Home देश उपचारका लागि कोरियाबाट आर्थिक सहयोग

उपचारका लागि कोरियाबाट आर्थिक सहयोग

422
0
SHARE

 

डोटी, २२ फागुन । सायल गाउँपालिका–३ की पार्वती थापाको उपचारका लागि सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गर्भवतीसमेत रहेकी थापा गएको एक महीनाअघि घर नजिकैको भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । लडेर टाउकोमा गम्भीर चोट लागेकी उहाँको उपचारका लागि आफन्तले ‘पार्वती बचाउ’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियानअन्तर्गत सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका युवाले उपचारका लागि रु एक लाख ४८ हजार २११ सङ्कलन गरेर उहाँका श्रीमान् हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।

कोरियाबाट पठाएको रकम डोटीका अग्रज पत्रकार शङ्कर थापाले उहाँलाई शिक्षण अस्पताल काठमाडौँमा हस्तान्तरण गर्नुभएको हो । सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । कोरियामा बस्दै आएका वीरबहादुर जोरा, छत्र पनेरु, दिलबहादुर मडै, भक्तराज भट्ट र पुष्प ओझाको अगुवाइमा रकम सङ्कलन गरिएको हो ।

उक्त अभियानमा ६९ ले सहयोग गरेको वीरबहादुर जोराले जानकारी दिनुभयो । दिपायलमा जारी प्रादेशिक महोत्सवमा समेत पार्वतीका लागि सहयोग रकम सङ्कलन गर्ने अभियान शुरु गरिएको चेम्वर अफ कमर्स डोटीका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो ।

बादी समुदायलाई नगरपालिकाले जग्गा किन्ने

दिपायलमा रहेका बादी समुदायलाई बास बस्नसमेत घरबास नभएपछि दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा किन्ने भएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल क्षेत्रमा रहेका बादी समुदायको व्यवस्थित बसोबास गर्ने उद्देश्यले नपाले जग्गा किन्ने भएको हो ।

नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन बादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने नगरपालिकाको योजनाअनुसार जग्गा किन्ने तयारी भई प्रक्रिया अघि बढेको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बादी समुदायको व्यवस्थापनका लागि जग्गा किन्ने प्रक्रिया शुरु भइसकेको छ, केही समयमै भूमिहीन बादीले आफ्नै नामको जग्गा पाउनेछन् ।” नगरपालिकाले जमीन खरीद गरेपछि त्यसमा सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवन निर्माण गर्ने गरी काम अघि बढाइएको नपाका कार्यकारी प्रमुख भोजराज शर्माले बताउनुभयो ।

बादी समुदायका परिवार अहिले दिपायल सिलगढी–४ स्थित सेती प्राविधिक शिक्षालय नजिकै अस्थायी टहरा बनाएर बस्दै आएका छन् । उचित आवासको व्यवस्था, बालबालिकाका लागि शिक्षा, सीपमूलक तालीम, अपाङ्गता भएका व्यक्तिलाई विशेष व्यवस्था गर्नुपर्ने मागसहित बादी समुदायले नगरपालिकासमक्ष माग गर्दै आएका छन् । उनीहरु नाच्ने, गाउने, मादल बनाउने, माटाका भाँडा बनाउनेलगायत काम गरी जीवन निर्वाह गर्दै आएका छन् । जिल्लामा बादी समुदायका १०४ परिवार रहेका छन् ।
रासस

LEAVE A REPLY