Home ताजा समाचार आज बालाचतुर्दशी, शतबीज छर्ने दिन, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ मंसिर...

आज बालाचतुर्दशी, शतबीज छर्ने दिन, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ मंसिर २० गते

119
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २० गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष कृष्णपक्षको चतुर्दशी तिथि दिवा १२।८ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र विहान राति ५।६ बजेसम्म रहनेछ । आज सुकर्म योग चतुष्पाद करण रहेको छ । आज सूर्योदय ६।४२ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।
आज बालाचतुर्दशी हो । चान्द्र महनिा अन्तर्गत मार्गशीर्ष अर्थात् मंसिर कृष्ण पक्षको चतुर्दशी तिथिलाई बालाचतुर्दशी भनिन्छ । चतुर्दशी शिवजीको प्रिय तिथि(दिन) हो । यसैगरी चतुर्दशी तिथिका स्वामी पनि साक्षत् शिवजी हुनुहुन्छ । चतुर्दशीमा शिवजीको उपासना शुभ मानिन्छ । शिवरात्री पनि चतुर्दशीकै दिन मनाइन्छ । पितृको उद्धारका निम्ति बालाचतुर्दशी तिथिलाई उत्तम मानिएको छ । त्रयोदशीको राति पितृका निम्ति बत्ती बाली चतुर्दशीका दिन शतबीज छर्ने शास्त्रीय विधान रहेको पाइन्छ ।

सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् ।

मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।। (हेमाद्रि÷वार्षिकरत्नावली वर्षकृत्खण्ड)

अर्थात् मृगस्थलीको परिभ्रमण गरी एक बीज छर्नाले पनि त्यो सुन दान तुल्य फल दिने र सोही पुण्यका प्रभावले पुनर्जन्म लिनु नपर्ने कुरा हेमाद्रि लगायत वार्षिक रत्नावलीको वर्षकृत्खण्डमा उल्लेख पाइन्छ । यसैगरी बाला चतुर्दशीका दिन श्लेष्मान्तक वन वा मृगस्थलीमा गई सप्तधान्य अर्पण गर्नाले शिवजी प्रशन्न हुने कुरा शिवपुराणमा उल्लेख छ ।

शतबीज भनेको सय प्रकारका अन्नको बीउ हो । शत भन्नाले सय र बीज भन्नाले बिऊ भन्ने अर्थ लाग्दछ । सय प्रकारका अन्नको बिउलाई नै शतबीज भनिन्छ । आफ्ना पितृहरूका नाममा त्रयोदशीका राति बत्ती वालेर भोलिपल्ट अर्थात् चतुर्दशीका विहान शिवालय, मृगस्थली, श्लेष्मान्तक वन लगायत शिव मन्दिरको परिसरमा शतबीज छर्ने चलन रहेको छ ।

यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति मनाउने गरिन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा काठमाडौँको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको विशेष महिमा रहेको पाइन्छ । हेमाद्रि एवं वार्र्षिक रत्नावलीले पनि उक्त आशय व्यक्त गरेका छन् ।

शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु, मकै, केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरूका सय प्रकारका बीज पर्दछन् । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किरातेश्वर मन्दिर आदि ठाउँमा शतबीज छरिन्छ । मंसिर कृष्ण त्रयोदशीका राति भक्तजनहरूले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गरी भोलिपल्ट दीप नदीमा सेलाउने र शतबीज छर्ने चलन रहेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY