Home देश डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा वृद्धि

डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा वृद्धि

82
0
SHARE

 

परशुराम, १४ फागुन । डडेल्धुराको आलितालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सुदूपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठूलो ताल आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएको हो । आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएपछि त्यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटकको पर्खाइमा रहेको तालमा डुङ्गा सञ्चालन गरिएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी भक्त गाहामगरले बताउनुभयो । ताल परिसरमा रहेका ढलेका रुख तथा झाडी सफाइ गरेसँगै तालको सौन्दर्यसमेत बढेको छ ।

तालको अवलोकनका लागि बाह्य जिल्लाका साथै भित्री मधेशको आलिताल र जोगबुढा क्षेत्रका पर्यटक आलितालसम्म पुग्ने गरेको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । ताल अवलोकन तथा डुङ्गा शयर गर्नका लागि दैनिक ४० देखि ५० आन्तरिक पर्यटक आउने गरेका छन् । वडा कार्यालयले एक डुङ्गा हेरालुको व्यवस्थासमेत गरेको छ । डुङ्गा चढेवापत दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म शुल्क उठ्ने गरेको छ ।

आलिताल क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा चिनाउन गाउँपालिकाले प्रचारप्रसारका कार्यक्रमका साथै तालसम्म जाने बाटो मर्मतसम्भार गरेको छ । पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको आलिताल संरक्षण र संवद्र्धन गर्न नसक्दा ओझेलमा परेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै ताल संरक्षणको काम अघि बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा आलितालमा डुङ्गा सञ्चालनका लागि विनियोजन गरिएको रु १२ लाख बराबरको बजेटमा पाँच डुङ्गा खरीद गरी सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका लागि आलितालमा डुङ्गा भित्र्याइएको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो “डुङ्गा तालको गहना हो । मनोरञ्जनका लागि तथा तालतर्फ आकर्षित गर्न डुङ्गा सञ्चालनमा ल्याइएको हो ।” समुद्री सतहबाट करीब ८०० मिटर उचाइमा महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको तालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करीब ४०० मिटर रहेको छ । तालमा महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ । सदरमुकामबाट झण्डै ६० किलोमिटर पश्चिम र कञ्चनपुरको बेतकोट भएर करीब ४५ किलोमिटरको कच्ची सडक बाटो प्रयोग गरी आलिताल पुग्न सकिन्छ ।

गाउँपालिकाले पहिलो वर्ष करीब रु ६० लाखको लागतमा आलितालसम्म सडकको स्तरोन्नतिको काम गरेको थियो । तालको चारैतिर करीब एक हजार ३०० मिटर पैदलमार्ग निर्माण गरिएको छ । तालका विभिन्न स्थानमा अवलोकन र थकाइ मार्नका लागि छहारी घर निर्माण गरिएका छन् । ताल क्षेत्रमा वनभोजका लागि भान्छाघर र तालको पानी निकासका लागि नाला निर्माण गरिएको छ । तालमा वनभोजका लागि अलग्गै व्यवस्था गरिएको छ । तालको स्तरोन्नतिका लागि आलिताल गाउँपालिकाले यस वर्ष गुरुयोजना निर्माण गरेको छ । तालको विकासका लागि राष्ट्रपति चुरे संरक्षण, राष्ट्रिय ताल विकास समिति, केन्द्र सरकार र प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो । रासस

LEAVE A REPLY