Home ताजा समाचार पत्रकार विरुद्धका अपराधको दण्डहीनता कसरी अन्त्य गर्ने ?

पत्रकार विरुद्धका अपराधको दण्डहीनता कसरी अन्त्य गर्ने ?

102
0
SHARE

-हरिविनोद अधिकारी-

पत्रकारहरु किन जोखिममा छन् ? पत्रकारहरुलाई अनुसन्धानमा सहयोग गर्नुपर्नेमा झन उनीहरुमाथि आक्रमण हुन्छ, मारिन्छन् । त्यसमा पनि अपराध गर्नेहरुको मनोबल त्यतिबेर बढेको पाइन्छ जुनबेला पत्रकारचाहिँ अपराधीजस्तो अनि पीडकचाहिँ मान्यवर भएर बसेको अवस्था हुन्छ । मुलुकले एउटा अपत्यारिलो बिग्रह बेहोरेर आएको छ र त्यो बिग्रहका बाछिटाले अझै पनि मुलुकलाई भिजाइरहेको छ । पत्रकारहरुका लागि माओबादी जनयुद्ध अफापसिद्ध भएको थियो सरकारका तर्फबाट पनि र जनयुद्धपक्षीयहरुबाट पनि । कति पत्रकार मारिए, कति बेपत्ता पारिए र तिनको दुष्प्रभाव अझै नेपाली माटोमा देखिँदैछ । ती सन्तानहरु जसले न्यायको प्रतीक्षामा छन् , झन न्याय पाउनुभन्दा पनि न्याय दिने ठाउँमा अझै तिनै देखिन्छन् जो पीडक हुन् । माओबादी पक्षधरलाई लागेको थियो पक्कै पनि शान्तिप्रक्रियामा आए पछि अन्यायपूर्वक मारिएका र बेपत्ता पारिएकाहरुप्रति न्याय हुनेछ । तत्कालीन अवस्थामा माओबादीबाट पीडितहरुलाई पनि लागेको थियो, माओबादी स्वयं सरकारमा आएपछि पक्कै पनि हिजोका कुरामा सही र बेठीक छुट्याएर न्याय गरिने छ । तर त्यसका लागि नै भनेर गठित आयोगहरु अकर्मण्य अवस्थामा छन् ।

फ्रिडम फोरम, नेपालले आयोजना गरेको कार्यक्रम चलिरहेको थियो । कार्यक्रम थियो साहसिक पत्रकार रामविकास चौधरी र खोज पत्रकार रमेशकुमारलाई सन् २०१८को साहसिक पत्रकारिता पुरस्कार र खोज पत्रकारिता पुरस्कारले सम्मान गर्ने । सम्मान गर्नका लागि प्रमुख अतिथि हुुनुहुन्थ्यो राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष अनुपराज शर्मा । अतिथिको पङ्क्तिमा हुनुहुन्थ्यो बेपत्ता पारिएका मानिसहरुसम्बन्धी आयोगकी माननीय सदस्य मञ्चला झा, प्रदेश नंबर १का प्रादेशिक योजना आयोगका नव नियुक्त उपाध्यक्ष सुबोधराज प्याकु¥याल, वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरही, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट , त्रिवि पत्रकारिता विभागका विभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनाल । मैले कार्यक्रमको अध्यक्षता गरिरहेको थिएँ र कार्यक्रमलाई सुचारु गरिरहनु भएको थियो वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका पूर्व अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत तारानाथ दाहाल । कार्यक्रम थियो —पत्रकार माथि हुने अपराधमा देखिएको दण्डहीनता विरुद्धको अन्तराष्ट्रिय दिवस अर्थात् International day to end impunity for crimes against journalist अर्थात् सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य ।

कार्यक्रममा पुरस्कार वितरण गरियो रामविकास चौधरी र रमेशकुमारलाई रु.२५हजारको रकमबाट । क्रममा पालो आयो अब बोल्ने हत्या गरिएका पत्रकारका सन्तानहरुको । पहिलो बक्ता हुनुहुन्थ्यो —हत्या गरिनु भएका पत्रकार डी. कौडिन्यकी सुपुत्री तृष्णा आचार्यको । उहाँका सजीव शब्दहरुले सबैका आँखा सजल भए, घुँक्क घुँक्कको आबाज पनि आयो श्रोताहरुबाट । मन्चमा रहनु भएका अतिथिहरु सबैका अश्रुपूर्ण नयनले त्यो आतङ्कलाई सजीव बनायो जुन पत्रकार डी कौडिन्यले भोग्नु भएको थियो र प्राण गएको थियो । आजसम्म कुनै अपराधीमाथि दण्ड नदिइएको कथा र ती सन्तानले आजसम्म भोगेका त्रासपूर्ण जीवनको कहानीले मुलुकमा कति दण्डहीनता छ र पत्रकार कसरी बाँचिरहेको छ भन्ने छनक पाइन्थ्यो । सभाहल मौन थियो र आबाजसँगै बोलिएका शब्दहरु आफैँ दण्डहीनताका विरुद्ध चीत्कार गरिरहेका थिए । तृष्णाले एउटा यस्तो वाक्य भन्नुभयो, जसले हामी सबैले दण्डहीनताका विरुद्ध कसरी लड्ने भनेर आफैँमा प्रण गर्नु जरुरी थियो—मेरा पितालाई सरकारी सेनाबाट मारियो, अरुका कति पिता वा दाजु वा भाइ वा छोरा छोरीलाई विद्रोहीबाट मारिनु प¥यो होला । तर जसले मारे पनि हाम्रा बाहरु मारिनु भएको थियो र हामी टुहुरा भएका थियौँ । अपराधीलाई दण्ड देऊ सरकार । मारिनेका परिवारचाहिँ अपराधी जस्ता भयौँ र हाम्रा बाहरुलाई मार्नेचाहिँ खुलारुपमा समाजमा प्रतिष्ठित भएर खुल्लमखुल्ला हिँडिरहेका छन् । हाम्रा पिता एकपटक मारिनु भयो तर हामी सधैँ मारिएका छौँ , त्यो दण्डहीनताको सामाजिक र मानसिक क्षतिपूर्ति कसरी कसले गर्ला ? तृष्णाका यी र यस्तै शक्तिशाली शब्दहरुको कतै कसैसँग जबाफ थिएनन् र दण्डहीनता मौलाइरहेको बेलामा कसैसँग पनि यी भनाइका जबाफ छैनन् पनि ।

त्यसपछि सुर्खेतको रेडियो नेपालमा मगर भाषाका पत्रकार तथा समाचार वाचक धनबहादुर रोक्का मगरकी छोरी पबित्रा मगरको वाक्य नै फुटेन माइकनेर आए पछि । धनबहादुरजीको अहिलेसम्म सास र लास केही पनि अत्तापत्ता छैन । त्यही कुरा भन्न के लाग्नु भएको थियो, उहाँका वाक्य फुटेन र आँसुले भिजेका गालामात्र श्रोतामाझ देखिए । जसलाई आफ्ना पिताको धुमिल चेहरामात्र याद थियो, ती पिताको याद र घरको दैनिक चिन्ताले सायद कुनै आबाज आएन । उहाँका पितालाई माओबादी विद्रोहीहरुले अपहरण गरेका थिए भन्नेमात्र उहाँलाई र हामी बाँकी समाजलाई थाहा छ ।
साँच्चै भनौँ भने तृष्णा आचार्यका शक्तिशाली अश्रुमिश्रित शब्दहरु र पवित्राको निःशब्द अश्रुपूर्ण सङ्केतले आज पनि हिजोको जनयुद्धको प्रतिध्वनि नेपाली समाजमा दिइरहेको छ —त्यसबेलादेखिको दण्डहीनताले आजसम्म कुनै न्याय पाएका छैनन् पीडितले । पीडक मज्जाको जीवन बाँचिरहेका छन् मानौँ दण्ड तिनले पाउनु नै पथ्र्यो र मारिए वा बेपत्ता पारिए । पत्रकारिताको पुरस्कार तिनले या त मारिएर पाए वा बेपत्ता पारिएर पाए । सायद त्यसैले नोभेम्बर २मा फ्रिडम फोरमले पत्रकारमाथि हुने अपराधको दण्डहीनताविरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको हो तर सञ्चारसँग सम्बन्धित सँस्थाहरुले त्यो दिवस मनाउनु पर्ने कुनै आवश्यकता नै ठानेनन् । त्यसदिन कुनै सञ्चार गृह वा पत्रकारले चर्चासमेत गरेको पाइएन आफ्ना आफ्ना माध्यममा ।

पत्रकारले बोल्दा, लेख्दा, प्रसारण गर्दा र सूचनाको संग्रह गर्दा जुन अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नुपर्ने हुन्छ, त्यसको लागि पत्रकारको , पत्रकारिताको सुरक्षा आवश्यक हुन्छ । लाग्थ्यो, एक्काइसौँ शताब्दीमा पत्रकारिता अझ सम्मानित र प्रतिष्ठित पेसाको रुपमा सरकारले, समाजले लेला । तर त्यो अपेक्षा र मीठो आशामा यता केही वर्षदेखि तुषारापात हुन थालेको आभास हुँदैछ । जति जति समाज सचेत हुँदै गएको छ, व्यक्तिका लागि अभिव्यक्ति स्वतन्त्रताको महत्व बढ्दै गएको छ , त्यति त्यति अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमा बाधा अवरोध बढ्दै गएको छ । त्यसको मारमा पत्रकार नै बढी परेका छन् । त्यसले मानवअधिकार खतरामा परेको आभास हुन थालेको छ ।

पत्रकारिता समाजको त्यस्तो एउटा सेवा हो जसले वाणीविहीनको आवाजको काम गर्छ । सामाजिक न्याय नपाएकाहरुका लागि सामाजिक न्यायको प्रत्याभूतिका लागि निरन्तर र अनवरत आवाज दिइरहेको हुन्छ विना डर र त्रास । तर त्यहाँ डर र त्रासको भावना भने प्रचूरमात्रामा संग्रहित यसकारणले हुन्छ कि जसका कारणले आम जनताले दुःख पाएका हुन्छन्, ती सही विचार, समाचार र टिप्पणीले तिनको स्वार्थमा धक्का लागेको महसुुस गरेका हुन्छन् । जसरी हुन्छ, आफ्नो स्वार्थको पक्षमा रक्षा कबच भनेको तिनले पत्रकारको कलम, माइक, कम्प्युटर मात्र भौतिकरुपमा ध्वस्त बनाउँदैनन्, सूचना सङ्कलक पत्रकार, सूचना प्रसारक तथा प्रचारक अनि प्रकाशक समेतलाई भौतिक रुपमा सफाया गर्ने गर्छन् । विगत एक दशकमा १ हजारभन्दा बढी पत्रकारहरुको हत्या भएको छ र त्यसबाट करिब ४ हजारभन्दा बढी व्यक्तिहरु प्रभावित भएका छन् । नेपालमा मात्र यो एकवर्षमा १०० जनाभन्दा बढी पत्रकारहरु हिँसाको मारमा परेका छन् जसबाट ३०० भन्दा बढी सञ्चारकर्मीहरु प्रभावित भएका छन् । तिनका न्यायका लागि खासै केही भएको पाइएको छैन । राज्य संवेदनहीन भएको देखिन्छ भन्ने पीडित परिवारहरुको धारणा छ । या त राज्य दण्डहीनताको विपक्षमा स्पष्ट उभिन खोजेको छैन, या त दण्डहीनताले यस्तो स्वरुप लिइसक्यो कि त्यसका विरुद्धमा समाज एकजुट भएर उठ्नु जरुरी छ सरकारलाई सहयोग गर्न वा सरकारलाई सतर्क बनाउन ।

इन्टरनेसनल प्रेस इन्स्टिच्युट, आइ पी आइका अनुसार पोहोर २०१७ सेप्टेम्बरदेखि २०१८ अक्टुबर ३१सम्म विश्वभर १०० भन्दा बढी पत्रकारहरुको हत्या भएको छ जसमा ३२ जना पत्रकारहरु आफ्नो कर्तव्य पूरा गर्दागर्दै कार्यस्थलमा नै मारिएका छन् । ती मारिनुमा भ्रष्टाचारविरुद्धको समाचार नै हो । त्यसरी मारिएका पत्रकार तथा सञ्चार उद्यमीसमेतको हत्याका वारेमा बडो कम छानबिन भएको छ र यदि कतै छानबिन भएको छ भने पनि अत्यन्तै धीमा गतिमा अनुसन्धान भएको पाइएको छ । या त अनुसन्धान भएको भनिएता पनि त्यसबारेमा कुनै सुनुवाइ नै भएको पाइँदैन ।
पीडकलाई खुला आकाशको सहारा हुन्छ तर पीडितले न्याय पाएको देखिँदैन । दण्डहीनता मौलाएको अवस्था छ । पत्रकारहरु किन मारमा पर्छन् भन्दा पनि उनीहरुको सुरक्षाका वारेमा कसले सोच्ने ? पत्रकारसँग मात्र जिज्ञासा हुन्छ, घटना खोतल्ने इच्छाशक्ति हुन्छ र जसरी हुन्छ गलत तरिकाले भएका कामहरुको जानकारी सरकार, समाज र पीडित पक्षलाई उपलब्ध गराएर वाणीविहीनहरुको वाणीको काम गर्नु हुन्छ ।

सूचना र ज्ञानका लागि सदैव सक्रिय पत्रकारले समाजलाई सूचित गर्दा सहज परिस्थिति मात्र हुँदैन, कुनैबेला गलत कुराहरुको जानकारी दिएर समाज रुपान्तरणको जिम्मा पनि पत्रकारले लिनु परेको हुन्छ । पत्रकारिताले जब कुनै गलत कुराको जानकारी समाजलाई दिन थाल्छ, त्यसबेला स्वार्थ बाझिने अवस्थाका व्यक्ति वा समूहबाट त्यसमा बाधा अवरोध जुन हुन्छ, त्यसबाट कसरी पत्रकारितालाई जोगाएर समाजलाई सुसूचित गराउने जिम्मा आज कसको हो? समाजमा देखिएका दण्डहीनताका विरुद्धमा आवाज उठाउने पत्रकार, अनि उसका विरुद्धमा हुने हिँसात्मक आपराधिक घटनाका लागि कसले सुरक्षा दिने ? आजको ज्वलन्त प्रश्न यही हो । पत्रकारका सुरक्षाका लागि नै संयुक्त राष्ट्रसँघले नोभेम्बर २ तारिखलाई पत्रकार विरुद्धका अपराधको दण्डहीनताको अन्त्यका लागि अन्तरराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाइन्छ । मालीमा मारिएका २ जना फ्रेन्च पत्रकारहरुको सम्झनामा नोभेम्बर २ तारिखलाई मनाउन थालिएको हो । आइफेक्सको अनुरोध र दबाबमा युनेस्कोले यसलाई सँसारभर मनाउन थालेको हो र पत्रकारहरुको सुरक्षाका लागि कसरी प्रभावकारी संयन्त्र तयार गर्न सकिन्छ भनेर युनेस्कोले प्रयास गरिरहेको छ ।

पत्रकारहरुको सुरक्षा नभई समाजले सही र निष्पक्ष सूचना प्राप्त गर्न सक्दैन । पत्रकारिता नै किन गर्ने भन्ने नैराश्यता पनि अहिले नेपालमा देखिन थालेको छ । साहसिक पत्रकारिता र खोज पत्रकारिताले मात्र जनतालाई सुसूचित गर्न सकिन्छ । जति जति राज्य सबल हुन्छ, त्यति त्यति निरङ्कुश पनि हुन्छ भन्ने मान्यता पनि छ । त्यसका लागि सरकारलाई खबरदारी गर्ने र गलत प्रवृत्तिका विरुद्धमा जनचेतना फैलाउने काम पनि पत्रकारिताकै जिम्मामा रहने हुन्छ। एकप्रकारले राम्रा कामको प्रशंसा र गलत कामको आलोचना गर्ने भएकाले सरकारको पक्षधरता र विपक्षीको आधारभूमि पनि पत्रकारिता नै हो भनेर नै अनौपचारिक रुपमा राज्यको चौथो अङ्ग भनिएको होला । न त पत्रकारितालाई कसैले राज्यको अङ्ग मानेको छ , न त पत्रकारले नै आफूलाई राज्यका अङ्गसरह मान्यताको माग गरेको छ । तर राज्यको प्रजातान्त्रिक स्थितिको सूचकाङ्कमा प्रेस स्वतन्त्रताको पक्ष अत्यन्तै संवेदनशील हुन्छ ।

अहिले नेपालमा पत्रकारिता पेसा हो या व्यवसाय हो या समाज सेवा हो भन्न गाह्रो भएको छ । छापा पत्रकारिताको अवस्था केही अपवादवाहेक नाजुक छ । पत्रकारिता स्वयंमा खतराजन्य पेसाको रुपमा देखिन थालेको छ । केही पत्रकारहरुका व्यवहारले पनि पत्रकारिता एउटा स्वतन्त्र पेसा भन्दा पत्रकारिता नै बदनाम हुने अवस्था पनि देखिएको बताइन्छ पत्रकारहरुबाटै । पत्रकारिता भनेको दक्षता पनि हो, क्षमता पनि हो, मानवीय संवेदनाको संप्रेषण पनि हो र हो हाम्रै समाजको ऐना पनि । समाज जस्तो हुन्छ, समाचार पनि उस्तै आउँछ,विचार पनि उस्तै आउँछ र विश्लेषण पनि उस्तै आउँछ । त्यसैले पत्रकारिताले समाजको नैतिकतालाई स्पष्टरुपमा उजिल्याउँदै निर्भीकरुपमा सही दिशा दिने हो , त्यसका लागि पक्कै पनि सहिष्णु समाज, सहिष्णु राजनीतिज्ञहरु , सहिष्णु र संवेदनशील सरकार अनि समाजको चित्रण गर्नसक्ने दक्ष पत्रकारहरुको जमात जरुरी हुन्छ। त्यसो हुनका लागि दण्डहीनता नै पहिलो शर्त हुन जान्छ ताकि कुनै पनि पत्रकार, लेखक, विश्लेषक, प्रचारक, प्रसारकले आफ्ना कुरा निर्भीकताका साथ अभिव्यक्त गर्न पाओस् । संविधान वादको पक्षमा समाज जागरुक होस् । विधिको शासनको पक्षमा समाज जागरुक होस् ।

नेपाली समाज राजनीतिको गलत दलदलमा विभाजित भएर भासिन थालेको छ । जुन राजनीति राज्यको मानक नीतिको रुपमा कार्यान्वयन हुनु पर्ने हो, त्यसको नै गलत व्याख्या गरेर मानवीय संवेदनशीलता भन्दा समाचार र विचार आफ्नो पक्षमा मात्र हुनुपर्ने आग्रहमा राजनीतिज्ञहरु एक हुन्छन् र पत्रकारिताले उनीहरुको गलत क्रियाकलापलाई समेत राम्रो भनेर प्रशंसा गरिदेओस् भनेर अनेक लोभ, लालच, धम्की दिन्छन् भने सँसारका धेरै देशमा देखिने यो रोगबाट नेपाल कसरी अछुतो हुने होला र ? त्यसैले पत्रकारका विरुद्धमा, पत्रकारको कलम, कापी, माइक, ल्यापटप, माइक्रोफोनको सुरक्षाका लागि पनि दण्डहीनता विरुद्ध समाजका सबै पक्ष एक हुनु आवश्यक छ । नोभेम्बर २ले दिने सन्देश के पनि हो भने आखिर सही समाचार, विचार र विश्लेषणले मात्र राज्यले नयाँ बाटो पाउने हुन्छ र सुधार गर्न सक्छ । समाज रुपान्तरणका लागि अनवरत खटिने पत्रकारले कम्तीमा पनि अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति पाओस् भन्ने हो ।

यदि पत्रकारको स्वतन्त्रतामा पत्रकारले नै भाँजो हाल्ने , अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकार नै नउभिने हो भने र स्वार्थी राजनीतिज्ञहरु, नाफाखोर व्यवसायीहरु र समाजलाई गलत बाटोमा लैजान उद्यत अपराधीहरुलाई समाजमा खुला छोड्ने हो भने हामीले कल्पना गरेको समतामूलक समाज, सामाजिक न्यायमुखी समाजको कहिले सुरुवात होला ?
मानवीय आवश्यकता भनेको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाको सबलीकृत र एकीकृत स्वरुप हो । त्यसका लागि अभिव्यक्ति स्वतन्त्रता पहिलो शर्त हो । मानवअधिकारको पालना भनेको नै वैयक्तिक स्वतन्त्रता र सामाजिक सुरक्षाको एकीकृत स्वरुप हो । पत्रकारिताले स्वच्छन्द र स्वतन्त्ररुपमा काम गर्न पाएमात्र समाजको विकास सूचकाङ्क स्वतः माथि उठ्ने छ ।

अहिले पनि सँसारभर पत्रकारविरुद्धका अपराधको छानबिन होस्, कुनै पनि पत्रकारले आजका मितिबाट कुनै अपराधको सामना गर्नु नपरोस् भनेर नागरिक समाज, सरकार, पत्रकारका छाता सँस्थाहरु , मानवअधिकारसम्बन्धी सँस्थाहरु , स्वयं व्यक्ति पत्रकार र पत्रकारबाट सेवा लिएर नाफा कमाउने वा समाचारको खेती गर्ने सञ्चार गृहहरुले एकीकृतरुपमा पत्रकारहरुको सुरक्षामा लाग्नु जरुरी छ । कुनै पनि पत्रकारले आफ्नो कर्तव्य पूरा गर्दा पीडित हुुनु नपरोस् , ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई खबरदारी गर्ने बेला पनि यही हो । पीडित सञ्चारकर्मीेले न्याय पाऊन्, दिवंगत भएकाहरुको परिवारले निर्भीकताका साथ बाँच्न पाऊन् र क्षतिपूर्ति पाऊन् ।

हामी आफ्ना तर्फबाट सक्दो कोसिस गरिरहने छौँ भनेर हामी सबैले प्रण गरौँ । यसै नोभेम्बर २ तारिखबाट फ्रिडम फोरम, नेपालले साहसिक पत्रकारिता र खोजी पत्रकारिता गर्ने एक एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कारको राशी २५हजार मात्र भए पनि यो एउटा सुरुवात हो । यसका लागि वरिष्ठ पत्रकार हरिहर विरही संयोजक रहनु भएको एउटा समितिमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, वरिष्ठ पत्रकारहरु शिव गाउँले र बद्री पौडेलको छनोट समितिले गरेको निर्णय बमोजिम पत्रकार रामविकास चौधरीलाई साहसिक पत्रकारिता पुरस्कार र रमेश कुमारलाई खोजी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । यो सुरुवात हो र यसलाई आधार बनाएर भोलिका दिनमा दण्डहीनताका विरुद्धमा सबै पत्रकारहरु एकजुट हुनु आवश्यक छ । युवाहरुलाई पत्रकारिता भनेको समाज सेवा हो र यसले समाजलाई रुपान्तरणको दिशामा लैजान सक्छ भनेर प्रोत्साहित गर्नु जरुरी देखिन्छ ।र अन्त्यमा, पत्रकारितालाई समय सापेक्ष बनाउने काम र जनताको पक्षमा लैजाने काममा दण्डहीनताले जुन बाधा पारेको छ, त्यसलाई अन्त्य गर्न सबैको सहयोगको आवश्यता छ । यसमा समाजका सबै वर्गको अपेक्षित सहयोगको आवश्यकता छ र झन पत्रकार आफैँ पनि जागरुक हुनु आवश्यक छ ।

LEAVE A REPLY