Home ताजा समाचार व्यवहारिकरुपमै छुवाछुत अन्त्यका लागि मेची-महाकाली पदयात्रा

व्यवहारिकरुपमै छुवाछुत अन्त्यका लागि मेची-महाकाली पदयात्रा

607
0
SHARE

काठमाडौं, ३० फागुन । मुलुकमा जातीय छुवाछुत व्यवहारिकरुपमै अन्त्यका लागि १ चैतदेखि मेचीदेखि महाकाली पदयात्रा सुरू गरिने भएको छ । अभियन्ताद्धय होमराज आचार्य र अशोक दर्नालले भोलिदेखि शुरु गर्ने पदयात्रालाई सफल बनाउने उद्देश्यले आज ऐक्यबद्धता एवम् शुभकामना कार्यक्रमको आयोजना गरियो ।

विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको सहकारी उपलब्धि बहुउद्देश्यिय सहकारी संस्था लि.को आयोजनामा उक्त कार्यक्रममा भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले छुवाछुत अन्त्यकालागि आचार्य र दर्नालको पदयात्रा अभियान महत्वपूर्ण हुने बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका लेखासुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले छुवाछुतको कानुनीरुपमा अन्त्य भए पनि व्यवहारिक अन्त्य नभइसकेकोले ‘नेपाल पदयात्रा २०१९’ ले मेचीदेखि महाकालीसम्म जागरण फैलाउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले छुवाछुत अन्त्यकालागि सबैको मन मष्तिस्कबाट छुवाछुतको भावनालाई हटाउनुपर्ने र त्यसकोलागि पदयात्राकाक्रममा विभिन्न समुदायमा पुगेर फैलाउने जागरण महत्वपूर्ण हुने बताउनुभयो ।

त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष डी.बी. बस्नेतले अभियन्ताद्धयलाई शुभकामना दिनुहुदै दुई जनाबाट शुरु भएको अभियान सबै स्थानका सबै नागरिकमा पुर्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले छुवाछुत जस्तो अमानविय कार्यको अन्त्यकालागि पदयात्राका अभियन्ताद्धयको साथमा सिंगो सहकारी क्षेत्र साथ रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय सहकारी बैंकका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीले सबै वर्ग जाती, समुदायमा भइरहेका हरेक छुवाछुत हटाउन गरिएको पदयात्राले यो अभियान लाखौं अभियन्ता जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवम् हरेकपल डट कमका प्रधानसम्पादक पुरुषोत्तम दाहालले नेपालको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, जातीय क्षेत्रलगायतमै उपेक्षा झेलिरहेको छुवाछुतको मुद्धा अहिले पनि राष्ट्रियरुपमा अदृष्यनै रहेको बताउदै त्यसको अन्त्यकालागि मुलुकका सबै नागरिकको मन मस्तिष्कबाट छुवाछुत र दलित भन्ने भावनालाई हटाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अभियन्ताद्धयलाई उहाँहरुले लगाएको टि–सर्टमा हस्ताक्षर गरेर अतिथिहरुले ऐक्यबद्धता र शुभकामना दिनुभएको थियो । त्यसैगरी नेपालको सहकारी अभियानको उच्च निकाय राष्ट्रिय सहकारी महासंघको तर्फबाट धर्मदत्त देवकोटा र नेपालको सहकारीको नीतिगत निकाय राष्ट्रिय सहकारी विकास बोर्डका तर्फबाट चक्रबहादुर पराजुलीले अभियन्ताद्धयलाई फुलको माला लगाइदिएर पदयात्रा शुभारम्भको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपलब्धि बहुउद्देश्यिय सहकारी संस्था लि.का योजना तथा विकास उपसमितिका संयोजक विपिन शर्माले उपलब्धि सहकारीका सदस्य होमराज आचार्य र अर्का अभियन्ता अशोक दर्नालले जातिय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यकोलागि गर्ने नेपाल पदयात्राले छुवाछुत अन्त्यकालागि नयाँ मोड ल्याउने बताउनुभयो । कार्यक्रम उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष कविता कोइराला खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने

आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अभियन्ताद्धय होमराज आचार्य र अशोक दर्नालले सो जानकारी गराएका हुन् । जातीय छुवाछुत अन्त्यका लागि पदयात्रा गर्न लागिएको अभियन्ता दर्नालले बताए ।

‘नेपाल सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणामार्फत जातीय भेदभाव र छुवाछुत अन्त्यको घोषणा गरेको छ, नेपालको संधिान २०७२ ले जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराधको मानिसकेको छ,’ दर्नालले भने ।

तर आजसम्म पनि सरकार र राजनैतिक दलहरुको कमजोर इच्छाशक्तिका कारण समाजमा जातीय भेदभाव र छुवाछुतका घटनाहरु भइरहेका उनको दाबी छ ।

देशका हरेक कुनाकुनामा जागरण फैल्याउन पश्चिम महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने छ । देशका विभिन्न स्कूल, कलेज र स्थानीय जनप्रतिनिधिसँग सरकारी निकायसँग छलफल कार्यक्रम समेत गरिने अर्का अभियन्ता होमराज आचार्यले बताए ।

देशभरका वर्ग, समुदाय, जातजातिले हरेक प्रकारको छुवाछुतको अन्त्य गर्न आफूबाट शुरु गर्नुपर्छ भन्ने जागरण फैलाउने गरी अभियान रुपमा पदयात्रा गर्न लागेको अभियन्ता आचार्यले बताएका छन् । अभियान्ताहरु ६५ जिल्लाको पदयात्रामा निस्कन लागेका छन् ।

आफ्नो घर छिमेकबाट परिवर्तन नगरेसम्म कानुनका ठेलीले मात्र छुवाछुत जस्तो अमानवीय कार्यको अन्त्य नहुने देखेर मेची–काली पदयात्रा सुरु गरिएकोे उनीहरुले बताएका छन् । ‘पदयात्राका क्रममा हरेक समुदाय र वस्तीहरुमा हजारौं नागरिकसँग भेट्ने छौं, सबैलाई सामेल गरेर अघि बढ्ने हाम्रो अभियान हो,’ उनीहरुले भने । उनीहरुको यो अभियान दुई अभियन्ताको व्यक्तिगत पहलमा हुन लागेको बताइएको छ ।

LEAVE A REPLY