Home मुख्य समाचार १८ करोडको गाडीको आलोचना पचाउँदै राष्ट्रपतिका लागि डेढ अर्बको हेलिकोप्टर

१८ करोडको गाडीको आलोचना पचाउँदै राष्ट्रपतिका लागि डेढ अर्बको हेलिकोप्टर

119
0
SHARE

–हरेकपल टिप्पणी–

केही साताअघि राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद प्रक्रिया अघि बढाएको विषयले सरकारको व्यापक आलोचना भएको थियो । मुलुकको सम्मानित पदमा रहेका व्यक्तिका लागि सुविधायुक्त गाडी उपलब्ध गराउनु सरकारको दायित्व पनि हो । तर, सुविधाका नाममा सरकारले मुलुकको आर्थिक अवस्थालाई बेवास्ता गर्दै राष्ट्रपतिका लागि सुविधा थप गर्न लागेको भन्दै आलोचना भएको थियो ।

विरोध १८ करोड खर्च गर्न लागेका कारण मात्र भएको थिएन । अघिल्लो सरकारले ल्याएका केही जनमुखी कार्यक्रम लागू गर्दा मुलुकको ढुकुटी रित्तिने भन्दै वर्तमान सरकारले ती कार्यक्रम रद्द गराएको थियो । आर्थिक कारण देखाएर पूर्ववर्ती सरकारका निर्णय उल्ट्याउने सरकारले राष्ट्रपतिका लागि महँगो गाडी खरिद गर्न लाग्दा विरोध हुनु स्वाभाविक पनि हो ।

गाडी खरिद प्रकरणमा त्यति धेरै आलोचना खेपेको सरकारले अहिले सुटुक्क राष्ट्रपतिका लागि अर्बौं रुपैयाँ खर्चेर हेलिकोप्टर खरिद गरेको खबर बाहिरिएको छ ।१ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको बसझिएको छ ।

मन्त्रिपरिषद् बैठकको स्वीकृतिमा नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेको हो । सो हेलिकोप्टर इटालीमा बनेको बताइएको छ ।

सो हेलिकोप्टरका लागि राष्ट्रपतिनिवास नजिकै रहेको प्रहरी प्रतिष्ठानमा हेलिप्याड बनाउने सरकारको तयारी छ । हेलिप्याड नबन्दासम्मका लागि सो हेलिकोप्टर २४सै घन्टा स्ट्यान्डबाई रहनेगरी अहिले लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहनेछ ।

हेलिकोप्टर केही साताअघि नै नेपाल आइसकेको भए पनि खरिद सर्त र सम्झौताअनुसार कागजात मिलिनसकेका कारण हेलिकोप्टर हस्तान्तरण प्रक्रिया भने पूरा भइनसकेको जानकारी सेनाले दिएको छ ।

यसअघि सरकारले वाइडबडी जहाज नेपाल भित्र्याएको थियो । सो जहाज खरिद गरिएको हो कि भाडामा मात्र ल्याइएको हो भन्ने कुरा स्वयं सरकारका विभागीय मन्त्रीलाई पनि थाहा छैन । यसले सत्ता सञ्चालकहरूको अपारदर्शी व्यवहार, खराब नियत, भ्रष्ट मनोवृत्ति उजागर गरेको छ ।

वर्तमान सरकारले जनतालाई यतिसम्म पंगु बनाएको छ कि कुनै पनि काम विवादमा आयो भने सो निर्णय अघिल्लै सरकारका पालामा भएको भनेर प्रष्टीकरण दिने तर अघिल्ला सरकारका पालामा भएका राम्रा कामलाई भने आफ्नै सरकारको विशेष कार्यक्रमका रूपमा प्रस्तुत गर्ने गरेको छ ।

यसको पछिल्लो उदाहरण केही साताअघि सरकारले ‘नयाँ युगको सुरुवात’ भन्दै विशेष तामझामका साथ ल्याएको सामाजिक सुरक्षा कार्यक्रम पनि हो । सो कार्यक्रम कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रित्वको सरकारका पालामा नै ल्याइएको कार्यक्रम थियो । तत्कालीन श्रममन्त्री फमुल्ला मन्सुरले संसद्मा पेस गरेको सो कार्यक्रम सरकारका लागि बाध्यात्मक थियो ।

अघिल्लो सरकारको कार्यक्रमलाई अनावश्यक तामझामका साथ प्रस्तुत गरेको सरकार अहिले हेलिकोप्टर खरिद प्रकरणले झनै आलोचित बनेको छ । सरकारको अपारदर्शी क्रियाकलापले सम्मानित राष्ट्रपतिको गरिमा बढाउनुको साटो उल्टो सो संस्थालाई नै बदनाम गराएको छ ।

LEAVE A REPLY