Home मुख्य समाचार बुद्धिजीवीविरुद्ध बम्के प्रधानमन्त्री

बुद्धिजीवीविरुद्ध बम्के प्रधानमन्त्री

73
0
SHARE

–हरेकपल टिप्पणी–

प्रधानमन्त्री केपी शर्मा ओली बुद्धिजीवीलाई थला पार्न सक्ने चेतावनी दिएका छन् । कसैको पनि नाम नलिई प्रधानमन्त्री ओलीले बुद्धिजीवीलाई मिडियामा आउनुभन्दा अघि आफूसँग आउन चुनौती दिएका छन् ।

दुईतिहाई बहुमतसहितको सरकारले केही पनि गर्न नसकेको, बरु एकपछि अर्काे गर्दै सरकारका गतिविधि विवादित बन्दै गएपछि स्वतन्त्र बुद्धिजीवी मात्र होइन, वामपन्थी बुद्धिजीवीहरूले पनि सरकार र नेतृत्वकर्ता प्रधानमन्त्री ओलीको आलोचना गरिरहेका छन् ।

निर्मला पन्तका बलात्कारी र हत्यारालाई संरक्षण गरेको आरोप खेप्दै आएका प्रधानमन्त्री ओली पछिल्लो समय विवादित संस्थाको कार्यक्रममा सरकार संलग्न भएर एक करोड राशिको पुरस्कार थापेका कारण आलोचित बनेका छन् । त्यति मात्रै होइन, कांग्रेसका पालामा आएको विधेयक लागू गर्ने क्रममा सरकारले ‘नयाँ युग’का नाममा बिजुलीका पोलपोलमा प्रधानमन्त्रीको तस्बिर भएको होर्डिङ बोर्ड झुन्ड्याएको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।

बुधबार राति प्रशारित एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले सरकारकै भत्ता, पेन्सन खाने र सरकारी सुविधा लिएर जथाभावी बोल्ने प्रवृत्ति देखिएको बताएका छन् । गोपनियताको वास्ता नगर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री ओलीले आफूले अत्यन्तै अनुत्तरदायी र झुटो प्रचार देखेको बताएका छन् ।

समृद्धिको नारा लिएर सत्तामा गएका प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । लोकतन्त्रमा आलोचना सामना गर्न नसकेर सत्ता प्रमुखबाट यस्तो अभिव्यक्ति आउनु अशोभनीय देखिन्छ । बरु आलोचनाबाट पाठ सिकेर सरकारले कामले जवाफ दिनुपर्नेमा स्वयं प्रधानमन्त्री विवादमा उत्रिएर बुद्धिजीवीविरुद्ध विषवमन गर्नुले उनको ‘सामन्ती प्रवृत्ति’लाई उदांगो पारेको छ ।

सरकारी तलब खाएकै कारण गलतलाई गलत भन्न नपाउने हो भने देशमा लोकतन्त्र छ भनेर किन गर्व गर्नु ? लोकतन्त्रका लागि यति धेरै योगदान गरेका जनताले सहीलाई सही भन्न नपाउने हो भने यस्तो शासनलाई कसरी लोकतन्त्र भन्न सकिन्छ ?

मुलुकमा गणतन्त्र आइसक्दा पनि शासकहरूको मानसिकतामा राणाशासन र पञ्चायतको धङधङी नगएको आभास प्रधानमन्त्री ओलीको अभिव्यक्तिले झल्काएको छ ।

LEAVE A REPLY