Home कला/साहित्य पत्रकारिता, प्राध्यापन र राजनीतिका त्रिवेणी

पत्रकारिता, प्राध्यापन र राजनीतिका त्रिवेणी

298
0
SHARE

-विनोद दाहाल-

यसपटक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग अन्तरंग गर्ने तय भयो तर समय छोटो थियो । अन्तिम घडीमा मात्र भेट हुनसक्यो । शनिबार छाप्नुपर्ने सामग्री बिहीबार रातिसम्म पनि तयार हुन सकेको थिएन । फोनमा कुरा भएअनुसार म बिहीबार साँझ सात बजे उनकोमा पुगेँ तर उनी पोखराबाट फर्र्किंदै रहेछन्, बाटामै छु भने । एक घण्टापछि उनी आइपुगे ।

छोरी अनुषाको आर्किटेक्ट इन्जिनियरिङको स्नातक दीक्षान्त सकेर उनी पोखराबाट आउँदै थिए । आउनासाथ भित्र पसेर थकाइको समेत पर्वाह नगरी थपक्क सोफामा बसे । हाम्रो अन्तरंग सुरु भयो । आठ बजेबाट चियासँगै झन्डै एक घण्टा विविध विषयमा कुरा भयो ।

पुरुषोत्तम जानेमानेका वरिष्ठ पत्रकार र लेखक–साहित्यकार हुन् । यतिले मात्र उनको परिचय अपूरो हुन्छ । उनी नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक पनि हुन् । अझै पनि उनको परिचयले पूर्णता पाउँदैन । उनी राजनीतिक विषयका जानकार हुन्, राजनीतिक विश्लेषक हुन् । मैले चिनेका पुरुषोत्तम नदीका यी तीन भँगालोका त्रिवेणी हुन् ।

त्यो समय थियो, काठमाडौं खाल्डोलाई नेपाल भनिन्थ्यो । त्यही खाल्डोमा दुर्गम ओखलढुंगा बिगुटारका रत्नप्रसाद दाहाल पढाइका सिलसिलामा आइपुगेछन् । शिवपुरी बाबाको आश्रममा रहेर उनले संस्कृत भाषा अध्ययन गरेर गाउँ फर्किए । गाउँमा सबैले उनलाई ‘नेपाले पण्डित’ भने । गृहस्थ सन्त स्वभावका उनै नेपाले पण्डित अथवा रत्नप्रसाद दाहाल र टुककुमारी दाहालका नौ सन्तानमा पुरुषोत्तम दोस्रो सन्तान र पहिलो छोरा हुन् ।

पुरुषोत्तम आफूलाई विपन्न पारिवारिक स्थितिबाट आएको मान्छे भन्छन् । उनी आफ्नो त्यो विगत निर्धक्क स्वीकार्छन् । घाँस, दाउरा र वस्तुभाउ त्यहाँको यथार्थ थियो । उनी पनि त्यसैगरी हुर्के । असल संस्कार र असल चरित्र भने माता–पिताबाट घरमै सिके । आफ्नो संस्कारलाई नै उनले सम्पत्ति माने, आफ्नो गौरव ठाने ।

आफ्ना बाबुझैँ उनी पनि पढाइको तृष्णा बोकेर ०२७ सालमा कच्चा किशोर वयमा काठमाडाैं हानिए एकजना अग्रजको पछि लागेर । यो विरानो यो ठाउँमा आफ्नो भन्ने कोही थिएन ।

काठमाडौंमा उनले मजदुरी गरे, उनी भान्से बसे । त्यो विगत जीवनको यथार्थ हो भन्छन् उनी । त्यहाँबाट यहाँसम्म आइपुगे, यसमा उनलाई त्यो विगतप्रति पनि गौरव छ । उनका समकालीन धेरै अवस्था उस्तै हो जस्तो लाग्छ उनलाई तर सबै उनकै जसरी खुलाउन चाहँदैनन् । यसलाई उनी भिन्न–भिन्न मानवीय स्वभाव भन्छन् । जीवन संघर्षशील छ । जीवनको ६० वर्ष संघर्षमै बिते, अझै जारी छ ।

काठमाडौं आउँदा उनको कुनै सपना थिएन । उनको त्यो दुर्गम गाउँले उनलाई कुनै सपना दिएको थिएन । मनमा थियो त एउटै कुरा– पढ्नुपर्छ भन्ने चेत । पढेर के हुन्छ त्यो पनि थाहा थिएन, यति थाहा थियो– पढ्नुपर्छ ।

पुरुषोत्तम दाहाल आज जे छन् आफ्नै लगनशीलता र मिहिनेतले छन् । उनका प्रेरणा पिता हुन्, आफ्नै माता हुन् । त्यसपछि उनका गुरुहरू जसले सिकाए, पढाए ।

प्रारम्भिक चरणमा अक्षर चिनाउने गुरु पुण्यप्रसाद दाहाल, पत्रकारिता सिकाउने चन्द्रलाल झा, अभियान पत्रकारितामा होमनाथ दाहाल र व्यावसायिक पत्रकारितामा किशोर नेपाललाई उनी आफ्ना गुरु मान्छन् । शुकदेव पौडेल, डा. ऋषिराम पोखरेल जसले उनलाई प्राध्यापन क्षेत्रमा ल्याए, ती झन् बिर्सिनसक्नु छन् ।

कौशलराज रेग्मी र सौभाग्यजंग कार्की थिए । दुवै अहिले दिवंगत भइसके । तिनैले पुरुषोत्तमलाई राजनीतिशास्त्रका शिक्षक बनाएर त्रिचन्द्र कलेज पुर्याए । साहित्यमा शिव अधिकारीले उनलाई डोहोर्याए र बडाबाका छोरा दाजु ढुण्डिराजले उनलाई हात समातेर हिँड्न सिकाए । बाँकी आफूलाई ‘सेल्फमेड’ भन्छन् पुरुषोत्तम ।

पुरुषोत्तम राष्ट्रिय सञ्चारमाध्यम ‘राष्ट्रिय समाचार समिति’ को अध्यक्ष तथा महाप्रबन्धक भए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र पूर्णबहादुर खड्का गृहमन्त्री छँदा सरकारको मिडिया सल्लाहकार भए । हाल उनी विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक छन् ।

यसअघि, पुरुषोत्तमले नेपाल टाइम्स, चेतना, राष्ट्रपुकार लगायतका पत्रिकामा पत्रकारिता गरे । निरंकुश पञ्चायतकालमा आफैँ सम्पादक भएर ‘नेपालवाणी’ साप्ताहिक पत्रिका चलाए । ०४६ सालको राजनीतिक परिवर्तनपछि रेडियो नेपालबाट राजनीतिक घटना र विश्लेषणप्रधान ‘घटना र विचार’ कार्यक्रम सुरु भयो । यो कार्यक्रमका प्रमुख उनै पुरुषोत्तम थिए । यही कार्यक्रममा प्रसारित ओजपूर्ण आवाज र राजनीतिक घटनाको सशक्त विश्लेषणले उनलाई साँच्चैका पुरुषोत्तम दाहाल बनायो । लोकप्रियताको शिखरमा पुर्यायो ।

०५८ सालमा राष्ट्रिय दैनिक पत्रिका राजधानी सुरु भयो जसका संस्थापक सम्पादक उनै पुरुषोत्तम थिए । कहालीलाग्दो दरबार हत्याकाण्डको आसपास र सशस्त्र द्वन्द्वको चरम कालमा सुरु भएको ‘राजधानी’ मा उनको दक्षताको अर्को शिखर देखियो ।

उनी मनाङ र मुस्ताङबाहेकका सिंगो देश घुमेका छन् । नौवटा देशको भ्रमण गरेका छन् । उनका एकल र सहलेखन गरी आठवटा पुस्तक प्रकाशित छन् । ‘मेरो पत्रकारिता’ उनको चालीस वर्षको पत्रकारिताको अनुभव हो । दोस्रो संस्करण हालै प्रकाशित भएको छ । उनका ‘साँध’ र ‘अन्धकारको यात्री’ कविता संग्रह छन्, ‘शिखर–वृत्त’ कथा संग्रह । ‘शान्ता’ उनको उपन्यास हो । हालै मात्र यसको अंग्रेजी संस्करण सार्वजनिक भएको छ । शान्ता उनकी धर्मपत्नी हुन् । शान्ताले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. गोविन्दप्रसाद शर्मालाई कलेजो दान गरेर बचाएकी थिइन् । उनी कलेजो दान गर्ने नेपालको पहिलो महिला हुन् । यही त्यागमा आधारित औपन्यासिक कृति हो ‘शान्ता’ ।

पुरुषोत्तम प्रखर राजनीतिक विश्लेषक मानिन्छन् । नेपालको वर्तमान राजनीतिक परिस्थिति जटिल बन्दै गएको देखेका छन् उनले । नेपाली कांग्रेसले नेपालमा भएका सबै परिवर्तनका लडाइँको नेतृत्व गरेको छ तर यतिबेला नेताहरूको वैयक्तिक कारणले पार्टी निकै पछाडि धकेलिएको छ । संगठनको तल्लो तहसम्म व्यक्तिवादी मतभेद पुगेको उनको ठम्याइ छ । व्यवस्थापनको कौशल उनले देखेका छैनन् ।

साम्यवादका लागि बाटो खन्न चाहने शक्ति अहिले सत्तामा छ तर त्यसमा कसैको पनि विश्वास छैन भन्छन् उनी । नाम, झन्डा र लक्ष्य परिमार्जन र परिष्कृत गरी शासन चलाउने हो भने जसले चलाए पनि हुन्छ । साम्यवाद लोकतन्त्रविरोधी विचार हो । लोकतन्त्रविरोधी शक्तिलाई लोकतन्त्रवादी जनताले जिताए । पुरुषोत्तमलाई यो अलिक अनौठो लागेको छ । यसले नेपालको भोलिको राजनीतिमा ठूलो समस्या आउनसक्ने उनलाई लागेको छ ।

नेपाली कांग्रेस जनतासम्म पुग्नसक्यो भने यसले राम्रो गर्नसक्छ भन्ने उनलाई लागेको छ । साम्यवादीहरू सच्चिनुपर्ने तर्क छ उनको नत्र यो सत्ताको मौकाले बिगार्न सक्छ ।

संघीयताबारे नकारात्मक छैनन् पुरुषोत्तम । संघीयता देश जोड्ने कसी हो । यसको राजनीतिक स्वरूपको मात्र कल्पना गरियो आर्थिक रूप सोचिएन । कमजोरी यहीँनेर भएको उनको तर्क छ । संघीयतामा स्थानीय, प्रादेशिक र संघीय गरी तीनवटा सरकार छन् । यिनले स्रोत दोहन नागरिकबाटै गरिरहेका छन्, यो यसको नकारात्मक पक्ष हो । संघीयता राष्ट्र तोड्न होइन जोड्न हो तर अर्थ अनेक लगाउन थालियो । तोड्न खोजेको हो भने गलतै भयो नत्र संघीयता राम्रो पद्धति हो भन्ने उनको तर्क छ ।

यो पद्धतिमा जनताले सेवा पाएनन् भने फरक ढंगबाट सोच्ने दिन आउन सक्छ । यसको व्यवस्थापन कसरी हुन्छ, भविष्य त्यसमै भर पर्छ भन्ने पुरुषोत्तमलाई लागेको छ । पद्धति आफैँमा खराब होइन । उनले विदेशमा कतै संघीयता राम्ररी चलेको अनि कतै नचलेका केही दृष्टान्तहरू पनि अघि सारे । यसको मूल्यांकन कामका आधारमा हुनेछ भन्छन् पुरुषोत्तम ।

अहिलेसम्म पञ्चायत रहिरहेको भए शिक्षा, यातायात र सञ्चारका क्षेत्रमा यही गतिमा विकास हुन्थ्यो होला त ? हुन सक्दैनथ्यो भन्छन् पुरुषोत्तम । उनी जहिले पनि पञ्चायती व्यवस्थाकै विरोधमा लागे । यही निहुँमा जेल भोगे । त्यो निर्दलीय व्यवस्था थियो । एकदल वा निर्दलमा प्रजातन्त्र हुँदैन । त्यसैले पञ्चायतले यो रफ्तारमा विकास गथ्र्यो भनेर उनी कल्पना गर्न सक्दैनन् । सभ्य मानिसले यसरी सोच्न नसक्ने उनको भनाइ छ । भन्छन्, ‘क्रमिक रूपमा हुने विकासहरू हुन्थे होलान् तर यति हुँदैनथ्यो ।’

पुरुषोत्तमका विचारमा ०४६ को राजनीतिक परिवर्तनले विकास योजनाहरूमा निकै ठूलो प्रभाव पा¥यो । विकासको जग त्यति बेलाकै हो । सम्पन्न र विपन्नको समन्वय भने हुन सकेन । अझै भएको छैन । यसलाई उनले ठूलो समस्या मानेका छन् । उनी सानो कक्षामा छँदा वामपन्थीबाट प्रभावित थिए । क्रमशः उनको विचार बदलिँदै गयो । त्यो गलत बाटो रहेछ भन्ने बुझे । वैचारिकरूपमा उनी बिपी कोइरालालाई सम्मान गर्छन् । राष्ट्रिय अडान र नेपालको राजनीतिको विश्लेषण गर्न बिपी सफल भए तर सत्ताको राजनीतिमा उनी असफल नेता हुन् भन्छन् पुरुषोत्तम ।

कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालाई पनि उनी फरक–फरक समय र स्वभावका नेताका रूपमा सम्मान गर्छन् । गिरिजाप्रसाद विचार केन्द्रित र सत्ताको राजनीतिमा सफल नेता थिए । पुरुषोत्तम आफूलाई मूल्यमान्यतापरक र व्यवहारपरक राजनीतिको नजिक रहेको ठान्छन् । मूल्यको राजनीति गर्नुपर्छ भन्ने उनको धारणा छ । सिद्धान्तलाई व्यवहारमा उतार्न चाहिँ सत्ता नै चाहिन्छ भन्छन् उनी ।

प्राध्यापन, राजनीति र पत्रकारितामध्ये एउटा रोज्नुपर्यो भने ?

पत्रकारिता नै रोज्छु भन्छन् पुरुषोत्तम । यो उनको सुरुवाती पेसा हो, त्यसैले उनलाई प्रिय लाग्छ । अहिले पनि उनी लेखन र सम्पादनका काममा छन् । केही पत्रपत्रिकामा स्तम्भ लेख्छन् । ‘हरेकपल डटकम’ का सम्पादक छन् ।

यसपछि उनी प्राध्यापन रोज्छन् । यो रोजगारी हो उनका लागि । त्यसपछिको उनको रोजाइ लेखन हो । भन्छन्, ‘राजनीति मेरो प्राथमिकतामा छैन ।’ आफूमा राजनीतिक स्वभाव नरहेको उनको स्वमूल्यांकन छ । त्यसैले राजनीति उनको अन्तिम प्राथमिकता हो । साम, दाम, दण्ड र भेदको राजनीति उनी चाहँदैनन् ।

पछाडि फर्केर हेर्दा कस्तो लाग्छ ?

जे भयो ठिकै भएको छ भन्छन् पुरुषोत्तम । अनेक घटनाहरूबाट उनले शिक्षा ग्रहण गरे । ‘तीमध्ये विगतका कति अवस्था त सकसपूर्ण पनि थिए तर तिनैबाट सिकेर यहाँसम्म आइपुगेको छु,’ उनी भन्छन् ।

अब जागिरबाट निवृत्तिको संघारमा छन् उनी । उनीसँग त्यसपछिका योजनाहरू पनि छन् । लेखन उनको प्राथमिकतामा पर्नेछ । भन्छन्, ‘मस्तिष्क र हातले साथ दिउँन्जेल लेखिरहनेछु ।’ अधुरा लेखनहरू पूरा गर्ने योजना छ । कुनै राजनीतिक मिसन छैन ।

‘इमानदारीपूर्वक श्रम गर्नुपर्छ, विवेक मार्नुहुँदैन, मानिस जति विद्वान् होस् विवेक म¥यो भने त्यो पशुसमान हुन्छ, जुन क्षेत्रमा भए पनि मानिसमा विवेक हुनुपर्छ,’ भावी पुस्तालाई उनको सन्देश छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेथे, ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।’ यस्तै विवेकलाई सर्वोपरी ठान्नुपर्ने विचार व्यक्त गर्दै पुरुषोत्तमले कुराको बिट मारे ।

LEAVE A REPLY