Home ताजा समाचार काँग्रेसको जागरण अभियान-प्रजातन्त्रको पक्षमा अनुवाद होस्

काँग्रेसको जागरण अभियान-प्रजातन्त्रको पक्षमा अनुवाद होस्

4405
0
SHARE

-हरिविनोद अधिकारी-

नेपाली काँग्रेसले राष्ट्रिय जन जागरण अभियान सुरु गर्ने भएको छ । २०७६साल बैसाख ११ गतेबाट सुरु हुने पहिलो चरणको जागरण अभियानले तीन चरण पार गर्नेछ । प्रजातन्त्रमा गरिने जन जागरणले प्रजातन्त्रका पक्षमा नयाँ नयाँ गति दिनसक्छ भन्ने उदाहरण संसारभर पाइन्छ ।

नेपाली काँग्रेसका वारेमा अब खासै परिचय दिनु जरुरी छैन आम जनतालाई तर किशोर तथा युवा वयका लागि भने यसको परिचय आवश्यक छ । त्यसो त नेपाली काँग्रेसका वारेमा स्वयं काँग्रेसमा भ्रम देखिन्छ । यसका सँस्थापकहरुले जुन दुःखले सँस्थाको जग बसाएका थिए , अब त्यसको रहल पहल बाँकी छ कि छैन भनेर घोत्लिने बेला भएको छ ।

ठीकै हो , नयाँ जागरणका लागि नयाँ समय छानिएको छ । तर जागरण केका लागि भन्ने विषयचाहिँ स्पष्ट भएको देखिँदैन । यो अहिलेको सरकारका विरुद्ध कि, महङ्गी , भ्रष्टाचारका विरुद्ध कि प्रजातन्त्र अन्यौलमा परेको र प्रजातन्त्रका विरुद्धमा सरकारले यो यो गरेको छ भनेर जनतालाई बिउँझाउनका लागि हो कि आफ्नै संगठनको पुनर्जागरणका लागि हो ?

भन्छन् मान्छेहरु —अर्कालाई चोर लगाउनु भन्दा पहिले आफ्नो खल्तीको धन सुरक्षित राख्नू । आफ्नो संगठन व्यवस्थित पार्नु पर्छ पहिले । एउटा काँग्रेस दुईओटा हुँदा र दुईओटा काँग्रेस एउटै भएदेखिको पार्टीको बेथितीलाई जसले जसलाई दोष लगाए पनि परिणामले देखाएकै छ कि पार्टी बेहालमा छ । काँग्रेस ९ ओटै सँसदहरुमा अत्यन्त अल्पमतमा छ ।

अरु त अरु, सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव राख्न पनि मत पुग्दैन । अहिलेसम्म कसका कारणले त्यस्तो शर्मनाक हार भयो भनेर कोही पनि जिम्मा लिँदैन । संगठनका कर्मेन्द्रिय तथा ज्ञानेन्द्रियहरुको अवस्था नाजुक छ । निर्वाचन हुँदैन , भएका निर्वाचनहरुमा दलको हस्तक्षेप हुन्छ र कार्यकारिणी गठन हुन सक्दैन । भ्रातृसँस्था, भगिनी सँस्था, शुभेच्छुक सँस्थाहरु महाधिवेशनमा झोला बाकेर कसैको पक्ष र विपक्षमा लाग्नका लागि मात्र भेला हुन्छन् । बुद्धिजीवीहरुको कुरा कसैले या त सुन्दैन या त कसैका पक्ष र विपक्षमा मात्र केन्द्रित हुने बानी छ ।

आपसमा एकता गरेर र एउटै एजेन्डामा जागरण अभियान सफल हुन्छ । जनताले नेपाली काँग्रेससँग धेरै अपेक्षा गरेका थिए, गरेका छन् र गरिरहने छन् तर जनताबाट टाढिने जस्तो व्यवहार देखिएकाले जनताले दण्ड दिएका हुन् भनेर मान्नुपर्छ । तर त्यसपछि पनि विपक्षीहरु काँग्रेस खोजिरहेका छन् व्यँग्यमा पनि, सदनमा पनि र सडकमा पनि । तर कतै पनि प्रभावकारी उपस्थिति देखिँदैन भनेर काँग्रेसप्रति आस्थावानहरु दिक्क भएका छन् । औपचारिक भाषण, वक्तव्य र प्रेस विज्ञप्तिभन्दा फरक व्यवहार छिनमै देखिन्छ । डाकेको केन्द्रीय वैठक विना निष्कर्ष या त स्थगित हुन्छ या त फेरि नबस्नेगरी हराउँछ । महासमितिको निर्णय विनै समापन हुन्छ अनि महासमितिका आदेशहरुका वारेमा विवाद सुरु हुन्छ केन्द्रीय बैठकमा ।

दोषारोपणले संगठन बन्दैन र एकता भनेको एकोहोरो चालले हुँदैन । पक्कै नै दुईओटा संगठन एउटै बन्दाको जोस अव बाँकी छैन र समीकरण पनि धेरै बदलिएको छ । तर लोभ र पापबाट नेतृत्वगण मुक्त छ भनेर जागरण गर्ने हो भने नयाँ नयाँ धारणा लिएर जनतासामु जानु पर्छ । काँग्रेस जनभित्रको सम्पत्ति शुद्धीकरण हुनेछ , हिजोका बेथितीको छानबिन हुनेछ र पार्टीभित्रैबाट भएका प्रजातन्त्र विरोधी गतिविधिको निराकरण हुनेछ भनेर भन्दैमा जनता पत्याउँदैनन्, त्यस्तै शुद्ध व्यक्तिहरुबाट आगामी दिनमा नेतृत्वको जिम्मा लिने कामको प्रत्याभूति हुनु जरुरी छ ।

आज प्रजातन्त्र, लोकतन्त्र, समाजवाद , साम्यवादको व्याख्या गर्न गाउँ जानु पर्दैन तर नेपाली काँग्रेसले इतिहासको जिम्मा पूरा गर्नका लागि केके गर्ने छ भावी दिनमा भनेर भन्नमात्र जागरण गर्ने हो , जुन कुरामा काँग्रेस आफैँभित्र स्पष्ट नभएको देखिन्छ ।

बुद्धिजीवीहरु काँग्रेसका पक्षमा लागेका पदका लागि भन्दा पनि सिद्धान्तका लागि हो । कसरी प्रजातन्त्रलाई बचाउन सकिन्छ भनेर त्यसको छहारीमा बस्न चाहेका हुन् । जनता पनि प्रजातन्त्रका पक्षमा कसरी हिजोका दिनमा लडेको थियो, त्यसको झझल्कोमा सदैव काँग्रेसप्रति अपनत्व देखाएका हुन् । दुःखका साथ भन्नुपर्छ, त्यस्तो बीपीको , गणेशमानको ,किसुनजीको पार्टी अहिले जुन किसिमले दायित्वभन्दा टाढा बसेर आफैँमा विवादास्पद भएको छ , त्यसले सर्वप्रथम दलभित्र नै जागरण ल्याउनु जरुरी छ ।

अब काँग्रेसजन जाँदैछन् जनजागरणमा भने जानैपर्छ । जनतालाई पहिले आफ्ना गल्तीप्रति माफी माग्दै फेरि पनि प्रजातन्त्र नगुमोस् भनेर जनताको साथ खोज्नुपर्छ । देसी विदेसीको षडयन्त्रबाट मुलुक एकपटक फेरि अन्यौल र संक्रमणमा छ जवकि सँसदमा दुई तिहाई मतको सरकार छ । आवश्यकता परेमा कुनै पनि बेला निर्वाचन हुन सक्ने आन्दोलन गर्न पनि तयार हुनुपर्छ भन्ने सन्देश आवश्यक छ ।

सर्वप्रथम ती ७७ जिल्लामा जाने प्रतिनिधिहरुका लागि के सन्देश जनतालाई छ भन्ने एउटै आवाज आवश्यक छ । आफ्नाबारेमा आउने जटिलतम प्रश्नहरुको जबाफ जनताले माग्दा मुख लुकाएर हिँड्ने वातावरण नबनोस् भन्नेमा पनि पार्टी सजग हुनु जरुरी छ ।
नेपाली काँग्रेस सबैको दल हो , त्यहाँ सर्वसाधारण जनताको पहुँच हुन्छ भन्ने जागरण दिनु जरुरी छ । २०७४को स्थानीय र सँसदीय निर्वाचनमा भएका गल्तीहरुको जबाफ जनताले माग्नेछन्, त्यसका लागि कसका कति गल्तीहरु हुन् , त्यसको निक्र्यौल नै नभई जनजागरणमा आउने प्रश्नका उत्तरहरु कसरी जनताले स्पष्ट र सिधारुपमा पाउलान्, त्यो पनि स्पष्ट हुनु जरुरी छ ।

अरु जे जे भए पनि, अब राजनीतिकरुपमा गल्ती नगर्ने र भएका गल्तीहरु नदोहोरिने प्रण गरियोस् । प्रजातन्त्रमा गल्ती सुधार गर्दै जनताको पक्षमा लाग्ने गुण हुन्छ जसलाई काँग्रेसले विना द्विविधा स्वीकार गर्न सकोस् ।

यतिचाहिँ पक्कै भन्न मन लागेको छ, यो जनजागरण कर्मकाण्डी पनि नहोस् र जनतामा अरु भ्रम बढ्ने गरी कच्चा खालको पनि नहोस् । गल्ती गर्दिन भन्न पाइन्छ तर गल्ती फेरि फेरि दोहोरिनु हुँदैन । जनतालाई , कार्यकर्ताहरुलाई जागृत गर्नु त सक्रिय र गतिशील दलको कर्तव्य भित्रै त पर्छ नि ।

LEAVE A REPLY