Home मुख्य समाचार नयाँ साल, नयाँ अपेक्षा-राजनीतिक संक्रमणकालको अन्त्य आवश्यक

नयाँ साल, नयाँ अपेक्षा-राजनीतिक संक्रमणकालको अन्त्य आवश्यक

3156
0
SHARE

-हरिविनोद अधिकारी-

नेपाली आँगनमा नयाँ वर्षको सूर्य झुल्कियो र फेरि नयाँ वर्षको सुरुवात भयो । संसारमा मनाइने नयाँ वर्षमा विक्रम सम्वतले संसारभरि नै प्रभाव पारेको छ किनभने यो सम्वत मान्नेहरु संसारभर छरिएका छन् । नेपाल र भारतमा त यसैको आधारमा विवाह, ब्रतबन्ध र धार्मिक तथा साँस्कृतिक परम्परा मनाइन्छ ।

प्रत्येक वर्ष भित्तेपात्रोका पानाहरु पल्टिन्छन् र एउटा वर्षको चक्र समाप्त भएर अर्को वर्ष सुरु हुनेगर्छ । यसपटक पनि त्यस्तै भएको छ । विक्रम सम्वतको २०७५ साल विदा भएर अर्को सौर्य वर्ष २०७६ सुरु भएको छ । एकहिसाबले त चान्द्रमासीय पद्धतिमा चैत्र शुक्ल प्रतिपदादेखि नै नयाँ वर्ष सुरु भएको मानिन्छ तर सौर्य मासका आधारमा वैशाख १गतेदेखि नै नयाँ वर्ष सुरु भएको हुन्छ ।

गएको २०७५ पनि औसत वर्ष रह्यो । खेतीपाती राम्रै रह्यो । केही कुरामा खास वर्ष पनि रह्यो । नेपालको इतिहासमा नै टोर्नाडो वा बबण्डर वा चक्रवात वा पूर्ण वायुको चपेटामा वारा र पर्साका केही भाग परे । भ्रष्टाचार निर्मूल गर्नका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय सदस्य राजनारायण पाठक स्वयं भ्रष्टाचारको सप्रमाण दोषमा पदबाट राजीनामा दिन बाध्य भए र अहिले विशेष अदालत धाउँदै छन् अख्तियारकै मुद्दामा । बहालवाला माननीय सँस्कृति , नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७जनाको हेलिकप्टर दुर्घटना परी मृत्यु भयो । दिनैपिच्छे जस्तो हुने बस, जीप, हवाइ दुर्घटनामा परी सैयौँ व्यक्तिको अकालमा मृत्यु भयो र कति अपाङ्ग भए । महेन्द्र नगरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या गरियो र आजसम्म उनका हत्याराको सुइँको सम्म पाउन सकिएको छैन ।

खासगरी राजनीतिक समस्याको समाधान भएर नयाँ संविधान आएको र त्यसबमोजिमका तीनओटा सरकारहरु कार्यान्वयनमा रहेकाले मुलुक अब समृद्ध र सुखी हुन थाल्ने कल्पना गरिएको थियो । मौलिक हकका केही कानुनहरु पनि बने तर ती कानुनमा मौलिक हकको प्रत्याभूति हुनेमा नागरिक समाज सशङ्कित छ अझै ।

राजनीतिक समस्यालाई समाधान गर्नका लागि निर्वाचनले आफ्नो मत व्यक्त गरिसकेकाले अब आर्थिक क्रान्ति गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य नै सबैको हुनुपर्ने भन्ने नेपाल सरकारको धारणालाई कसैले पनि नकारेको देखिँदैन तर गरिने व्यवहार भनेको दुई तिहाईको दम्भमा आधारित रह्यो भन्ने राजनीतिक व्यवहारले देखाएको छ । उदाहरणका लागि संवैधानिक परिषदमा हुने निर्णयमा पदेन सदस्यहरुको व्यवस्थामध्ये प्रमुख विपक्षी दलको नेता नभए पनि सरासर निर्णहरु हुँदै सँसदको सुनुवाइ समितिमा जान थालेको पाइन्छ । गरिएका निर्णयहरु पनि विवादास्पद भएका छन् । सँसदीय सुनुवाइ समितिमा दुई तिहाईले गर्ने भनेको निर्णयले पनि त्यही देखाउँछ । २०७५ सालमा नै सँसदीय सर्वोच्चताका दुईओटा प्रक्रिया नमुनाका लागि देखिए—सर्वोच्च अदालतका प्रधान न्यायाधीशको रुपमा सँवैधानिक परिषदको सिफारिसमा पर्नु भएका दीपकराज जोशीको नियुक्तिको अस्वीकार्यता र मुस्लिम आयोगका अध्यक्ष अन्सारीको सँसदमा सुनुवाइ नै नभई स्वीकार्यता । वास्तवमा दुईओटै प्रावधान संविधानबमोजिम नै भए पनि त्यसले भोलिका लागि दिएको सन्देश भनेको सँसदीइ सुनुवाइ किन जरुरी छ र भन्ने पनि हो । न्यायाधीशहरुको सम्मेलनको घोषणापत्रले त्यसलाई स्पष्ट भाषामा लेखिदिएको पाइयो ।

आखिर नेपालीहरु मिलेर नै नेपाल बनाउने हो । यसमा बाँदले मालिकका चरणहरु भाग लगाएको जस्तो गरी आफ्ना आफ्ना चरणमात्रैको सेवा गर्नेजस्तो होइन । सबैले नेपालको वारेमा चिन्तित हुने र नेपालको विकासका लागि लाग्नै पर्ने हो । सँविधानले दिएको अधिकारबाट पनि कसैलाई बाहिर पार्न सकिन्छ केही समय तर समय बलवान छ र समयले हिसाब राख्न थालेपछि हिसाब बुझाउन पनि समय पाइँदैन । यो कुरा हिजोको नेपालको इतिहासले पनि स्पष्ट पारेको छ ।

मुलुक नयाँ प्रजातन्त्रको सेरोफेरोमा घुमिरहेको छ । सँसदीय व्यवस्थालाई हामीले स्वीकार गरेका छौँ । यदि यो सँसदीय व्यवस्थालाई हामीले सर्वस्वीकार्यरुपम कार्यान्वयन गर्न सक्यौँ भने साँच्चै नमुनाको प्रजातन्त्र भनेर नेपाली शासन प्रणालीलाई विकास गर्न सक्छौँ तर बहुमतको दम्भ र नजानेको विषयमा पनि पाण्डित्य छाँट्न थाल्यौँ र आफ्ना आफ्ना अर्थ लगाएर प्रजातन्त्रलाई भीडतन्त्रको रुपमा बिकसित गर्न थाल्यौँ भने पक्कै नै यही नमिल्दो प्रणालीले हामीलाई घरको न घाटको बनाउने छ । यसमा सत्तापक्ष र प्रतिपक्षको मात्र कुरा होइन, नागरिक समाजको पनि त्यत्तिकै जबाफदेही हुन्छ । ४. अहिलेको समसामयिक विश्वमा सँसदीय प्रजातन्त्रको विकल्प देखिँदैन तर सँसदीय सर्वोच्चताको नाममा सँसदलाई नै बदनाम गर्नेगरी अपारदर्शिता , अनुत्तरदायी र जनताप्रति उदासीन शासकहरुको रजगज हुन थाल्यो भने जनता आफ्ना दुखेसो लिएर जब आन्दोलन गर्नेछन्, त्यो बेलामा त्यसको नेतृत्व जब भीडले लिनेछ, त्यो बेलामा समस्या हुनेछ । त्यो बेलामा जनताले सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजन गर्ने छैनन्, त्यो बेलामा आफूले मत दिएर पठाएका सबै प्रतिनिधिहरु र देखिएका दलहरुसँग जबाफ माग्नेछन् सडकमा ।

त्यसैले गर्दा सत्तापक्षले समन्वय गर्दै प्रतिपक्षलगायत सबै राष्टिय दल तथा सँसदमा नभएका तर जनतामा जरो गाडिएका दलहरुसँग समन्वयमा बस्नेकाम त सरकारकै हो । मुलुक बिग्रियो भने सत्तापक्षको मात्र कमी मानिँदैन, प्रमुख प्रतिपक्षको पनि उत्तिकै हात हुन्छ भनेर मानिन्छ । सँसदीय व्यवस्था नै यस्तो गतिशील व्यवस्था हो जसमा कुनै पनि प्रकारको संशोधन गर्न पनि सकिन्छ र जनताको मतले दिने आदेशले मात्र जनतालाई शासन गर्न पाइन्छ । अधिनायकवादबाट उदारबाद र उदारबादबाट समाजवादको सृजनशील बाटोमा लैजान सक्ने मनचिन्ते व्यवस्था भनेको नै सँसदीय व्यवस्था हो भनेर धेरै भन्नुपर्ने पनि होइन । त्यही अनुभूतिले पनि नेपालको नयाँ संविधानमा त्यसको प्रावधान राखिएको हो ।

नयाँ वर्षका दिन हामी धेरै अपेक्षा गछौँ र संसारभरका सबै स्वाभाविक अस्वाभाविक लक्ष्यहरु पूरा हुनुपर्ने कल्पना गछौँ तर त्यसवारेमा कर्म कम गफ बढी गर्छौँ । एकातिर नेपाल आफ्नै खुट्टामा टेक्ने कुरामा विश्वस्त छौँ सँगै विदेशीसँग रोजगारीका लागि नम्र निवेदन गरिरहेका हुन्छौँ । आफ्नो देशमा उद्योग धन्धा खोल्ने कुरामा एक कदम अगाडि सर्ने कुरामा आफूलाई तयार गछौँ अनि आयातीत सामानको फेहरिस्त तयार गरेर भन्सार शुल्क बढाउने तिर लाग्छौँ ।

भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गछौँ अनि धेरै कुरामा अपारदर्शिताको नमुना प्रस्तुत गर्दै मेरो गोरुको बाह्रै टक्का भनेर अडान पनि लिन्छौँ । सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गर्दा नेपालमा अरु पनि बस्छन्, तिनको पनि नेपाल हो भनेर बिर्सिन्छाँै । गणितले मात्र मुलुक चल्दैन भन्दा सरकारमा बस्नेहरु रिसाउँछन् र मुखमुखे लागेको जस्तो गरी विरोधीहरुलाई तर्साउँछन् । समानता र समताको कुरा केही नागरिकहरुका लागि मात्र हो र समाजवादको पनि व्याख्या आफूले भनेको जस्तो मात्र हो भन्ने सत्ताधारीलाई गुमान छ । प्रजातन्त्रको नयाँ नयाँ परिभाषा सुरु हुन थालेको छ र अधिनायकवादको वारेमा बहस जुन हुन थालेको छ, त्यसको पनि अब छिनोफानो कसले कसरी गर्ने हो निक्र्यौल हुन बाँकी छ ।

२०७५सालमा देखिएका सबै नकारात्मक पक्षहरु यो नयाँ वर्षमा हराऊन् र आपसमा सबै मिलेर यो नेपाललाई समृद्ध बनाउनका लागि सबैको प्रयास जारी रहोस् । जीवनका सबैपक्षमा सकारात्मकता फैलियोस् र सम्पूर्ण नेपालीहरु जहाँसुकै रहेका भए पनि सुखी , समृद्ध , स्वस्थ र खुसी रहून। नेपाली राजनीतिमा देखिएको संक्रमणकालको पनि अन्त्य होस् । आपसमा मिलेर बस्नेखालको वातावरण बनाउन सरकार पनि सक्षम बनोस् । आगामी दिनहरु नेपालीका लागि शुभ हुन सकोस् । हार्दिक शुभकामना ।

र अन्त्यमा, नेपाल सबैको साझा हो । नेपालको विकास भएमा सबै नेपाली विकसित हुने हुन् । नेपाली नेपालीका विभेद गरेर र योग्यलाई योग्यताअनुसारको काम नदिएर विभेद भयो भने पक्कै पनि त्यसले जुन विद्रोह जन्माउने छ, त्यो कसैको लागि पनि अहितकर हुनसक्छ । यसवारेमा सत्तामा बस्नेहरुले बढी नै ध्यान दिनु जरुरी छ । प्रमुख प्रतिपक्षीले पनि जनताको आवाजलाई बेलैमा बुझ्न सकेन भने जनता सधैँ उसैलाई पर्खेर बस्छन् भन्ने भ्रम पनि नपाले हुन्छ । जनता भनेको जनार्दन हो र भगवानको रुपपमा राजनीतिमा जनताले नै निर्णय गर्ने हुन् प्रजातन्त्रमा ।

LEAVE A REPLY