Home ताजा समाचार बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ? हेर्नुहोस्

बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ? हेर्नुहोस्

380
0
SHARE

 उप प्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

चान्द्र महनिा अन्तर्गत मार्गशीर्ष अर्थात् मंसिर कृष्ण पक्षको चतुर्दशी तिथिलाई बालाचतुर्दशी भनिन्छ । चतुर्दशी शिवजीको प्रिय तिथि(दिन) हो । यसैगरी चतुर्दशी तिथिका स्वामी पनि साक्षत् शिवजी हुनुहुन्छ (मुहूत्र्तचिन्तामणि, १।३) । चतुर्दशीमा रुद्रि जुर्नुका साथै शिवजीको उपासना पनि शुभ मानिन्छ । शिवरात्री पनि चतुर्दशीकै दिन मनाइन्छ । पितृको उद्धारका निम्ति बालाचतुर्दशी तिथिलाई उत्तम मानिएको छ । त्रयोदशीको राति पितृका निम्ति बत्ती बाली चतुर्दशीका दिन शतबीज छर्ने शास्त्रीय विधान रहेको पाइन्छ ।

सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् ।

मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।। (हेमाद्रि/वार्षिकरत्नावली वर्षकृत्खण्ड)

अर्थात् मृगस्थलीको परिभ्रमण गरी एक बीज छर्नाले पनि त्यो सुन दान तुल्य फल दिने र सोही पुण्यका प्रभावले पुनर्जन्म लिनु नपर्ने कुरा हेमाद्रि लगायत वार्षिक रत्नावलीको वर्षकृत्खण्डमा उल्लेख पाइन्छ । यसैगरी बाला चतुर्दशकिा दिन श्लेष्मान्तक वन वा मृगस्थलीमा गई सप्तधान्य अर्पण गर्नाले शिवजी प्रशन्न हुने कुरा शिवपुराणमा उल्लेख छ ।

शतबीज भनेको सय प्रकारका अन्नको बीउ हो । शत भन्नलाले सय र बीज भन्नाले बिऊ भन्ने अर्थ लाग्दछ । सय प्रकारका अन्नको बिउलाई नै शतबीज भनिन्छ । आफ्ना पितृहरूका नाममा त्रयोदशीका राति बत्ती वालेर भोलिपल्ट अर्थात् चतुर्दशीका विहान शिवालय, मृगस्थली, श्लेष्मान्तक वन लगायत शिव मन्दिरको परिसरमा शतबीज छर्ने चलन रहेको छ ।

यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति मनाउने गरिन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा काठमाडौँको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको विशेष महिमा रहेको पाइन्छ । हेमाद्रि एवं वार्र्षिक रत्नावलीले पनि उक्त आशय व्यक्त गरेका छन् ।

शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु, मकै, केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरूका सय प्रकारका बीज पर्दछन् । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किरातेश्वर मन्दिर आदि ठाउँमा शतबीज छरिन्छ । मंसिर कृष्ण त्रयोदशीका राति भक्तजनहरूले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गरी भोलिपल्ट दीप नदीमा सेलाउने र शतबीज छर्ने चलन रहेको छ ।

शतबीज छर्दै मृगस्थलीमा रहेका गणेश नजिक पुगिन्छ । यस पछि गणेशजीको मूर्ति हल्लाई ठुलो स्वरमा हाम्रा पितृले मोक्ष पाउन् भनिन्छ । उक्त गणेशजीले कान कम सुन्ने भएकाले ठुलो आवाजका साथ बोल्ले चलन रहेको छ ।
भगवान् शिव मृगरूप लिएर जहाँ जहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने कुरा शिवपुराणमा उल्लेख छ । बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको कथा पनि पाइन्छ ।

यसैगरी पशुपतिको घाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मूर्दाको टाउको फुटी उछिट्टीएको गिदी उनले खान लागेको चिउरामा परेको र उक्त गिदीसँगै खाजा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्केका थिए । लामा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिसहरू डराई उसलाई बालासुर राक्षस भन्न थाले । बालानन्दको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले बालासुरको सिंहमार्फत् उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि पाइन्छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएको कथा पनि पााँइन्छ । सोही बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको हो ।

बालाचतुर्दशीमा विशेषतः शिवजीको उपासना हुने गर्दछ । पितृमुक्तिका साथै आत्मकल्याणका दृष्टिले पनि यस पर्वको विशेष महिमा रहेको छ । पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने कुरा शास्त्रमा उल्लेख पाइन्छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ । मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी दिवंगत पितृमुक्तिको कामना गर्दै महादीप बाल्ने गरिन्छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्ने गर्दछन् । कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास पनि रहेको छ । पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती सेलाउन पनि सकिन्छ । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गर्दछन् ।

देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख पाइन्छ । अतः पितृ खुशी बनाउने पर्वका रूपमा पनि बालाचतुर्दशीलाई लिइएको पाइन्छ । यो पर्वमा धर्म संँगै संस्कृति पनि प्रवाहित भएर आएको पाइन्छ । मेला लाग्नु, विभिन्न प्रकारका नाच गान गर्नु, विभिन्न किंवदन्ती पाइनुआदि साँस्कृतिक पाटा हुन् भने शास्त्रीय वचन एवं मान्यता धार्मिक पक्ष अन्तर्गत पर्दछन् ।

LEAVE A REPLY