Home कला/साहित्य नेपाली लेखक संघमा विचार र बहसको आवश्यकता

नेपाली लेखक संघमा विचार र बहसको आवश्यकता

615
0
SHARE

-डा.रत्नमणि नेपाल-

नेपाली लेखक संघले आयोजना गर्ने कार्यक्रमहरूमा हामी यस अभियानको वैचारिक धरातलका बारेमा विरलै छलफल गर्ने गर्दछौं । औंशी पूर्णिमामा हुने बहसहरू पनि अति नै सुषुप्त हुने गरेका छन् । रुढी कार्यक्रमका तानाबानामा नै हाम्रो अत्याधिक श्रम र समय खर्च भइरहेको महसुस हुन्छ । गोष्ठी कहिले गर्ने ? कति जनालाई बोलाउने ? कस कसलाई पढ्न दिने ? हाम्रा मात्र बोलाउने कि राम्रा पनि बोलाउने ? खाजा के ? प्रमुख अतिथि को ? उद्घोषण कसले गर्ने ? स्वागत भाषण र धन्यवाद ज्ञापन कोबाट ? आसन ग्रहण ककसलाई ? यस्तै कर्मकाण्डमा हाम्रो अमूल्य समय वित्दछ । जसोतसो कार्यक्रम सम्पन्न गरेकोमा हामी वडो सन्तोष मान्दछौं । कार्यक्रमको समाप्तिपछि खुसी को को भए, को को रिसाए भन्ने लेखाजोखा पनि हुन्छ । एउटा साहित्यिक संस्थामा यस्ता सत्रहरूको कुनै उपादेयता नै छैन भन्ने होइन । तर यस्ता कार्यक्रम कुन आदर्शका निम्ति आयोजना गर्ने ? हाम्रा हुन् वा राम्राहरू हुन् उनीहरूलार्ई कुन वैचारिक तन्तुले जोड्ने ? मैंले यस अवधारणपत्रमा छलफल गर्न खोजेको विषय यही हो ।

मैंले प्रारम्भमै नेपाली लेखक संघलाई अभियान मानेको छु जो यहाँ पुनः स्मरणीय छ । यसको प्रारम्भकालीन आदर्श नै त्यो कडी हो जसले यो मतलाई पुष्टि गर्दछ । कसरी देवकोटा र बालकृष्ण समजस्ता साहित्यिक महारथीहरू यस संस्थामा संगठित भए ? कुन विश्वास थियो त्यो जसले विश्वेश्वरप्रसाद कोइराला र हृदयचन्द्रसिंह प्रधानलाई लेखक संघमा एकबद्ध हुन प्रेरित गर्यो ? के यस संघका संस्थापकहरू विना कुनै साझा विचार नै नेपालकै जेठो मध्येको एक साहित्यिक संस्था खोल्न क्रियाशील भए होलान् ? यस संघको प्रातःकालीन गतिलाई त्यस लगत्तै खुलेको प्रगतिशील लेखक संघको मूल्यसँग तौलेर हेर्दाखेरी यो अझै विशिष्ट अभियानको रूपमा देखापर्दछ ।

लेखक संघले स्थापनाकालमै लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र प्रवद्र्धन हेतु सर्जकहरूको सामूहिक प्रयत्नलाई आफ्नो आदर्श मानेको थियो । लेखकीय लोकतान्त्रिक अधिकारका रुपमा अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताको वकालात यसले गर्यो । व्यवस्थाको कुरा त यी आर्दशका लागि पूर्व आवश्यकता नै ठानिएको थियो । संघका छरिएर रहेका प्रारम्भकालीन सामग्रीहरूले यो पुष्टि गर्दछन् । भर्खरै जन्मेको शिशु प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने जो ऐतिहासिक आवश्यकता थियो त्यसका खातिर सर्जकहरूले आफ्नो सामाजिक दायित्व लेखक संघ मार्फत पूरा गर्न खोजेको यसका पुराना दस्तावेजहरूले देखाउँछन् ।

तर आज प्रश्न उठाउनु पर्ने भएको छ कि त्यो सत्तरी वर्ष पुरानो आदर्शले हामीलाई सुविस्ता हुन्छ त ? हिजो पुर्खाहरूले खाएकै खुराकले आज हामीलाई भोक नलाग्ने हो ? कुनै पनि अभियानका स्थायी आदर्श हुँदैनन् भन्न सकिन्न । अभिव्यक्ति स्वतन्त्रताको हकमा, लोकतान्त्रिक अधिकार र व्यवस्थाको हकमा कुनै प्रश्न छैन । तर समकालीन चेतनाले राजनीति बाहेक अरू थप चिन्तनको माग गरिरहेको हामी किन देखिरहेका छैनौं ? हिजोको ज्ञानले आज काम चलाउने काइदा गरेर होला र ? इतिहास भजाएर वर्तमानमा गर्व गर्नु वडो बेढङ्गको प्रहसन हो । हामीले बुभनु पर्ने कुरो के हो भने वर्तमान र भविष्यको निर्माण इतिहासका आह्वानहरूले मात्र कदाचित गर्न सक्दैनन् । इतिहास त केवल सन्दर्भ ग्रन्थ मात्र हो । नव रचना गर्न चाहने हरेकले यसको निर्मम समालोचना गर्नु पर्दछ । इतिहासको मीमांसीय संरचनालाई चुनौति नदिई हामी कुन भविष्यका लागि वर्तमानको गति निर्धारण गर्न सकौंला र ?

हामी माक्र्सवादीहरूलाई रूढी भन्छौं । तर आफैं रुढी भएको तर्फ अनदेखा गरिरहेका छौं कि ? अनवरत रूपमा एक वा दुई शब्दावली भट्याइरहनु कुन प्रगतिशीलता हो ? कुन सिर्जनशीलता हो ? जसरी एउटा ठूलो अभियान माक्र्सवादको इतिहास जोगाउन असिन पसिन भएको छ हामी त्यो भन्दा पनि जोडबल गरेर अभिव्यक्ति स्वतन्त्रता त भनिरहेका छैनौं ? दुवै आदर्श छोडिहाल्नु पर्ने असान्दर्भिक भन्ने होइन । तर दुवै फाँटमा बहसको दिशा समकालीन सामाजिक, सांस्कृतिक र आर्थिक सापेक्षतामा हुनुपर्ने हो । आज तिनको चुम्बकीय शक्तिको प्रभाव क्षेत्र कति छ ? कस्तो आधुनिक मानिस र उसको चेतनालाई यी कुराहरूले जोडेर लैजान सक्छन् भन्ने नै छलफलको मुल विषय हुनुपर्छ ।

आज त मानिस नै अर्कै भैसकेको छ । मानिस उसको जीववैज्ञानिक रचना भन्दा अझ परको अनुभूति हो । ऊ चेतना र तदनुरूप व्यवहारको कालक्रमिक निर्मिति हो । मानिसको बद्लाव कालको नियमित अग्रगमन जस्तै हो । आजको मानिस हिजोको मानिस भन्दा फरक हो । देख्ता उस्तै देखिए पनि यो गुणात्मक भिन्नता हरेक समय चिन्तनको विषय बन्नुपर्छ । हिजो पनि १२ बजेको थियो । आज पनि भर्खरै १२ बजिसक्यो । के यस समयलाई हिजोे मंसिर २० गतेको समय मान्न सकिन्छ ? यस्तो नवीन समय र मानिसको आजको विशिष्ट स्थितिका लागि नै हाम्रा उपरीय आदर्श एवम् दृष्टिकोणहरू लक्षित हुनुपर्दछ । त्यसो गरिएन भने हाम्रा प्रयत्न के का लागि भन्ने प्रश्न उठ्दछ । हिजो लेखिएकै हो नि कविता कथा उपन्यास र नाटकहरू । राजनीति पनि हिजो गरेकै हो । लोकतन्त्रको पनि हिजो व्याख्या भएकै हो । तर ती त हिजोको समय र मानिसका लागि परिलक्षित थिए । आजको मानिसका लागि नयाँ के ?

लोकतन्त्रकै कुरा गर्ने हो भने पनि यो सात दशक लामो प्रक्रियामा यसका आदर्शहरु धेरै सन्दर्भमा विशिष्टिकृत भएका छन् । कतिपय विचार भने समयको बहावमा बग्न नसकेर कुनै कुइनेटातिर थन्किइसकेका पनि छन् । २१ औं शताब्दीको आजको यो दोस्रो दशकमा विश्व राजनीतिक मानचित्रमै दोस्रो विश्वयुद्घ यता पहिलो पटक लोकतन्त्र प्रणालीगत रुपमै कमजोर देखिएको छ । लोकप्रियतावादी, फासिवादी र साम्यवादीहरुले के विकसित के विकासोन्मुख प्रायः सबै राष्ट्रहरुमा निर्वाचन जितिरहेका छन् । उनीहरु लोकतन्त्रको आदर्शमध्येको एक आदर्श आवधिक निर्वाचनलाई उपयोग गर्न सफल भएका छन् । लोकतन्त्रवादीहरु कि त कमजोर प्रतिपक्ष देखिन्छन् । कि तिमीहरुलाई सफाया गरिनेछ भन्ने अतिशयोक्तिपूर्ण धम्की सुन्न बाध्य छन् । कि भने देश निकाला वा जेलको हावा खाइरहेका छन् । हाम्रो समयको यो चुनौतिलाई सामना गर्न हामी यस प्रणालीका पक्षधर लेखकहरुको कस्तो उपस्थिति हुनुपर्ने हो ? वैचारिक वा सांगठानिक वा कार्यक्रमिक कस्तो ? राष्ट्रिय तथा अन्तराष्ट्रिय कला वा सामाजिक सांस्कृतिक उद्देश्य लिएका लोकतान्त्रिक संघ संस्था वा अभियानसँग हाम्रो सहकार्यको कस्तो रुप हुनु पर्ने हो ? हाम्रा चिन्तनहरु यस दिशातर्फ लक्षित हुनु वाञ्छनीय छ ।

सौन्दर्यबोधको नवीन व्याख्या यसकारण पनि आवश्यक छ कि हामीले केही जबरजस्त प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिनु छ । सबैभन्दा पेचिलो प्रश्न त लेखकहरूलाई संगठन नै किन चाहियो भन्ने नै हो । लेखक स्वयंमा सत्ता हो, संगठन हो, विचार हो, अभियान हो भने उसलाई संगठित हुनु नै किन पर्यो भन्ने प्रश्नले हामीलाई पछ्याइरहन्छ । संस्थागत सामूहिकताको मौलिक आदर्श के हुने भन्ने निर्धारण हुन नसकेमा यस्ता सवालहरूले हामीलाई खेदिनैरहन्छन् । त्यसकारण कुनै तरूणले नेपाली लेखक संघको सदस्यता लिन चाह्यो भने उसलाई हामीले कुन साहित्यिक सांस्कृतिक विचारधाराको विद्यार्थी बनाउने भन्ने हामीले सोच्नु पर्दछ ।

हामी भनौंला उसलाई कि तिमीलाई लेखक बनाउँछौं हामी । तर उसले सोध्ला ‘लेखक बन्न संस्थाको सदस्य बन्नु पर्छ र ?’ हामी जवाफ दिउँला कि होइन हामी तिमीलाई वातावरण उपलब्ध गराइदिन्छौं । कवि हौ भने कविता पढ्ने मञ्च दिन्छौं । कथाकार हौ भने मधुपर्क गरिमा आदि पत्रिकामा छपाइदिन मद्दत गर्र्छाै । तिमी नयाँ छौ, सम्पादकहरूले छापिदिंदैनन् । अनि उसले पुनः सोध्ला ‘ए भनसुन गरेर पो रचना छापिने हो । राम्रो लेखेर होइन ? मिहिनेत गरेर होइन ? तपाइँहरू सम्पादकलाई दबाव दिएर मेरो रचना छापिदिने हो ? सम्पादकले आफ्नै स्वविवेकले राम्रो नराम्रो, योग्य अयोग्य ठम्याएर छाप्ने होइन ?’ अनि अझ सोझो प्रश्न हामीलाई त्यो आजको नव तरूणले गर्ला कि अनि यो स्वतन्त्रताको कुरा ती सम्पादकलाई चाहिँ लागू नहुने ? तपाइँ लेखकहरूलाई मात्र हुने ? त्यो लेखक संघको सदस्यता लिन आउने आजको मानिसले हामीलाई उपरोक्त सवाल गर्योे भने हाम्रो भागाभाग हुने देख्छु म ।

त्यसकारण लेखक संघको बहस त्यस्तो हुनुपर्यो कि त्यो तरूणलाई हामीले कस्तो सल्लाह दिने ताकि उसलाई लागोस् कि यो काम चाहिँ म एक्लैले गर्न सक्दिन । यसका लागि मलाई समूह वा संस्था चाहिन्छ । कविता वा कथा लेख्न । नाटक गर्न । छपाउन वा प्रदर्शन गर्न । वा के का लागि लेखकहरूलाई संस्था चाहिएको हो आज ? कि कुनै साहित्यिक सांस्कृतिक दर्शनका निम्ति यस्ता संस्थाहरूको अभियान चलाइनु पर्ने हो ? एउटा इतिहास बोकेको संस्था यस्ता प्रश्नहरूमा लामो सयम निरूत्तर बसिरहनु मनासिव होइन । मूल कुरा त हामीलाई जोड्ने के ले ? के ले हामीलाई उर्जा दिन्छ ? संस्थामा हिड्ने, समय दिने, किन हामी लाग्ने ? लागेर हामी कहाँ पुग्ने ? वा वाङ्मयलाई हामीले के दिने ? वाङ्मयको कुन क्षेत्र बाँझै छ जसमा हामीले खनजोत गर्ने ? यस्ता प्रश्नहरूको निरूपण समयको नैरन्तर कसीमा गरिरहनु आजको आवश्यकता हो ।

लेखकहरू भनेका विचार उत्पादनका केन्द्रहरू हुन् । हरेक लेखकले आफ्नो सिर्जनाका माध्यमबाट नविन चिन्तन गरिरहेको हुन्छ । जब यस्ता लेखक सम्मिलित संस्थाहरू भने यो उद्धेश्यभन्दा पर अन्य कुनै अमुक उद्देश्यमा समय खर्चिन्छन् भने ती त अवसरवादी संस्थाहरू जस्ता देखिन्छन् । विचार वा सिद्धान्तगत बोध त्यसकारण पनि लेखक संघमा आवश्यक छ । हाम्रो अड्ने ठाउँ के हो ? यो हामी मान्छौं यो मान्दैनौं भन्ने के विचारले छुट्याउने हो ? कतिपय सन्दर्भमा लेखक संघ गैर माक्र्सवादी सर्जकहरूको संस्था हो वा बन्नुपर्छ भन्ने आवाज पनि उठ्ने गरेको छ । तर के हामी माक्र्सवादी होइनौं र ? होइनौं भने पनि के कति कारणले होइनौं त ? कि हामी माक्र्स विचार मान्छौं, माक्र्सवाद मान्दैनौं, र कम्युनिष्ट पनि होइनौं ?

अभिव्यक्ति स्वतन्त्रताको हाराहारीमा हामीले लोकतान्त्रिक समाजवादलाई पनि लेखक संघको आदर्श मानेका छौं । के हो त साहित्यिक अर्थको लोकतान्त्रिक समाजवाद ? यसको सामाजिक सांस्कृतिक पक्ष के हो ? हामीले छलफल गरेका छैनौं । आज आएर प्रायः सबै दल संविधानतः लोकतान्त्रिक समाजवादमा विश्वास गर्दछन् । हाम्रो संस्थाको सदस्यता लिने तरूणले लेखक संघ र यी दलहरूको लोकतान्त्रिक समाजवादमा के फरक छ भनेर सोध्यो भने के जवाफ दिने ? उसले सवैको आदर्श लोकतान्त्रिक समाजवाद नै हो भने लेखक संघ र राजनीतिक दल बीच के फरक रह्यो भन्ने प्रश्न उठाउला । यस्ता बहुआयामिक प्रश्नहरूको जवाफ हामीले तयार पार्नु छ ।

अभिव्यक्ति स्वतन्त्रता कै कुरा गर्ने हो भने पनि यो लेखकहरूको या लेखक संघको मात्र विषय पनि होइन । पत्रकार, शिक्षक, वकिल वा आम मानिसहरूकै लागि यो आवश्यक कुरा हो । त्यसैले लेखक संघले चिन्तन गर्ने मौलिक विषय के हो ? यो अभियानको कुनै छुट्टै कला विषयक मौलिकता के हो ? कम्तिमा आजको लागि ।

लेखकहरूले राजनीति गर्नु हुँदैन भन्ने होइन । राजनीति निरपेक्ष लेखन र विचारको यहाँ परिकल्पना गर्न खोजिएको पनि होइन । यस अर्थमा लोकतान्त्रिक समाजवादलाई सामयीक पुनः व्याख्याको कसीमा हामी निरन्तरता दिनसक्छौं । तर बहसको विषय भनेको हाम्रो कला विषयक बहस वा सांस्कृतिक सौन्दर्यशास्त्रको हो । आधुनिक विज्ञान र साहित्यको अन्तरसम्बन्धवारे हाम्रो मत के हो ? रैथाने ज्ञानलाई हाम्रो कला विषयक विचार निर्माणमा कसरी अन्तरघुलन गराउने हो ? समाज विज्ञान र साहित्यवीच कस्तो तादाम्यता हुनुपर्ने हो ? पूर्वीय दर्शनबाट हामीले लिने के हो छोड्ने के हो ? जीवन, प्रकृति, कला, समाज, संस्कृति, अर्थ राजनीति र लेखन आदि अनेक विषयमा हाम्रा सामयिक धारणाहरू बनिसकेका छैनन् । जब हामी लेखन स्वतन्त्रताको कुरा गर्छौं भने अझै बढ्ता यस विषयपट्टि हाम्रो ध्यान जानु आवश्यक छ । हाम्रो अभियानको मौलिक आदर्शमाथि बहस आजैबाट प्रारम्भ हुनु जरुरी छ ।
                                                                         (लेखक नेपाली लेखक संघका महासचिव हुनुहुन्छ )

LEAVE A REPLY