Home पुनर्निर्माण थाइल्याण्ड सरकारको सहयोगमा बन्दै महादेव मन्दिर

थाइल्याण्ड सरकारको सहयोगमा बन्दै महादेव मन्दिर

205
0
SHARE

 

काठमाडौँ, २३ माघ । त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पुनःनिर्माण कार्य २५ प्रतिशत सकिएको छ । विसं १८७५ मा उक्त मन्दिर रानी ललित त्रिपुरासुन्दरीले निर्माण गर्नुभएको हो ।

मन्दिर निर्माणमा करीब रु २८ करोड निर्माण लागत लाग्ने अनुमान गरिएको छ । थाइल्याण्ड सरकारले रु १७ करोड सहयोग गरिसकेको मन्दिर पुनःनिर्माण समितिका सदस्य सचिव डा लोचन रिजालले जानकारी दिनुभयो ।

भूकम्पअघि मल्लकालीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर सोहीअनुरूप नै निर्माण शुरु गरिएको छ । गजुरसहित पाँच तला रहेको उक्त मन्दिर आगामी दिनमा पनि त्यति नै तलाको निर्माण गर्ने योजना छ । शुरुमा मन्दिर निर्माण गर्न कलाकारहरूले ‘कन्सर्ट’ गरेर रु १९ लाख रकम उठाएका थिए ।

टिम्बर कर्पोरेशनबाट नयाँ काठ ल्याइएको छ । मन्दिर भत्कनुअघि पहिलेका पुराना काठ २० प्रतिशत काम लाग्ने डा रिजालले जानकारी गराउनुभयो । रु छ करोडको नयाँ काठ प्रयोग हुनेछ । महादेवको मन्दिरसहित चार वटा सत्तल निर्माण हुनेछ । भूकम्प गएलगत्तै मन्दिरको निर्माण कार्य शुरु गरिएको हो ।

निर्माणका लागि गुठी संस्थानसँगको सम्झौता पाँच वर्षको समय रहेको छ । आगामी डेढ वर्षसम्ममा निर्माण कार्य सम्पन्न हुनेछ । भूकम्पअघि नै निर्माण गर्ने अवधारणा ल्याइएको थियो । काठमाडौँ महानगरपालिकाको वडा नं ११ मा पर्ने उक्त मन्दिर निर्माणका लागि कामपाले सहयोग भने केही पनि गरेको छैन ।

बाह्र रोपनी क्षेत्रफलमा उक्त मन्दिर निर्माण भइरहेको छ । हाल दैनिक ७५ जना कामदार निर्माण कार्यमा खटिएका छन् । हाल मन्दिरको गजुर निर्माण र अन्य काठको काम काम भइरहेको छ । सम्झौताअनुसार अझै करीब तीन वर्षको समय रहे पनि आगामी डेढ वर्षभित्रमै निर्माणको काम सम्पन्न गरिने काठमाडौँ विश्वविद्यालय सङ्गीत विभागका प्रमुखसमेत रहनुभएका डा रिजालले बताउनुभयो ।

काष्ठमण्डपको काम तीव्र
गोर्खा भूकम्पकै कारण पूर्णरूपमा क्षति पुगेको काष्ठमण्डप पुनःनिर्माणको काम तीव्ररूपमा अघि बढिरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार यस ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य १५ प्रतिशत सकिएको छ ।

आगामी तीन वर्षमा सक्नेगरी गत वैशाखमा नै क्षमा पूजा गरी निर्माणको कार्य प्रारम्भ गरिएको भए पनि पछिल्लो समय मात्र कामले गति लिएको शाक्यले बताउनुभयो । उहाँका अनुसार निर्धारित समयमा नै सक्नेगरी काम तीव्ररुपमा काम भइरहेको छ । अध्यक्ष शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने समितिको योजना रहेको जानकारी दिनुभयो ।

अध्यक्ष शाक्यले भन्नुभयो, “निर्माणका लागि अहिलेसम्ममा ८१४।५२ घनफिट काठ प्राप्त भइसकेको छ ।” उहाँले काठमाडौँ महानगरपालिकाबाट प्राप्त भएको रु पाँच करोड ५० लाखमध्ये अहिलेसम्ममा रु एक करोड रु २२ लाख खर्च भइसकेको जानकारी दिनुभयो । यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ ।

सातौँ शताब्दीमा निर्माण भएको काष्ठमण्डपको अहिले डकर्मी समूहलाई बोलाइ जगको गारोको साइटको जाँचबुझ गर्ने काम भइरहेको छ । तेस्रो घेराको गारोको पनि तह मिलाउन केही सल निकाली तह मिलाई पुनःजोडाइ गर्ने काम हुँदैछ । सिकर्मी समूहबाट थामको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।

शुरु भएन रानीपोखरी

काठमाडौँको महत्वपूर्ण सम्पदाको रूपमा रहेको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको कामले अझै गति लिन सकेको छैन ।

भूकम्पकै कारण पूर्णरूपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि भूकम्प गएकै वर्ष २०७२ साल माघ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माण कार्यको शुभारम्भ गर्नुभएको थियो । विभिन्न कारणले काठमाडौँ महानगरपालिकाले निर्माण कार्य अघि बढाउन सकेको थिएन । कामपाले निर्माण कार्य अघि बढाउन नसकेपछि सरकारले पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएको छ ।

यही माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

परम्परागत शैली र मौलिकतालाई विशेष ध्यान दिई पुनःनिर्माण कार्यलाई तत्काल अघि बढाउने प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति पुगेको रानीपोखरी यसअघि कामपाले तीनपटक बोलपत्र आह्वान गरे पनि निर्माणको कार्यले गति लिन सकेको थिएन ।

यसअघि कहिले आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै त कहिले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुट शिखर शैलीमा गर्ने भन्ने विवाद हुँदा काम अघि बढ्न नसकेको हो । राजा प्रताप मल्लले छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।
रासस

LEAVE A REPLY