Home ताजा समाचार नेपाली काँग्रेसको जनजागरण- कठोर समीक्षाको आवश्यकता

नेपाली काँग्रेसको जनजागरण- कठोर समीक्षाको आवश्यकता

1742
0
SHARE

-हरिविनोद अधिकारी-

नेपाली काँग्रेसको जनजागरण अभियानको पहिलो चरण समाप्त भएको छ । वैशाख २५ गतेबाट सुरु भएको जनजागरण अभियानको पहिलो चरण एक महिनाको थियो र जेठ २५ गते समापन भएको हो । अब दोस्रो चरण बीपी जयन्तीको मौका पारेर भदौको २४वरिपरिबाट सञ्चालन गरिने छ । नेपाली काँग्रेसले यसको समीक्षा पक्कै गर्छ होला तर पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिँहले भने यो अभियान त्यति सफल हुन नसकेको प्रतिक्रिया दिनु भएको भनेर सञ्चार माध्यममा आएको छ । वास्तवमा सँसद चलिरहेको बेलामा पनि जनजागरणले नेपाली जनतामा सरकारका कामबारबाहीमा भइरहेको कमी कमजोरीलाई प्रकाशमा ल्याउन नसकेको वा जनतालाई सरकारविरुद्ध जागृत पार्न नसकेको हो कि भन्नेचाहिँ भान परेको छ ।

प्रजातन्त्रमा , त्यो पनि सँसदीय प्रजातन्त्रमा सँसद नै जनताको वारेमा छलफल गर्ने ठाउँ हो । यसपटकको जनजागरणमा सरकारका अप्रजातान्त्रिक गतिविधि र सँसदमा प्रस्तुत बजेटका वारेमा भएका कमी कमजोरीलाई जनसमक्ष प्रस्तुत गर्न सक्नुपथ्र्यो । आफ्ना भ्रातृ संगठनहरुको व्यवस्था गरेरमात्र जनतामा प्रजातान्त्रिक सँस्थाहरुको सबलीकरणका वारेमा भन्न सक्नुपथ्र्यो । आफ्नै संगठनका वारेमा उठेका प्रश्नहरुको गोलमाल उत्तर दिएपछि विपक्षीहरुले जागरणका लागि काँग्रेसबाट के सिक्ने भन्ने पनि भयो होला । आम जनता कसैको पनि होइन, सबैको हो । त्यही जनता हो पहिले काँग्रेसलाई सत्तामा पु¥याउने अनि अहिले नेकपालाई दुई तिहाईको नजिक साँसद दिने पनि । आखिर संगठनले मत आउने हो, विचारले मत आउने हो, विश्वासले मत दिने हो र आस्थाले मतको ओइरो लाग्ने हो । सबैभन्दा बढी त मुलुकको हित जुन सँस्थाले गर्नेछ भन्ने जनतालाई लाग्छ, उसैलाई बहुमत दिने हो ।

इटाली र ग्रिस जस्ता देशमा, स्क्यान्डेनेभियन देशमा संयुक्त सरकारले देश चलाइरहेका धेरै भयो । ग्रिस जस्तो देश एकप्रकारले तन्नम हुन लागेको छ । ५ जुनमा भएको डेनमार्कको आम चुनावमा रेड ब्लक अर्थात् प्रजातान्त्रिक समाजवादीको नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गरेको छ । १७९ सदस्य रहेको जनप्रतिनिधि सभा, फोल्केटिङ्मा ९१ जना सदस्यहरु पु¥याएको छ । यसमा प्रजातान्त्रिक समाजवादी अर्थात् सोसल डोमेक्य्राट्स्ले ४८ स्थान, उदार समाजवादी डेनिस लिबरल सोसलिस्ट पार्टी १६ स्थान, सोसलिस्ट पिपल्स पार्टी १४ स्थान,रेड ग्रिन एलाएन्स १३मिलेर निर्वाचनम बहुमत ल्याएका हुन् । अब अहिलेको जनादेश अनुसार सोसल डेमोक्र्याट्स्का तर्फबाट पार्टी नेता मेत्ते फ्रेडरिक्सन प्रधानमन्त्री हुनुुहुनेछ छिटै । सम्भवतः जनसम्पर्क समितिको विश्वव्यापी सम्मेलनताका प्रधानमन्त्री मेत्तेको शपथ ग्रहण समारोह सम्पन्न हुनसक्छ । अर्थात् डेनमार्कमा अहिले संयुक्त गठबन्धनको सरकार तयार हुँदैछ , यसभन्दा पहिले ब्लु ब्लकको सरकार थियो , त्यो पनि संयुक्त गठबन्धनको ।

प्रजातान्त्रिक सरकारले जहिले पनि नियम अनुसार र विधिको शासन चलाउने हो । नेपालमा तर स्थिति फरक देखिन्छ । नेपाली जनतामा काँग्रेसप्रतिको सैद्धान्तिक मोहमा कमी आएको छैन तर कम्युनिस्टलाई पनि काँग्रेसले प्रजातन्त्रवादी बनाइसकेको भ्रममा प्रजातान्त्रिक निर्वाचनमा बहुमत ल्याउन सम्भव भएको हो भनेर मान्दा सायद गल्ती हुँदैन । तर प्रजातन्त्रका सिद्धान्तले जितेर आउने अनि प्रजातन्त्रमाथि नै प्रहार गर्ने कुराको भने काँग्रेसले यसपटक खुलेर जनतालाई ध्यानाकर्षण गराउन सकेन जस्तो छ किनभने जनतालाई यसभन्दा राम्रो शासन दिने वाचा दिन किन डरायो काँग्रेस भनेर पर्यवेक्षकहरु अचम्भ मानेका छन् ।

प्रमुख प्रतिपक्षी भनेको सरकारमा जहिले पनि जानका लागि खुट्टा उचालेको दल हो । त्यसैले त्यस्तो दललाई सँसदीय प्रजातान्त्रिक व्यवस्थामा वेटिङ् गभर्न्मेन्ट् भन्ने गरिन्छ । सरकारद्वारा यत्ति धेरै गल्ती हुँदा पनि सरकारविरुद्ध जमेर आफ्ना कुराहरु राख्न नसकेको देखियो । यसको कारण हुनसक्छ अस्थिरता नल्याउने वाचा जनतासँग गरेकोमा । तर सरकार आफैँ आप्mना कामहरु र जरासन्धशैलीको संगठनले कुनै पनि बेला ढल्ने अवस्थामा छ भन्ने कुरा जगजाहेर छ । यस्तो बेलामा पनि सरकारका पक्षमा वा सरकारद्वारा गरिएका कामहरुका वारेमा किन साँच्चै विरोधको स्वर राम्ररी उठेन त ? सायद शालीन विपक्षी भएर होला या आफ्नो अवस्था लथालिङ्ग भएकाले त्यसलाई बाहिर धेरै प्रकाशमा ल्याउन नचाहेको होला ?

जति जति नेपाली काँगे्रस कमजोर हुन्छ नेपाली राजनीतिमा , त्यति त्यति प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध हुन्छ । अहिलेको सरकारले नेपाली काँग्रेसलाई कुनै प्रतिस्पर्धीको रुपमा नै देखेको छैन र सबै विपक्षीहरुलाई नन्दी भृङ्गी सम्झेको छ । अहिलेको सरकारको एउटा स्वरुपको रुपमा इटहरीका मेयर द्वारिका चौधरीको भनाइ नै प्रशस्त लाग्छ—आफ्नो पार्टी माक्र्स,लेनिन , स्टालिन र माओको समर्थक दल हो , जसले विपक्षीलाई के गर्ने भन्ने सिकाएको छ । खोइ, सरकारको अधिनायकवादी चरित्रको वारमो जनजागरण ल्याएको ? खोइ त प्रजातान्त्रिक संगठनको नमुना देखाउन सकेको ? खोइ त प्रजातन्त्रका विरुद्धमा लाग्नेहरुलाई सचेत गराउन सकेको ?

अबको दोस्रो जनजागरणको बेलामा सबै कमी कमजोरी सच्च्याएर र आपसमा एकता गरेरमात्र जाने हो कि ?कस्ता विषय कहाँ र कसरी उठान गर्ने भन्ने विषयमा पनि प्रशिक्षण लिएर वा प्रशिक्षण दिएर एजेन्डा उठाउने काम गर्ने हो कि ? सरकारलाई अप्रजातान्त्रिक बाटोमा नजान खबरदारी गर्ने क्षमता सञ्चित गरेरमात्र जागरणको अभियान सुरु गर्ने हो कि ?बीपी , गणेशमानजी, किसुनजी, गिरिजाबाबु, सुशील कोइराला, सुवर्णजी , महेन्द्रनारायण निधिजी, रामनारायणजी , दिवानजी, योगेन्द्रमान शेरचनजीका जीवनी पढाएर र आदर्शका वारेमा भन्न र आदर्श कार्यान्वयन गर्नका लागि उत्प्रेरित गरेरमात्र जनजागरणमा जाने हो कि ? जनजागरण आफैँमा सत्याग्रह हो । जनताका काखमा जाँदा समाजले गर्न नहुने र नखाने भनेका कुराहरु वर्जित गरिनु पर्छ । यो पटक त्यस्तो भयो कि भएन , थाहा भएन तर शक्ति आर्जन गर्नका लागि केही त्याग र अनुशासनको पालना जरुरी छ । त्यसको पालना सबैबाट हुनुपर्छ । सत्याग्रहका बेलामा गणेशमानजीको एउटा भनाइ सबैले अझै याद गर्छन्—सायद कुनै छोरीको बिहे थियो २०४१—४२ ताका । उहाँले रक्सीको प्रयोगमा पार्टीले बन्देज लगाएकाले आफूलाई आफ्नै बन्धनले बाँधेको बताउनु भएछ र आम कार्यकर्ता र नेवार समुदायसम्मलाई सम्मलाई अल्कोहल बाँड्नु भएनछ । त्यो हो अनुशासन बनाउनेले पालना गर्ने कुरा ।

त्यस्तो अुनुशासन बनोस्, आफूमा कुनै विवाद नरहोस् र सरकारलाई समेत बाटो देखाउने गरी जनजागरणलाई सञ्चालन गर्न नेपाली काँगे्रस सक्षम होस् । समीक्षा कडाइका साथ गरोस् जसले प्रजातन्त्रको पक्षमा नयाँ गोरेटो खन्न सक्षम होस् । यदि यसपटकको जनजागरणले नेतृत्वमा आउन सक्ने परिवर्तनलाई इंगित गरेको हो भने पनि मुलुक र प्रजातन्त्र बचाउनका लागि कठोर निर्णय र त्यागको परीक्षामा नेपाली काँग्रेसको नेतृत्व सक्षम होस् जसले प्रजातन्त्र र नेपाललाई बचाउन सकोस् ।

LEAVE A REPLY