Home मुख्य समाचार भट्टराई र यादवको राजनीतिक प्रणय

भट्टराई र यादवको राजनीतिक प्रणय

230
0
SHARE

-पुरुषोत्तम दाहाल-

आजको परिवर्तनलाई संस्थागत गर्नकालागि लोकतान्त्रिक शक्तिबीच लय अनिवार्य छ र त्यो लय विकास गर्न कमसेकम साना दलहरूको एकताले मद्दत गर्नेछ। राजनीतिमा तरंग ल्याउनसक्ने प्रतिभा र पार्टी दुवैको अभाव खड्किरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवबीच राजनीतिक सहमति भएको छ। यस सहमतिलाई दुई दलबीचको राजनीतिक प्रणयका रूपमा मात्र होइन, यसले स्थायी र विश्वसनीय वैकल्पिक लोकतान्त्रिक ऊर्जा उत्पन्न गर्नसक्छ कि भनेर अपेक्षा बढाएको छ। डा. भट्टराई करिब ४ दशकसम्म अनवरत साम्यवादी आन्दोलनको सशक्त हिस्सा रहेको विगतलाई चटक्क छाडेर लोकतन्त्रको महासागरमा पौडी खेल्न थाल्नुभएको धेरै समय भएको छैन। नेपालको संविधान २०७२ जारी गरेको भोलिपल्ट नै उहाँंले साम्यवाद वा माक्र्सवादको औचित्य अन्त्य भएको घोषणा गर्नुभएको हो।

त्यसअघि नै साम्यवादी राजनीतिलाई तिलाञ्जली दिँदै लोकतन्त्रसँग तराई मधेसका समस्या जोडेर राजनीतिक जीवन आरम्भ गरेका उपेन्द्र यादवको लोकतान्त्रिक पृष्ठभूमि पनि धेरै पुरानो भएको छैन। माक्र्सवाद हिजोका दिनमा पनि कुनै महान् दर्शन थिएन। भौतिक द्वन्द्ववादको कमजोर व्याख्यामा आधारित माक्र्सवादले धेरै प्रश्नको जवाफ दिन सकेको थिएन। आध्यात्मिक द्वन्द्ववाद शदियौँंदेखिको मान्यता हो। समाज विकासका विषयमा डार्विनको विकासवादी सिद्धान्तका आधारमा गरिएको परिकल्पना पनि निर्विवाद छैन। शुद्ध खान, लाउन र बस्ने प्रयोजनमा अल्मलिएको माक्र्सवादी राज्यसत्ता वर्ग संघर्षको चरम हिंसामा आधारित छ। व्यक्तिको शोषण अन्त्य गरी राज्यलाई शोषक बनाउने वर्ग संघर्षको अवधारणाले वर्गीय अधिनायकवादको कल्पना गरेको हुनाले पनि विकासशील मानव स्वभाव, मानव सभ्यता र संवेदनशील मानवीय चरित्रलाई यसले आत्मसात् गरेको छैन।

माक्र्सवादले मानव अधिकारविहीन राज्यसत्तामार्फत् विकसित समाजवादको परिकल्पना गरेको ठीक सय वर्षपछि वर्गीय अधिनायकवादी राज्य सत्ताविरुद्ध संसारमा आयामिक परिवर्तन भयो। माक्र्सवादको वर्ग संघर्ष, वर्गीय अधिनायकवाद, राज्यविहीन समाज, जात र धर्मरहीत समाजको दार्शनिक धारलाई अस्वीकार गर्दै सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको पनि करिब७० वर्ष पूरा भइसकेको छ। मानव अधिकारको विश्वव्यापी घोषणाले माक्र्सवादको अधिनायकवादी, एकाधिकारवादी वर्ग संघर्षको बाटोलाई पूर्णतः निषेध गर्ने काम गरेको थियो भने यसको औचित्य समाप्त भएको पुष्टि भएको थियो। अहिले संयुक्त राष्ट्र संघमार्फत जारी मानव अधिकारसम्बन्धी घोषणापत्रहरू, महासन्धिहरू, क्षेत्रीय चार्टरहरूलाई हेर्ने हो भने राज्य निरंकुशतालाई कतै पनि स्थान छैन।

मानव अधिकारका सर्वव्यापी सिद्धान्तहरूप्रयोग गर्ने राजनीतिक दर्शन लोकतन्त्रबाहेक अरु होइन भन्ने सिद्ध भइसकेको छ। यसअवस्थामा लोकतन्त्रको महासमुद्रमा पौडी खेल्दै वरफ जमाउने स्वैरकल्पना आफैँमा भ्रमबाहेक केही पनि हुँदैन। यो भ्रम नेपालका अनेक कम्युनिस्ट पार्टी, तिनमा आबद्ध कार्यकर्ता अनि तिनलाई सहयोग र समर्थन गर्ने अनेक बुद्धिजीवीमा आज पनि व्याप्त छ। नेपाली जनता त भावनामा बहने प्राणी नै हुन्। कुनैबेला कसैका पक्षमा कुनै बेला कसेैका पक्षमा उनीहरूको समर्थन उत्पातरूपमा प्रकट हुने गरेको इतिहास सिद्ध छ। तर जीवनको सर्वाधिक ऊर्वर यौवनिक समय माक्र्सवादकालागि, साम्यवादी सत्ता स्थापनाकालागि व्यतित गरेका अनेक अनुभवीहरू लोकतन्त्रको उत्कृष्टता अनुभव गर्दै लोकतन्त्रमा लोकतन्त्र नै जसरी विकल्प हुन्छ त्यसरी नै लोकतान्त्रिक व्यक्तिको विकल्प पनि लोकतान्त्रिक नै हुन्छ र हुनुपर्छ भन्ने निष्कर्षमा पुग्नु प्रशंसनीय छ।

७ दशकपहिले स्थापना भएको कम्युनिस्ट पार्टीमा अनेक चिरा भए तर अहिले ती बिस्तारै एउटा भंगालोमा डालिन लागेका छन्। संघीय, प्रदेशसभा निर्वाचनका समयमा प्रमुख कम्युनिस्ट पार्टीबीच मात्र एकता भए पनि साना कम्युनिस्ट पार्टीहरूलाई समर्थन गर्ने वा साना कम्युनिस्ट पार्टीहरूले सहयोग गर्ने काम भएको थियो। यसका विपरित केही स्थानमा व्यक्तिगतरूपमा लोकतान्त्रिक उमेदवारहरूबीच तालमेल गरिए पनि आमरूपमा त्यो सफल भएको थिएन। यसैकारण संघीय र प्रदेश संसद्मा लोकतान्त्रिक शक्तिको उपस्थिति अत्यन्त कमजोर हुन पुगेको छ। अहिले लोकतान्त्रिक शक्तिको पुरानो मियो नेपाली कांग्रेसले मात्रै कम्युनिस्ट निरंकुशता र सर्वसत्तावादको सामना गर्नु परिरहेको अवस्था छ। अर्को सशक्त लोकतान्त्रिक दलको अभावमा कांग्रेसको प्रस्तुति आक्रामक हुन सकिरहेको छैन।

लोकतन्त्रको नारा प्रत्यक्षमा दिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका चिराहरूले अझै कतिपय सन्दर्भमा वर्तमान परिवर्तनलाई संस्थागतरूपमा पूर्णतः आत्मसात् गर्न सकेका छैनन्। उनीहरूमा केही द्विविधा अझै देखिन्छ। व्यक्तिगतरूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कतिपय सदस्य र नेताहरूले परिवर्तनलाई पूरै आत्मसात् गरिरहेका पनि छन्। तर व्यक्तिगतभन्दा संस्थागत आत्मसात् उचित लाग्छ। नेपाली कांंग्रेसमा केही नेता वा सदस्यहरूले व्यक्तिगतरूपमा परिवर्तनले स्थापित गरेका कतिपय मुद्दामा असहमति प्रकट नगरेका होइनन् तर संस्थागतरूपमा नेपाली कांग्रेस परिवर्तप्रति पूर्ण प्रतिबद्ध देखिन्छ। अर्थात् आजको परिवर्तनलाई संस्थागत गर्नकालागि लोकतान्त्रिक शक्तिबीच लय अनिवार्य छ र त्यो लय विकास गर्न कमसेकम साना दलहरूको एकताले मद्दत गर्नेछ।

डा. बाबुराम भट्टराई माओवादी हिंसाको सूत्राधारमध्ये एक मानिनुहुन्छ। अहिले पनि उहाँकै कारण न्याय नपाएको भनी गोर्खाका अधिकारी परिवार निरन्तर न्याय माग गरिरहेका छन्। गंगामायाका आँखामा आँसु सधैँ देख्न पाइन्छ। तर भट्टराईले त्यो विगत निकै पर पन्छाउँदै लोकतन्त्रका मूल्यलाई आत्मसात्मात्र गर्नुभएको छैन विगतमा आफैँले अनुशरण गर्दै आएको दर्शनको औचित्य नै समाप्त भएको उद्घोषण गर्नुभएको छ। भट्टराई तत्वबोध र उद्घोषणका ३ वर्षभन्दा बढी दिन व्यतीत भएका छन्। जबकि उहाँका अनेक सहकर्मी अहिले पनि नेपाली नागरिकलाई विकसित समाजवादको सपना देखाउँदै शिव शर्माको सातु वितरण गरिरहेका छन् र नेपाली जनताको ठूलो हिस्सा त्यो सातु फाको मार्नपाउने लोभ सांँचेर बसिरहेको छ।

नयाँ शक्ति पार्टी खोलेर लोकतन्त्रको जरो मजवुत पार्न अग्रसर भट्टराईका अनेक संस्थापक सहकर्मीहरू पुरानै तम्वुमा फर्किसकेका छन्। उनीहरूमा सत्ताको तत्काल तृष्णा पूरा गर्ने भोक जागेको सबैलाई थाहा छ। तर कतिपय विद्वान्ले पनि उहाँको साथ छाडेपछि नयाँ शक्तिको शक्ति यसै अलमलिन पुगेको थियो। संघीय समाजवादी फोरमसँग एकता गरिसकेपछि पार्टीले भरपर्दोरूपमा आफूलाई विकास गर्न सक्छ कि भन्ने संकेत देखाएको छ। पार्टीहरू जुट्ने र फुट्ने पुरानो रोग देखिइरहेको छ। एक वर्षपहिले एकताको सूत्रमा उनिएका विवेकशील र साझाको मित्रता लामो समयसंम टिकेन। ती दुई दल मिल्दा मानिसमा नयाँ दलप्रति बिस्तारै विश्वास पैदा हुँदै गएको थियो। खासगरी साम्यवादीहरूको नियन्त्रणकारी चिन्तन नियन्त्रण गर्नका लागि नयाँ पुस्ताले विवेकशील साझाको अनुहार हेर्न लागेका थिए। यद्यपि ती दुवै दलले नेपाली कांग्रेस जस्तो पुरानो दललाई नै क्षति पु-याइरहेका थिए।

नेतृत्वले सहनशीलता, समन्वय र सहिष्णुताकासाथ सामूहिक निर्णयको व्यवहार अवलम्बन नगर्दा दलहरूमा मतभेद हुने गर्छ। दलका सदस्यमा अनुशासन नभएर महत्त्वाकांक्षा बढेको अवस्थामा र समान पुस्ताका नेताहरूमा अति महत्त्वाकांक्षा र प्रतिशोधको मनोविज्ञानले काम गरेमा दलहरू विभाजित हुने वा एउटै दलमा रहँदा पनि तीव्र मतभेद हुने गर्छ। यी सबै नकारात्मक अवस्थालाई व्यवस्थापन गर्ने क्षमता र कुशलता नेतृत्वमा हुनु जरुरी हुन्छ। तर नेतृत्वमा मात्र यी गुण भएर पुग्देैन। दलमा अनुशासित पंक्ति नेतृत्वदेखि सदस्यहरूसम्म हुनैपर्छ। योग्यं/योग्याय भएन भने दलमा चिरा पर्न लाग्छ। राम्रो भन्दा पनि आफ्नो खोज्न लागिएमा दलको भविष्य सुरक्षित हुनसक्देैन। योगदानको मूल्यांकन भएन भने पनि दल सवल हुँदैन।

नेपाली राजनीतिमा सबैभन्दा बढी विभाजन कम्युनिस्ट पार्टीमा देखिए पनि उनीहरूले फरक धारमा जनतामा शक्ति बिस्तार गर्दै गए। त्यो शक्तिको ठूलो प्रतिशत यतिखेर नेपाल कम्युनिस्ट पार्टीमा संयोजित भएको छ। तर त्यहाँ पनि कार्यशैली, सरकारी निर्णयहरू, नेतृत्वका अनेक नियन्त्रणकारी सोचहरू स्वीकार गर्न नसक्नेहरूले असन्तोष प्रकट गरिरहेका अवस्था छ। नेपाली कांग्रेस सिंगो छ तर महाधिवेशनका दिनदेखि अर्को महाधिवेशनको लक्ष्य निर्धारित भएको देखिन्छ। जसको परिणाम कतिपय सन्दर्भमा नेतृत्वबीच मतभेद देखा परिरहेका हुन्छन् तैपनि सामान्यतः व्यवस्थापन भएको देखिन्छ। तर जरासम्म संगठनलाई मजबुत बनाउनका लागि नेपाली कांग्रेसका सदस्यहरूमा धेरै जाँंगर पलाइसकेको देखिँदेैन।

सदस्यहरूमा जांँगर पैदा गर्नकै लागि अहिले नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ भने केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत नयाँं पुस्तासम्म विचार, आचरण र व्यवहारलाई परिचित गराउने प्रयास थालेको छ। राजनीतिक दलमा पुराना पात झर्दै जाने र नयाँ पात नपलाउने हो भने त्यो दल जर्जर हुनेछ। यस सत्यलाई नेपाली कांग्रेसले अनुभव गरिरहेको छ। नवगठित समाजवादी दलले वर्तमान परिवर्तनलाई सबल गराउन लोकतन्त्रका अभियानमा आफूलाई पनि इमान्दारीपूर्वक लगाउन’ उचित हुनेछ। तर डा. भट्टराई र पुरानो संघीय समाजवादी नेताबीच विचार, कार्यशैली र व्यवहारको रसायन मिल्न सक्छ कि सक्देैन तत्काल कसैले पनि भन्न सक्देैन। आन्तरिक कार्यविभाजनका सन्दर्भमा भट्टराईले विचार आन्दोलनको नेतृत्व गर्ने र यादवले संगठनको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ। यसै अनुसार संघीय परिषद्को अध्यक्षता भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने जानकारी दिइएको छ। असल चरित्र निर्माण गर्ने र नागरिक र देशको स्वार्थसँग आफूलाई जोड्न सक्ने क्षमताका साथ नवगठित समाजवादी पार्टीले आफूलाई स्थापित गरेको खण्डमा नेपाली कांग्रेस जस्तो पुरानो मियो र लोकतन्त्रमा विश्वास गर्ने जसकसेैकालागि पनि सुखद हुनेछ।

LEAVE A REPLY