक्न असमर्थ सरकार भए पनि बडादसैँलाई अरु आमनागरिकले जस्तै गरी राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरू, मुख्यमन्त्री र नेता सबैले जोशका साथ मनाए । साम्यवादी सत्ताको एक हिस्सा पुष्पकमल दाहाल भने पुत्रशोकमा पर्नुभएको हुनाले उहाँमा स्वाभाविक पीडा थियो । दुःखेको मनले उत्सव हुन सक्दैेन । प्रचण्डका पुत्र प्रकाशको अकस्मात निधनले उहाँको परिवारमा शोक छाएको अवस्था छ । अन्यथा अरु सबै साम्यवादी सत्तासँग जोडिएकाहरूले जसरी बडादसैँको टीका÷जमरासाथ आशीर्वाद लिने/दिने काम गरे, त्यो प्रशंसनीय छ । यद्यपि केही अपवाद देखियो र सामाजिक सञ्जालमा ती अपवादले व्यापक चर्चा पाए।

खासगरी दसैँ बिदा कटौती गर्ने तर आमनागरिकलाई बालुवाटारमा निम्ता गरी पूर्णिमासम्म टीका लगाउन समय निर्धारण गर्ने प्रधानमन्त्रीको तालिका,  राजा÷महाराजाहरूले जस्तो गरी देखाइएको ढर्रा, टीकाको समयमा राष्ट्रपति कार्यालयमा देखिएको अत्यन्त अव्यवस्था, पक्षपात र राजसी शैली, प्रधानमन्त्रीसमेतबाट टीकादान गर्ने कार्य आदिलाई लिएर अनेक कोणबाट आलोचना भए । सामाजिक सञ्जालमा आएका अनेक दृश्यचित्रले आगोमा घिउ थप्ने काम गरिरहेको देखिन्छ । एकप्रकारले यो आलोचना गलत छैन । कतिपयले धर्म निरपेक्ष राष्ट्रमा यसरी राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्मले धार्मिक कार्यमा सक्रिय हुनुलाई आलोचनाभित्र पारिरहेका छन् । यो आलोचना तर्कहीन लाग्छ।

यसै पनि करिब ९० प्रतिशत नेपाली ओमकार परिवारका छन् । बहुसंख्यक जनताको भावनामाथि प्रहार गरियो भन्ने धेरैको मत छ । यसै पनि संविधानले परम्परागत धर्म संस्कृतिको रक्षा गर्ने कुरालाई किटानीसाथ उल्लेख गरेको हुनाले सरकार प्रमुख वा राष्ट्र प्रमुखको धार्मिक, सांंस्कृतिक सक्रियता र संलग्नतालाई अन्यथा मान्न सकिँदैेन । बरु साम्यवादी नेतृत्वको सरकारको परीक्षण कुनरूपमा हुनेछ भनेर आमनागरिकले हेरिरहेका थिए । धर्म निरपेक्षता मान्ने अमेरिका वा अरु पश्चिमी राष्ट्र प्रमुखहरू चर्चमा जाँदैनन् कि ? बेलायत, जर्मनी वा फ्रान्सका सरकार प्रमुख धार्मिक कार्यमा संलग्न हुँदैनन् कि ? दुर्भाग्यपूर्ण टिप्पणी भने नेपालमै मात्र हुने गर्छन्।

धर्म निरपेक्ष भारतका प्रधानमन्त्रीले मन्दिर भ्रमण गर्दै हिँडेको सर्वत्र देखिएको छ । टिप्पणी भएको सुनिँदैेन । धर्म निरपेक्षताका नाममा नेपालको अत्यन्त प्राचीन, अझ भनौँ अर्वाचीन हिमाली संस्कृति, तपोभूमिको संस्कृति, देवभूमिको संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेको छ । विजयादशमी मान्दैनौंँ भन्ने नारा र जुलुस निकाल्ने, सनातन संस्कृतिविरुद्ध तथानाम गालीगलौज गर्ने छुट नेपालमै छ । तर निरन्तर यस्तो अराजक र समुदायलाई विभाजित गर्ने कार्य छुट हुन्छ भन्ने हुँदेैन । यो विषय गम्भीर भएको जब आमनागरिकले मान्न लाग्नेछन् त्यो दिन अर्कै अवस्था हुन सक्छ । बरु सरकारले यसपटकको बडादसैँको प्रभाव र प्रयोगलाई अनुभूत गर्दै विगतमा धार्मिक, सांस्कृतिक पर्वसंँग जोडिएका र अरु अनेक महत्वपूर्ण राष्ट्रिय दिवसहरूको सार्वजनिक बिदा कटौती गर्न गरेको गल्ती सच्याउनु जरुरी छ।

यो दसैँमा अनेक चर्चित प्रतिभाको अवसान जस्तै एक राजनीतिकर्मीको सपनाको पनि अवसान हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनका महारथि दाबी गर्ने बामदेवको सपना तुहिएको छ । उहाँ बर्दियाबाट अर्का साना गौतम सञ्जयसँग पराजित भएपछि संसद्मा पुग्न नपाएकामा निकै छट्पटाइरहनु भएको छ । यसैले कहिले डोल्पा, कहिले प्युठान, कहिले बाँके त कुनै समय रोल्पातिर आँखा लगाएर बसिरहनुभएको थियो । करिब १० महिनादेखि उहाँले पालेका पीडाको घाउमा मलम लगाउन काठमाडौँ क्षेत्र नं. ७ का नेकपाका सांसद रामवीर अघि सरे । अन्तर्यमा अनेक आर्थिक खेलोफड्को चलेको र निर्वाचनमा एक अरबसम्म खर्च गर्ने दाबी आएको समाचार बजारभर व्याप्त थिए । तर केही दिनको मन्थनपश्चात् बामदेवको सपना अवसान भएको छ।

रामवीरको हनुमानगिरी निष्फल भएको छ भने काठमाडौँ ७ का मतदाताका लागि क्रय÷विक्रयमुखी राजनीतिको मूल्यांकन गर्नुपर्ने अवसर थपिएको छ । आफूलाई माओवादी र एमाले एकताको प्रमुख सूत्राधार भएको हुनाले संघीय संसद्मा पुग्नैपर्ने दाबी बामदेवको थियो । तर उहाँ किन संसद्मा पुग्ने, अहिलेभन्दा फरक क्षमताका साथ जनताको सुख, समृद्धि र राष्ट्रको उन्नयनमा उहाँका चिन्तन के छन् ? बताइएको छैन । उहाँ जस्ता नेता संसद्मा हुनुपर्ने थियो । परिवर्तनको नायकत्व गर्ने अनेक नेता संसद्मा पुग्न सकेका छैनन् । नेपाली कांग्रेसका अनेक नेता जसले परिवर्तनलाई सार्थक बनाउन सफल भए ती पनि संसद्मा पुग्न सकेका छैनन् । बामदेम मात्रलाई किन संसद् नै चाहियो ? यो प्रश्न  उठेपछि उहाँको सपना तुहिन पुग्यो । तर अब बामदेव र रामवीरको जनताप्रतिको निष्ठा भने धरापमा परेको छ । नेकपाले समेत यसका बाछिटाको सामना नगरी हुँदैन।

LEAVE A REPLY