Home कला/साहित्य बालकृष्ण समको ‘नियमित आकस्मिकता’ दर्शनमाथि विमर्श

बालकृष्ण समको ‘नियमित आकस्मिकता’ दर्शनमाथि विमर्श

82
0
SHARE
काठमाडौँ, २५ माघ । बिहीवारका दिन आधुनिक विज्ञानको प्रकाशमा दक्षिण एसियामै नयाँ दार्शनिक सिद्धान्त, ‘नियमित आकस्मिकता’ प्रतिपादन गरेका नेपाली वाङ्मयका मूर्धन्य स्रष्टा बालकृष्ण समको ११७ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग र नेपाली शिक्षा परिषद्द्वारा संयुक्त रुपमा ‘नियमित आकस्मिकता दर्शन र समका सृजनाका त्यसको प्रतिविम्बन’ विषयक विमर्श कार्यक्रमको आयोजना गरियो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्याय, काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेल र नेपाली शिक्षा परिषद्की सदस्य सचिव रमा शर्माले समका बहुआयामिक व्यक्तित्व र सृजनाबारे प्रकाश पार्नुभएको थियो ।
काइँलाले विज्ञानको नियम सधैँ नियमित नुहने रहेछ भन्ने कुरा समको नियमित आकस्मिकताले बोलेको बताउनुभयो । समका काव्यसिर्जनामा उच्चकोटीको प्रयोग धर्मिता पाइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सममा जीवनलाई हेर्ने नयाँ दृष्टिकोण थियो ।”
उहाँले हाम्रा विद्वानहरूमा विदेशी विद्वान र दार्शनिकका विचारबाट प्रभावित हुने, त्यसको उद्दरण गर्ने तर नेपालको मौलिक दर्शन र विचारको वास्ता गर्ने बानी नरहेको बताउँदै हामीकहाँ पनि संसारकै दाँजोमा पुग्ने विद्वान र दार्शनिक भएको विचार प्रकट गर्नुभयो । उहाँले कार्यक्रम सान्दर्भिक भएको भन्दै यस्ता विमर्शले नयाँ चिन्तन र विचार जन्माउने बताउनुभयो ।
कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यहरूको जन्मजयन्ती मनाउने प्रज्ञाको नीतिगत कार्यक्रम रहेको भन्दै प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य र पूर्व कुलपतिसमेत रहेका समको नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान रहेको बताउनुभयो ।
उपकुलपति डा. जगमान गुरुङले समको दर्शनलाई बुझ्न वेदान्त दर्शनको पनि ज्ञान हुनुपर्ने बताउँदै समका अन्य कृतिमा पनि नियमित आकस्मिकता दर्शन पाइने दावी गर्नुभयो ।
सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. उपाध्यायले सम बाल्यकालदेखि नै चिन्तन, मनन् र सृजनाकर्ममा समर्पित रहेको उल्लेख गर्नुभयो । उहाँले समको नियमित आकस्मिकताको व्याख्या गर्दै भन्नुुभयो, “नियमित भनेको आध्यामिकता हो भने आकस्मिकता भनेको भौतिकवाद । यी दुवैको मिश्रणबाट समवाद बन्छ ।”
प्रा. पौडेलले समले नेपाली वाङ्मयका कविताकाव्य, नाटक, दर्शनलगायतका विविध विधामा उच्चकोटीको सृजना गरेर अत्यन्तै महत्वपूर्ण योगदान दिएको बताउनुभयो । एउटा स्रष्टाले यति धेरै विधामा उत्तिकै गहन सृजना गर्नु असाधारण कुरा रहेको उहाँको विचार थियो ।
कार्यक्रममा दर्शनशास्त्रका उपप्राध्यापक डा. गोविन्दशरण उपाध्यायले विशेष प्रवचन दिनुभएको थियो । उहाँले समद्वारा प्रतिपादित ‘नियमित आकस्मिकता’ दर्शन नेपाली मौलिक दर्शन भएको दाबी गर्नुभयो । उहाँले बालकृष्ण समको दार्शनिकतामा केन्द्रित सम्भवतः यो नै प्रथम गोष्ठी भएको पनि बताउनुभयो । डा. उपाध्यायले नियमित आकस्मिकता दर्शनको प्रतिपातदन गरेर समले दक्षिण एसियामै महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले समकै ‘इच्छा’ र सन्ध्या पहाडीले समको ‘मानिस स्वयम् देवता हुन्छ’ शीर्षक कविता वाचन गर्नुभएको थियो । चन्द्रमणि अधिकारीले समका विषयमा रचित आफ्नो कविता सुनाउनुभएको थियो ।
वेदाचार्य लक्ष्मी गौतमद्वारा वैदिक मङ्गलाचरण गरी सुरु भएको कार्यक्रम शशी चालिसेले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY