Home मुख्य समाचार पद्मरत्नलाई यसरी सम्झिए राजनीतिज्ञ तथा अधिकारकर्मीले

पद्मरत्नलाई यसरी सम्झिए राजनीतिज्ञ तथा अधिकारकर्मीले

92
0
SHARE

–हार्दिक श्रद्धाञ्जली– 

पछिल्लो समय वामबुद्धिजीवीका रूपमा परिचय स्थापित गर्नुभएका पूर्वराजनीतिज्ञ पद्मरत्न तुलाधरको आइतबार उपचारका क्रममा अस्पतालमा निधन भयो । मस्तिष्काघात भएर उहाँलाई अघिल्लो शुक्रबार अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । गत बिहीबार छाती र मूत्रनलीमा संक्रमण भएपछि परिवारले उहाँलाई नर्भिकमा ल्याएर उपचार गराएका थिए ।

वामपन्थी राजनीतिमा लागेर स्वास्थ्य तथा श्रममन्त्रीसम्म बन्नुभएका उहाँको योगदान नेपालको वामआन्दोलनमा अविस्मरणीय छ । प्रगतिशील विचारधाराका भएका हुनाले उहाँका कतिपय भनाइ विवादमा आए पनि नेपाली राजनीतिमा चासो राख्ने सबैले मुक्तकण्ठले लिने नाम हो, पद्ममरत्न तुलाधर ।

नेवार सम्प्रदायको नयाँ वर्ष नेपाल सम्वत् स्थापनामा अग्रणी भूमिका खेलेका कारण पनि सो सम्प्रदायले उहाँलाई सधैँ अभिभावकका रूपमा लिए । तुलाधरबारे के भन्छन्, राजनीतिज्ञ तथा अधिकारकर्मी ?

शान्ति प्रक्रियामा तुलाधरको भूमिका स्मरणीयः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व. पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उहाँको योगदान स्मरणीय रहेको बताउनुभएको छ ।

तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।’

नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रूपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उहाँले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उहाँले गर्नुभएको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताउनुभयो । तुलाधरका परिवारसँगको कुराकानीमा उहाँले राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्न पहल गरिने बताउनुभयो ।

तुलाधरको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।’

कुशल मध्यस्थकर्ता गुमायौँ– सभामुख महरा

सभामुख कृष्णबहादुर महराले मानवाधिकारवादी तथा वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनले नेपालको अधिकारप्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति प्रक्रियाका कुशल मध्यस्थकर्तालाई गुमाएको बताउनुभएको छ ।

सभामुखले आज शोक सन्देश दिनुहुँदै तुलाधर राजनीतिक, सामाजिक, सांस्कृतिक र पहिचानको आन्दोलनका निष्ठावान्, इमानदार र प्रस्ट वक्तालाई गुमाएको भन्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

सभामुखको सन्देशमा भनिएको छ, ‘उहाँले पञ्चायतकाल होस् या २०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि गरेको संघर्ष, माओवादी जनयुद्धलाई शान्तिप्रक्रियाका ल्याउन मध्यस्थकर्ताको रूपमा खेलेको भूमिका र २०६२÷०६३ को जनआन्दोलनमा नागरिक अगुवाका रूरुपमा पूरा गरेको जिम्मेवारी अतुलनीय छ ।’

माओवादी आन्दोलनलाई शान्तिप्रक्रियामा ल्याउन भूमिका खेल्ने एक कुशल मध्यस्थकर्ता, एक इमान्दार, निष्ठावान् र विश्वासिलो व्यक्तित्वका रुपमा चिनेको भन्दै सभामुखले माओवादी आन्दोलनका क्रममा सरकारसँग भएका तीनवटै वार्तामा उहाँ मध्यस्थकर्ताको रूमा रहनुभएको स्मरण गर्नुभएको छ ।

तुलाधरको तटस्थ र इमान्दार भूमिकाले शान्तिप्रक्रिया सफल बनाउन विशेष योगदान गरेको स्पष्ट पार्दै उहाँले माओवादी आन्दोलनलाई राजनीतिक शक्तिका रूरुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

आदर्शवान् र निष्ठावान् व्यक्तित्वः डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक पूर्ववामपन्थी नेता डा. बाबुराम भट्टराईले तुलाधर आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिँदै भन्नुभयो, ‘लोकतान्त्रिक आन्दोलन र पञ्चायती शासनविरुद्धको खम्बा हुनुहुन्थ्यो ।’

मानवाधिकार र राजनीतिक अधिकारको अगुवाः अमिक शेरचन

पूर्व उपप्रधानमन्त्री एवं नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको बताउनुभयो । उहाँले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको शेरचनको प्रतिक्रिया थियो ।

राजनीति, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदानः दमननाथ ढुंगाना

अधिकारकर्मी दमननाथ ढुंगानाले जिन्दगीभर निष्ठाको लडाइँ लड्ने तथा वामपन्थी राजनीति, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रूपमा तुलाधरलाई सम्झनुभयो ।

उहाँले तुलाधरको अवसानपछि शान्तिप्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्न सरकारले गम्भीरताका साथ पूरा गर्नुपर्नेमा बताउनुभयो ।

मूर्धन्य व्यक्तिः सुबोध प्याकुरेल

मानवाधिकारकर्मी सुबोध प्याकुरेलले तुलाधर सामाजिक न्याय र लोकतन्त्रलाई दृढतापूर्वक पक्रिएर अघि बढ्ने मूर्धन्य व्यक्तिका रूपमा स्मरण गर्नुभयाे ।

प्याकुरेलले मानवाधिकारअनुकूल शासन व्यवस्था हुनुपर्छ भन्ने पक्षका अभियानकर्मीका रूपमा तुलाधरलाई सम्झनुभयो ।

LEAVE A REPLY