Home खेल खेलकुद समाचारः साफ यू–१५ मा सेमिफाइलनका दुवै खेल बिहीबार

खेलकुद समाचारः साफ यू–१५ मा सेमिफाइलनका दुवै खेल बिहीबार

102
0
SHARE

काठमाडौँ, १४ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता ब‌गलादेश र समूह ‘बी’को उपविजेता भारतबीच बिहान १०ः३० बजे हुनेछ ।

दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच अपराह्न २ः३० बजे हुने एन्फाले जनाएको छ । समूह चरणमा एक हार र एक जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । भारत पनि सोही नतिजाका साथ सेमिफाइनल पुगेको हो भने पाकिस्तान र ब‌‌गलादेश समूह चरणका दुवै खेल जित्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र ब‌गलादेशले सहभागिता जनाएका छन् । भुटान र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिइसकेका छन् । सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुईपटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा ब‌गलादेशले सन् २०१५ मा उपाधि जितेका थिए ।

पेन्टाथोलनमा नेपाललाई दुई कास्य पदक

इजिप्टमा सम्पन्न पेन्टाथोलन (पाँच खेलको एउटा संगठन)को वर्ल्ड च्याम्पियनसिपमा नेपाल दुई कास्य पदक ल्याउन सफल भएको छ । यही कात्तिक ८ देखि ११ गतेसम्म इजिप्टमा सम्पन्न उक्त प्रतियोगितामा यू–१९ उमेर समूहको मिक्स रिले (सुटिङ, पौडी र दौड इभेन्ट)मा नेपालका राहुल दर्शन र सलोनी लामाको जोडीले कास्य पदक जितेको संघका उपमहासचिव इन्दिरा निरौलाले जानकारी दिनुभयो ।

सो समूहमा कजाकिस्तानले स्वर्ण र भारतले रजत जितेका छन् । नेपाल रहेको समूहमा कजाकिस्तान, भारत, बेलायत, इजिप्ट र जर्मनी थिए । नेपाली टोली मंगलबार राति काठमाडौँ आइपुगेको निरौलाले जानकारी दिनुभयो । तियोगितामा नेपालबाट विभिन्न उमेर समूहका पाँच खेलाडीले सहभागिता जनाएका थिए ।

त्यसैगरी मुख्य प्रशिक्षकमा राजु दर्शन, सहायक प्रशिक्षकमा सुन्दर प्रजापति, टोली व्यवस्थापकमा भीम सुवेदी र अधिकृतमा रितेश श्रेष्ठको सहभागिता थियो । च्याम्पियनसिपमा विश्वभरका ३०० खेलाडीको सहभागिता थियो । ती खेलाडीलाई २४ समूहमा विभागजन गरी खेलाइएको थियो ।

LEAVE A REPLY