Home मुख्य समाचार डलरको लोभमा प्रमकाे धर्मबोधः कांग्रेसदेखि नेकपाका नेतासम्मको विरोध

डलरको लोभमा प्रमकाे धर्मबोधः कांग्रेसदेखि नेकपाका नेतासम्मको विरोध

57
0
SHARE

–हरेकपल टिप्पणी–

नेपालमा नेकपा अर्थात् नेपाल कम्युनिस्ट पार्टीको सरकार छ । तर, सरकारको वर्तमान गतिविधि हेर्दा यो कुनै धार्मिक संगठन त होइन भन्ने आभास हुन थालेको छ । कम्युनिस्ट पार्टीको सिद्धान्तले कुनै पनि धर्ममा विश्वास गर्दैैन ।

तर, नेपालका कतिपय कम्युनिस्ट नेताहरूको सन्दर्भमा भन्ने हो भने उनीहरू धर्मको विरोध गर्नु भनेको नेपालको सनातन हिन्दू धर्मको विरोध गर्नु भन्ने बुझेको प्रस्ट हुन्छ । त्यसैले त उनीहरू क्रिश्चियनहरूले आयोजना गरेका कार्यक्रममा निर्धक्कसाथ सहभागी हुन्छन् ।

धर्मलाई अफिमका रूपमा व्याख्या गर्ने त्यही कम्युनिस्टको बाहुल्य भएको सरकारले क्रिश्चियन धर्मप्रचारक एक विवादास्पद विदेशी गैरसरकारी संस्थाको कार्यक्रमलाई आफ्नै कार्यक्रमका रूपमा प्राथमिकता दिएर त्यसमा संलग्न भएको छ ।

त्यसो त नेपाल सरकारले यसअघि सो कार्यक्रमको सहआयोजकका रूपमा विभिन्न विदेशी राष्ट्रका पाहुनाहरूलाई नेपालमा आमन्त्रण नै गरेको थियो । तर, प्रतिपक्षी नेपाली कांग्रेसको चर्काे विरोध र आमसर्वसाधारणको व्यापक आलोचनापछि सरकारले सह–आयोजकबाट पछि हटेको थियो ।

एसिया प्यासिफिक सम्मेलनको नाम दिएर आयोजना गरिएको सो विवादास्पद कार्यक्रम यसअघि फिजीमा आयोजना गर्न खोज्दा त्यहाँको सरकारले अनुमति नदिएपछि नेपालमा कार्यक्रम गर्ने तय भएको थियो । कार्यक्रमका सूत्रधार थिए, पूर्वमन्त्री एवं कोरियाको युनिफिकेसन चर्चका नेपाली प्रतिनिधि एकनाथ ढकाल ।

ढकाल त्यस्ता भाग्यमानी व्यक्ति हुन्, जसको पार्टीले संविधानसभा निर्वाचनमा एक सिट मात्रै जित्दा पनि उनले पटक–पटक मन्त्री बन्ने सौभाग्य पाएका थिए । नेपाल परिवार दल नामको सो पार्टीलाई ढकालले अहिले नेकपामै विलय गराइसकेका छन् ।

उनी पटक–पटक मन्त्री बन्नुमा उनको पार्टीको शक्तिभन्दा पनि अन्तर्राष्ट्रिय क्रिश्चियन संस्थाहरूको दबाबले भूमिका खेलेको त्यतिवेला नै चर्चा हुने गरेको थियो । विकिपीडियाका अनुसार ढकालले नेपाली महिलालाई कोरियन पुरुषसँग विवाह गराउने र क्रिश्चियन बनाउने काम गरेका थिए ।

सहआयोजकबाट नाम हटाए पनि सो कार्यक्रममा सरकारको भूमिका आयोजकको भन्दा कम थिएन । कार्यक्रमका आयोजक र अतिथिको आदर सत्कारका खातिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओली केही दिन प्रधानमन्त्रीनिवास बालुवाटार र सिंहदरबार छाडेर सोल्टी होटेलमा वास बस्न गएका थिए ।

त्यसैको प्रतिफस्वरूप हुनुपर्छ, सो कार्यक्रममा उनी एक लाख डलर (करिब एक करोड रुपैयाँ) राशिको पुरस्कारसहित सम्मानित भए । उनी आफू सम्मानित मात्र भएनन्, आफ्ना पार्टीका विशिष्ट नेताहरूलाई ‘जिससकी छोरी’बाट दीक्षित गराए ।

केही नेतालाई दीक्षित गराए पनि नेकपाकै केही नेताले भने सो कार्यक्रममा सरकारको संलग्नताप्रति आपत्ति प्रकट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई चेतावनी दिएका थिए ।

कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न नमिल्ने भन्दै रावलले शान्तिको नाममा सम्मेलन गर्नेहरूले कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । त्यसैगरी, नेकपाका युवा नेता धनश्याम भुसालले पनि सो कार्यक्रममा सरकारप्रमुखको संलग्नताप्रति आपत्ति जनाएका थिए ।

नेपाली कांग्रेस, नयाँ शक्ति नेपाल, राप्रपाका अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले पनि सम्मेलनमा सरकारको भूमिकालाई लिएर विरोध गरे ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले सो कार्यक्रममा सरकारको संलग्नताप्रति घोर भर्त्सना गर्यो । कांग्रेसको विज्ञप्तिमा भनिएको थियोः

खास धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावनासमेतको विपरीत रहेको हाम्रो ठहर छ । नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधन र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ ।

LEAVE A REPLY