Home कला/साहित्य निरन्तर शनिबारमा ज्ञानुवाकर पाैडेल

निरन्तर शनिबारमा ज्ञानुवाकर पाैडेल

111
0
SHARE

काठमाडाैं, २३ चैत । निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यस पटककाे शृङ्खलामा अतिथिका रूपमा वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेललाई निम्त्याइएकाे थियाे । कार्यक्रममा बाेल्दै पाैडेलले आफ्नाे गजल यात्राका राेचक अनुभूतिहरु सुनाउनु भयाे । तिसकाे दशकबाट गजल लेख्न थालेकाे कुरा बताउँदै उहाँले सुरुमा गजल लेख्दा यस्ताे पनि गजल हुन्छ र ? भनेर केहीले प्रश्न गरेकाे कुरा सम्झनु भयाे ।

नेपालमा अहिले गजलकाे माहाेल निकै बढेकाे भए पनि दक्षिण एसियाका अन्य देशकाे दाँजाेमा पुग्न नसकेकाे धारणा व्यक्त गर्नु भयाे। नेपाली गजलकाे पुन:जागरण कालमा कवि-आख्यानकारहरुकाे भिडमा गजल लेख्नेहरु औंलामा गन्न पनि नपुग्ने अवस्था रहेकाे स्मरण गर्दै अहिले गजल लेख्नेहरुकाे लहर देखेर खुसी लागेकाे बताउनु भयाे । केहीले बहरकाे हाउगुजी देखाएर नयाँ पुस्तालाई अलमल्याउन खाेजेकाे भए तापनि नयाँ पुस्ता नअल्मलिएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयाे ।

गजलमा काव्यात्मकता मुख्य तत्त्व भएकाे भन्दै शास्त्रीयताकाे मापन बाेक्राका आधारमा हैन गम्भीरताका आधारमा हुनु पर्ने जिकिर गर्नु भयाे । काव्य सिर्जनामा प्रतिभा जत्तिकै अभ्यास पनि आवश्यक भएकाे भन्दै आफू पनि निरन्तरकाे अभ्यासका कारण यहाँसम्म आइपुगेकाे कुरा बताउनु भयाे। मन्तव्यपछि पाैडेलले करिब एक दर्जन गजल र मुक्तकहरु सुनाएर सहभागिलाई मन्त्रमुग्ध पार्नु भएकाे थियाे । कार्यक्रममा सुदर्शन शर्मा, इन्द्र लम्साल, पूर्णिमा प्रतिबिम्व, काशीराम बजगाई, सुनिल शर्मा, साेझाे गाउँले लगायतले आआफ्ना रचना(कविता, गीत, गजल, मुक्तक)हरु सुनाएका थिए ।

बिहानकाे हावाहुरी र वर्षातका कारण कार्यक्रममा स्रष्टाहरुकाे न्यून उपस्थिति थियाे । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएकाे थियाे र उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएकाे थियाे ।

LEAVE A REPLY