Home मुख्य समाचार ‘वाटर एटिएम’बाट पिउने पानी

‘वाटर एटिएम’बाट पिउने पानी

97
0
SHARE

काठमाडौँ, २१ फागुन । बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन मिल्ने भएको छ ।

नेपालमै पहिलोपटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा वाटर एटिएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्त एटिएमको खानेपानीमन्त्री बिना मगरले आज उद्घाटन गर्दै एटिएमबाट पानी झारेर पिउनुभएको थियो ।

काठमाडौँ उपत्यकाका २० स्थानमा वाटर एटिएम मेसिन जडान गरिनेछ । यस्तो प्रविधि नेपालमा पहिलोपटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले जानकारी दिनुभयो । वाटर एटिएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ ।

उक्त एटिएमबाट २०० मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । दुई सय मिलिलिटर पानीको मूल्य दुई र एक लिटर पानीको मूल्य १० राखिएको छ । उक्त एटिएममा दुई रुपैयाँको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटिएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था मिलाइएको छ ।

बोर्डले सुपिङ इन्टरनेसनल कम्पनीसँग सहकार्य गरेर नयाँ प्रविधि भित्र्याएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौतासमेत भएको छ ।

सो अवसरमा मन्त्री मगरले बाटोमा हिँड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटिएम सफल हुने विश्वास व्यक्त गर्दै पिउने पानीको गुणस्तरलाई ध्यान दिन बोर्डलाई निर्देशनसमेत दिनुभएको छ ।

LEAVE A REPLY