Home मुख्य समाचार श्रीलंकाको संसदद्वारा राजापाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित

श्रीलंकाको संसदद्वारा राजापाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित

103
0
SHARE

कोलम्बो, २८ कात्तिक । श्रीलंकाको पुनर्स्थापित संसद्ले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मंगलबार पुनःस्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको छ ।

सभामुख कारु जयसूर्याले २ सय २५ जना सदस्य रहेको संसद्ले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

संसद्मा राजापाक्षको बहुमत पुग्ने नदेखिएपछि राष्ट्रपति सिरिसेनाले संसद् विघटन गरी आगामी जनवरी ५ का लागि आकस्मिक निर्वाचनको घोषणा गरेका थिए । तर, विक्रमासिंघेको दलले संसद् विघटन गर्ने र निर्वाचन गर्ने निर्णयको विरोधमा अदालतमा निवेदन दिएका थियो । निवेदनमाथि प्रधान न्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले संसद् पुनः स्थापना गर्ने निर्णय दिएको थियो ।

निर्णय सुनाइँदा जम्मा भएको ठूलो भिडबाट हुन सक्ने सम्भावित आक्रोशबाट अदालत परिसरमा सुरक्षा दिन सयौँ सुरक्षाकर्मी तथा कमाण्डोलाई अत्याधुनिक हतियारसहित तैनाथ गरिएको थियो । अदालतले राष्ट्रपति सिरिसेनाले गरेको घोषणालाई खारेज गर्दै संसद्को पुनः स्थापना भएको निर्णय सुनाएको थियो ।

अदालतले राष्ट्रपति सिरिसेनाले नियुक्त गरेका विवादास्पद बनेका प्रधानमन्त्री राजापाक्षलाई २ सय २५ सदस्यीय संसद्मा बहुमत सिद्ध गरी विक्रमासिंघेलाई जिम्मेवारीबाट हटाउन सक्ने निर्णय दिएको थियो ।

अदालतले स्वतन्त्र निर्वाचन आयोगलाई जनवरीमा निर्वाचन गर्ने गरी भएका सबै तयारी रोक्न आदेश दिइसकेको छ ।

LEAVE A REPLY