Home मुख्य समाचार ढुंगा प्रहारको राजनीति

ढुंगा प्रहारको राजनीति

119
0
SHARE

-पुरुषोत्तम दाहाल-

एकपटक तत्कालीन प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादीका सुप्रिमो पुष्पकमल दाहालले उग्र जातिवादी समूहलाई सडकमा विद्रोह गर्न सुझाव दिएका थिए। परिणाम– ‘बाहुनलाई काशी, क्षत्रीलाई फाँसी’ नारा सडकमा प्रादुर्भाव भयो। जातीय कलहको त्यो बीउ अहिले मत्थर छ। तैपनि केही अराजकतावादीको खेती अहिले पनि बाहुन क्षत्रीविरुद्ध चलिरहेको छ। क्षेत्रीयतावादी र जातिवादीहरूको समवेत स्वर नै देशमा हिंसा, अराजकता, जातीय घृणा र युद्धका कारण हुन्।

संसारको इतिहासमा यस्ता अनेक घटनाले आक्रान्त समाज छ। ठूलाले जे काम गर्छन् त्यो सर्वसम्मत हुन्छ भन्ने मान्यताबाट दीक्षित हाम्रो समाजमा ठूलाहरूको प्रभाव निश्चय पनि परेकै हुन्छ। हिजो त्यसरी आफूले जातीय नारा लगाउन उकासेकाहरू पुष्पकमलका लागि अहिले सहज छैनन् होला। संभवतः इतिहासको त्यो तीक्त प्रसंग स्मरण गर्ने रुचि उनमा देखिँदैन।

तर प्रधानमन्त्री केपी ओलीले साना नानीलाई सडकमा गएर ढुंगा प्रहार गर्न सन्देश दिए। यस्तो ढुंगा प्रहार कतै बगरमा पुगेर गट्टा खेल्नुजस्तो होइन। विरोधीका टाउकामा हान्ने उनको सन्देश हो। जसले सरकारविरुद्ध सडकमा आवाज निकाल्छन्, विरोध गर्छन्, चित्त नबुझेकामा आलोचना गर्छन् तिनमाथि ढुंगा प्रहार गर्ने सन्देश दिएका छन्।

एउटा सम्झना– म ६–७ कक्षामा पढ्दै थिएंँ। काठमाडौँमा अत्यन्त दुःख गरेर पढ्दै गरेको बालमस्तिष्कमा कम्युनिस्ट बन्ने उत्कट इच्छा जागेको थियो। लाग्थ्यो– कम्युनिस्ट भएमा सबैथोक प्राप्त हुन्छ। कसैको काम नगरी पढ्न पाइन्छ, भोक न भकारी, शोक न सुर्ता हुनेछ। यो समय झापा काण्ड भर्खर भएको थियो र त्यहाँंबाट भागेर आएका केही युवा काठमाडौँमा हामीलाई कम्युनिस्ट बन्न प्रशिक्षण दिन्थे। कुनै दिन, कुनै कलेजमा नेपाल विद्यार्थी संघले विद्यार्थी युनियनमा निर्वाचन जितेछ र पुतलीसडकमा जुलुस निकाल्ने तयारी गरेछ। त्यस समयमा पुतलीसडकमा पिच थिएन। रोडामात्र थिए। नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको भातृ संस्था भएको र चुनावमा विजयी भएको कुरा कम्युनिस्ट क्रान्तिकारीहरूलाई सह्य हुने कुरै भएन।

हाम्रा ती कम्युनिस्ट गुरुहरूले हामी केही भुरालाई गिट्टी झोलामा बोक्न लगाए। अनि पुतलीसडक पुगेर नेपाल विद्यार्थी संघको जुलुसमा प्रहार गर्ने आदेश दिए। जुलुस साँझमा निस्कँदै थियो। सडकमा बत्ती थिएन। वरिपरिका पातला घरमा पनि बत्ती त्यति हुँदैनथ्यो। अन्धकारमा गिट्टी प्रहार गर्नु अप्ठेरो थिएन। हामी कम्युनिस्ट शिक्षा लिन आतुर भुराहरू अत्यन्त खुसी हँुदै जुलुसमाथि प्रहार गर्न थाल्यौँं। अहिलेको शंकरदेव छेउछाउ चारैतिर छरिएर हामीले प्रहार गरेका ढुंगाको मारमा जुलुसका धेरै विद्यार्थी परे। उनीहरूको भागाभाग भयो। उनीहरूलाई के थाहा कि ती ढुंगा कुनै ठूला दुश्मनले प्रहार गरिरहेका छन् कि साना नानीले भन्ने। हाम्रा गुरुहरूका वर्ग दुश्मनलाई भगाएपछि हामी पनि गन्तव्यतर्फ भाग्यौँं। सौभाग्यवस, मैले कम्युनिस्टको संगत करिब ३ वर्षपछि परित्याग गरेँं। आफू मस्ती गरेर अरुलाई जोत्ने अनि बोल्न पनि नदिने सिद्धान्तको अनुयायी हुनु उपयुक्त लागेन।

मानिसको पहिलो माग स्वतन्त्रता हो। जीवनको अधिकार पहिलो सर्त हो। बोल्ने स्वतन्त्रता छिन्ने विचारको अनुयायी भएर जीवनभर आफूलाई कुनै दलविशेषको बन्दी वनाउने सिद्धान्त र मान्यता किन हो किन स्वीकार गर्न मन लागेन। सिद्धान्तमा समानता, आचरणमा विषमतावादीहरूसँग बस्नुको कुनै अर्थ देखिएन। माध्यमिक तहमा पुग्दा/नपुग्दै ढुंगा हान्न सिकाउने ती गुरुहरूले दिएको शिक्षा परित्याग गर्न पुगेँं। हामीलाई नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि ढुंगा प्रहार गर्न सिकाउने झापाली नै थिए।

त्यही झापा आन्दोलनको नेपथ्यका एक सदस्य हालका प्रधानमन्त्री केपी ओलीले विपक्षीमाथि ढुंगा प्रहार गर्न पुनः बालबच्चाको ध्यानाकर्षण गराएछन्। उनले त्यसरी झापा आन्दोलनपछि विपक्षीमाथि ढुंगा प्रहार गर्न दिइने शिक्षा पुनः स्मरण गरेछन्। के सरकार यति असहिष्णु भएर लोकतन्त्रको मानमर्यादा चल्छ ? लोकतन्त्रमा सरकार विनम्र हुन्छ र प्रतिपक्ष आक्रामक भए पनि अराजक हुनुहुँदैन। २०४८ सालको निर्वाचनमा विजयी भएको नेपाली कांग्रेस र यसले गठन गरेको सरकारलाई ३० दिनमा घुँडा टेकाउने उद्घोष गर्दै सडकका रेलिङ भाँच्नेदेखि उत्पात मच्चाउने काम प्रतिपक्षका अराजक हुन्। यो अराजक क्रम लामो समय चल्यो। माओवादीले त नेपाली कांग्रेसविरुद्ध हिंसात्मक आक्रमण नै गरेको सबैलाई अनुभव छ। हिंसाका क्रममा माओवादीका तर्फबाट एमालेका करिब २ सय मारिएका थिए भने नेपाली कांग्रेस समर्थक र सदस्य ४ हजारभन्दा बढी मारिए। अराजकताको यो शृंखलाको दियो अझै निभिसकेको छैन।

माओवादीकै नाममा नेत्रविक्रम चन्द (विप्लव) ले जगाउने प्रयास गरिरहेका छन्। झापा काण्डमा ओलीको योगदान कति थियो, स्पष्ट छैन। झापा आन्दोलनका एक शीर्ष राधाकृष्ण मैनालीका अनुसार ओलीको कुनै योगदान देखिँदैन। मैनालीको चर्चित पुस्तक ‘नलेखिएको इतिहास’ मा उनले ओलीको भूमिका देखेका छैनन्। तर ओली सबैभन्दा लामो समय जेल बस्नेमध्ये एक हुन्। शायद उनको योगदान जेलमा लामो समय बस्नु नै जस्तो देखिन्छ। उनीजस्तै गरी मोहनचन्द्र अधिकारी जेलमा लामो समय बसेर अहिले साम्यवादी आन्दोलनसँग विरत भएका छन्।

उनलाई एकताका नेपालका नेल्सन मन्डेलासमेत भनियो। अब साम्यवादी सिद्धान्तप्रति उनमा कुनै आकर्षण छैन। हुन त मैनालीले त्यो कितावमा माधव नेपालबारे सार्वजनिक गरेका धारणाले एकपटक एमालेवृत्तमा भूकम्प नै गयो। २०४६ को जनआन्दोलनमा भारतीय सेनाको सहयोग लिनुपर्ने र उनीहरू त्यस्तो सहयोग दिन तयार रहेको माधव नेपालको तर्क मैनालीले प्रस्तुत गरेका छन्। तर यो विषय मदन भण्डारीको कठोर अडानका कारण सेलायो। भण्डारी यस्ता तर्कसँग कुनै पनि हालतमा सहमत भएनन्।

यसरी हेर्दा ओलीले झापा काण्डका कतिपय पक्ष अनुभव गर्न नपाएका देखिन्छ। क्रान्ति र संघर्षको मैदानमा कुनै अहं भूमिका स्थापित नभए पनि उनले १४ वर्ष जेल बस्नु आफैँमा महत्वपूर्ण मान्नुपर्छ। उनको यो योगदान नेपालको वर्तमान परिवर्तनको जगमा अरुको जस्तै स्वर्णाक्षरले लेखिनेछ। तर अहिले सरकारको नेतृत्वमा दोस्रो पटक पुगेपछि ओलीमा किन हो कुन्नि, उन्मत्त भैरव चढेको लाग्छ। उनी आफ्नै पार्टीका असहमत, आलोचकहरूप्रति खनिइ नै रहन्छन्, प्रतिपक्षविरुद्ध पनि उनका असहिष्णु शब्दहरू प्रहार भइरहेका हुन्छन्। शासनमा बस्नेहरू सहिष्णु नहुनुको अर्थ धेरै लाग्न सक्छन्।

पहिलो उनी सही काम गर्न नसकेपछि आउन सक्ने आलोचनालाई अन्यत्र केन्द्रित गर्न चाहन्छन्। हावादारी विषयमा नै मानिसको ध्यान गइरहेको हुन्छ। यसो गर्दा कसैले पनि भ्रष्टाचार रोक्न नसकेको, आफ्नै पार्टीका नेतालाई कार्बाही गर्न नसकेको, हत्या र बलात्कारका अभियुक्त पत्ता लगाउन नसकेको, राष्ट्रियताका मुद्दामा असफल भएको भन्ने गंभीर आरोपमा बहस गर्ने समय र अवसर पाउँदैन। एकप्रकारले हल्काफुल्का कुरा उठान गरेर प्रधानमन्त्री ओली सबैलाई अलमलाइरहेका छन्। शायद यो पनि कला हो मानिसलाई अर्कैतर्फ फर्काउने।

नव वर्षको सन्देशका क्रममा प्रधानमन्त्रीले एक वर्षका उपलब्धि चर्चा गरेका छन्। केही त सही होलान् नै। लगानी सम्मेलनलाई उपलब्धि मान्नुपर्छ तर परिणाम कस्तो हुन्छ भन्ने विचारणीय छ। अरु केही घोषणा र पूर्वनिर्धारित नियमित कार्य निष्पन्न भएका छन्। अरुले हेर्दा सामान्य भए पनि सरकारको नेतृत्वमा बस्नेका लागि ती असामान्य गणनायोग्य नै हुन्छन्। एक वर्षको फेहरिस्त दिँदा प्रधानमन्त्रीले होलीवाइन प्रकरणमा आफूले पाएको पुरस्कारको चर्चा गर्न बिर्सेछन्।

उनले पाएका पुरस्कारमाथि कमसेकम नेपालीले निरन्तर केही विचार गर्ने अवसर पाइरहनुपर्छ। आफ्नो मन्तव्यमा अरु नेताले समेत अनुशरण गर्नुपर्ने एउटा जानकारी उनले दिएका छन् आफ्नैबारे– प्रत्येक बिहान ६ बजे उठ्ने र राति १२ बजेसम्म काम गर्ने। अर्थात् प्रधानमन्त्री ओली करिब १८ घण्टा काम गर्दारहेछन्। उनले एक वर्षभित्र ३१४ वटा औपचारिक कार्यक्रममा सहभागिता जनाएछन्। तिनमा कति घण्टा उनले भाषण गरे त्यो थाहा भएन। तर नेपालका सबै पार्टीका नेताले ओलीको यस क्षमताको भने सम्मान गर्न सक्नुपर्छ। र, आमनेपालीले समेत।

तर ढुंगा बर्साउने राजनीति बच्चालाई सिकाउँदै जाने हो भने प्रधानमन्त्रीले नै कुनै दिन त्यो दुर्भाग्य क्षण भोग्नुपर्ने हो कि ? यसले स्वस्थ राजनीतिविरुद्ध षड्यन्त्र गर्नेहरूलाई नै सहयोग पुग्ने हो कि ? त्योचाहिँ बोल्नुअघि सोच्नु उचित हुनेछ।

LEAVE A REPLY