Home मुख्य समाचार बिरामी ओलीप्रति किन खनिए योगेश भट्टराई ?

बिरामी ओलीप्रति किन खनिए योगेश भट्टराई ?

322
0
SHARE

–हरेकपल टिप्पणी–

चाडपर्वको उपलक्ष्यमा गत शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटीमण्डपमा चियापानको आयोजना गर्यो । चियापानका लागि सो पार्टीले ५० हजारभन्दा बढी अतिथिलाई आमन्त्रण गरेको थियो ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत नेपालका पार्टीहरूका प्रतिनिधि मात्र होइन, भारतीय कम्युनिष्ट पार्टीका अध्यक्ष सीताराम यचुरीसम्म आइपुगेका थिए । नेकपाले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईदेखि विप्लव र सिके रावतसम्मलाई आमन्त्रण गरेको थियो ।

नेकपाको निमन्त्रणालाई नयाँ शक्ति संयोजक भट्टराईले अस्वीकार गर्दै सामाजिक सञ्जालमा नेकपाप्रति व्यंग्य नै गरे । ५० हजारजनालाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनमुखी काममा रकम खर्च गरेको भए राम्रो हुने भट्टराईको स्टाटसको आशय थियो ।

विप्लव वा सिके रावत सो कार्यक्रममा आउलान् भन्नेमा त कसैले अपेक्षा पनि गरेको थिएन । तर, सबैले अपेक्षा गरेभन्दा फक त यो भयो कि कार्यक्रम सुरु भइसकेको केही घन्टापछि एकाएक प्रधानमन्त्री केपी ओली सो कार्यक्रममा उपस्थित हुन नसक्ने खबर फैलियो । स्वास्थ्यका कारण उनी उपस्थित नहुने भनिए पनि विभिन्न आशंका गर्दै प्रधानमन्त्रीको अनुपस्थितिप्रति टीका–टिप्पणी भए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली अनुपस्थित हुने खबर बाहिरिनुअघि कार्यक्रमस्थलमा नेकपाका असन्तुष्ट पक्षको नाममा ‘कथित चियापान बहिस्कार गरौँ’ लेखिएको पर्चा फ्याँकिएको थियो । सो पर्चा कसले फ्याँक्यो भन्ने अझै अज्ञात रहे पनि सोही पर्चाका कारण ओली कार्यक्रममा उपस्थित नभएको भनेर कतिपयले आशंका गरे ।

तर, ओली वास्तवमै बिरामी रहेछन् भन्ने कुरा त्यतिबेला पुष्टि भयो जतिबेला उनी राती २ बजे नै शिक्षण अस्पताल भर्ना भएको खबर बाहिरियो । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली अहिले बिरामी भएर अस्पताल भर्ना भएका छन् । यतिबेला उनी अस्पतालमै उपचाररत छन् ।

ओलीकै अस्वस्थताका कारण १२ र १३ गतेका लागि तोकिएके नेकपा स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि सरेको छ । बैठक अनिश्चितकालका लागि सरेपछि नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले त्यसप्रति असन्तुष्टि राख्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे ।

भट्टराईले १२ र १३ गते नेकपाको स्थायी समितिको बैठक बस्ने सूचनाले थोरै भए पनि राहत मिलेको तर सोमबार बिहान एक्कासि अनिश्चितकालका लागि बैठक स्थगित भएपछि रोष व्यक्त गरेका छन् ।

‘१२ र १३ गते नेकपाको स्थायी समितिको बैठक बस्ने सूचनाले थोरै भए पनि राहत भएको थियो । आज सूर्योदय नहुँदै अनिश्चित कालका लागि बैठक स्थगित भएको विद्युतीय समाचारको घन्टी बज्यो । किन हुन्छ यस्तो ?’ भन्दै योगेशले पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

राष्ट्र, जनता, पार्टी र आन्दोलनप्रतिको जवाफदेहिता यसरी पूरा हुनेमा आशंका गर्दै योगेशले ‘शंकाको सुविधाले कतिपटकसम्म काम गर्ला ?’ भनेर प्रश्न गरेका छन् । क्षणिक समाधानका लागि समस्यालाई पन्छाउनुले प्रकोपको सम्भावनालाई कायमै राख्ने बताउँदै उनले समस्यालाई बुझ्नु र सही अर्थमा त्यसको समाधान गर्नाले पार्टीलाई बलियो र दीर्घजीवी बनाउने उल्लेख गरेका छन् । पहिलो विकल्पलाई इन्कार गरेर दोस्रोलाई स्वीकार गरिएको भन्दै उनले समयको शक्तिलाई समय घर्किनुपूर्व नै बुझ्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

अस्वस्थाकै कारण देखाउँदै प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा पनि थोरै मात्र समय दिएका थिए । विपक्षी दललगायत सबैले ओलीको स्वास्थ्यलाभको कामना गरिरहेका वेला योगेशले पार्टी बैठकको कुरा उठाएको भन्दै कतिपयले उनको आलोचना गरेका छन् ।

कतिपयले भने योगेशको स्टाटस मनगढन्ते हिसाबले नआएको र त्यसमा प्रयोग गरिएका केही शब्दावलीले दीर्घकालीन महत्व राख्ने भन्दै टिप्पणी गरेका छन् । अघिल्लाे स्टाटस राखेकाे १० घन्टापछि उनले अाेलीकाे स्वास्थ्यलाभकाे कामना गर्दै अर्काे स्टाटस पाेस्ट गरेका छन् ।

योगेश ती व्यक्ति हुन्, जसलाई मन्त्री बनाउने वाचा गर्दै तत्कालीन एमाले अध्यक्षका रूपमा केपी ओलीले ताप्लेजुङका जनतासँग मत मागेका थिए । जनताले योगेशलाई जिताएर पठाए पनि ओलीले उनलाई मन्त्री बनाएका छैनन् ।

त्यसयता योगेशले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विभिन्न प्रश्न उठाउँदै आएका छन् । बिरामी भएर अस्पतालको बेडमा सुतिरहेको अवस्थामा पनि बैठकको प्रसंग निकाल्दै असन्तुष्टि पोख्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यस्ताे छ याेगेशकाे स्टाटस :

नेकपा स्थायी समितिको बैठक अब कहिले ? 

थुप्रै थुप्रै एजेण्डाहरु चाङ्माथि चाङ् लागेका छन् । बैठक मार्फत एजेण्डाले समाधान खोजेको छ । पार्टीले स्फुर्ती खोजेको छ । बैठकको प्यासले अोइलाईरहेको अवस्थामा १२ र १३ गते नेकपाको स्थायी समितिको बैठक बस्ने सूचनाले थोरै भएपनि राहात भएको थियो ।आज सुर्योदय नहुँदै अनिश्चित कालका लागि बैठक स्थगित भएको बिधुतिय समाचारको घण्टी बज्यो । किन हुन्छ यस्तो ? राष्ट्र, जनता, पार्टी र आन्दोलनप्रतिको जबाफदेहिता यसरी पुरा होला ? कति पटकसम्म कामगर्ला शंकाको सुबिधाले ? समस्यालाई पन्छाउनु क्षणिक समाधानमात्र हो । जसले प्रकोपको सम्भावनालाई कायमै राख्छ । समस्यालाई बुझ्नु र सहि अर्थमा त्यसको समाधान गर्नाले पार्टीलाई बलियो र दिर्घजीबी बनाउँछ । हामी पहिलो बिकल्पलाई ईन्कार गर्छौ भनेको दोश्रोलाई स्विकार । समयको शक्तिलाई समय घर्किनु पूर्व नै बुझौं ।

LEAVE A REPLY