Home मुख्य समाचार लोकतान्त्रिक पद्धतिका अलोकतान्त्रिक प्रधानमन्त्री

लोकतान्त्रिक पद्धतिका अलोकतान्त्रिक प्रधानमन्त्री

86
0
SHARE

–हरेकपल टिप्पणी–

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र विभिन्न विषयमा मत–मतान्तर भइरहेको सुन्न पाइन्छ । केही समयअघिसम्म दुई अध्यक्षविरुद्ध एकजुट भएका नेकपा माधव नेपा, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच फाटो गराउन अध्यक्ष केपीशर्मा ओली सफल भएका छन् ।

उनीहरूको एकता तोड्नकै लागि प्रधानमन्त्री ओली व्यापक आलोचनाका बीच एसिया प्यासिफिक सम्मेलनमा सहभागी भए । सो सम्मेलनका कारण प्रधानमन्त्री ओली मात्र नभई सिंगो नेकपा पार्टीको नै बेइज्जती भयो ।

सो सम्मेलनमा सहआयोजक सरहको भूमिका निर्वाह गरेका ओलीले सम्मेलन समापनको दिन एक करोड डलरबराबरको पुरस्कार पनि पाए । एक करोड पुरस्कारकै लागि प्रधानमन्त्रीले नेपालको इज्जत धरापमा पारेको भन्दै आलोचना गर्ने प्रशस्तै भेटिए ।

प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी हुनुको पछाडि विभिन्न कारण हुन सक्छन् । तर, एउटा प्रमुख कारणचाहिँ आफू चिढिएका नेतामध्येका एक माधव नेपाललाई आफ्नो पक्षमा लिनु थियो । विरोध गर्ने जमात ठूलो बन्दै गएपछि त्यसका एक प्रमुख पात्रलाई आफूतिर पार्ने प्रधानमन्त्री ओलीको दाउ थियो ।

एसिया प्यासिफिक सम्मेलनका सूत्रधार भनेर पूर्वमन्त्री एकनाथ ढकाललाई भनिए पनि उनलाई पछाडिबाट ब्याक सपोर्ट माधव नेपालले दिएका थिए । नेपाललाई पटकपटक ढकालले विभिन्न देशको भ्रमण गराएर आफ्नो पक्षमा पारिसकेका थिए ।

केही महिनाअघिसम्म सरकारको कटु आलोचना गरिरहेका माधव नेपाल एसिया प्यासिफिक सम्मेलनपछि भने सरकारको गुणगान गाउन थालेका छन् । सरकारको सफलताबाट कांग्रेस आत्तिएको र रात निन्द्रा न दिन भोक भएको भन्दै प्रतिपक्षी दलको आलेचना गर्न थालेका छन् ।

तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने सरकारको गलत क्रियाकलापको विरोध गर्दै आएका छन् ।

संसद्मा प्रतिपक्षी दललाई प्रश्न गर्न नदिएको असहमति राख्दै खनालले संसद्को मर्यादा र नियमवालीभित्र रहेर प्रतिपक्षले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने बताएका छन् । सदनमा मुख्य भूमिका प्रतिपक्षीकै हुने भन्दै प्रतिपक्षीको भावनालाई सम्मान गर्नुपर्ने खनालको मत थियो ।

आइतबार प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिपक्षी दल कांग्रेसका सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न खोज्दा सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई समय नै दिएनन् । संसद्मा प्रतिपक्षी दलको प्रमुख भूमिका हुने भएकाले उनीहरूको बोलीमा लगाम लगाउन खोज्नु चरम अलोकतान्त्रिक क्रियाकलाप भएको भन्दै राजनीतिक विश्लेषकहरूले सभामुख महरा र प्रधानमन्त्री केपी ओलीको गम्भीर आलोचना गरिरहेका छन् ।

LEAVE A REPLY