Home कला/साहित्य भोटेकोशी नदी आसपासको सभ्यता झल्काउने कला प्रदर्शनी

भोटेकोशी नदी आसपासको सभ्यता झल्काउने कला प्रदर्शनी

237
0
SHARE

जेठ २८, ललितपुर । भोटेकोशी नदीको वरिपरि विकास भएको सभ्यतालाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ कला प्रदर्शनी सुरु भएको छ । पाटन संग्रहालयमा श्री जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोशी गाउँपालिकाको आयोजनामा भएको चार दिने प्रदर्शनीको आइतबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले एक समारोहका बीच उद्घाटन गरे ।

कलाकारले भोटेकोशी सभ्यतालाई चित्रमा प्रशंसनीय कार्य गरेको बताए । उनले भने, ‘कला संस्कृतिको विकासविना राज्य समृद्ध बन्न सक्दैनन् । तसर्थ यसको विकासका लागि आयोजक र कलाकार गरेको काम सराहनीय रहेको छ ।’
कार्यक्रममा श्री जैमन थैपी नारायण मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर खडकाले सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक रुपमा फुल्पिङकट्टीस्थित नारायण मन्दिर र यसको सेरोफेरो निकै महत्वको रहेको बताए ।

भोटेकोशी सभ्यतालाई देश विदेशमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको जैमिन थैपी नारायण परोपकार केन्द्रका अध्यक्ष अनेश नेपालले बताए । उनले भने, ‘प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौं ।’ उनले प्रदर्शनीपश्चात् भोटकोशी सभ्यताको गहन खोजविन हुने अपेक्षा समेत राखेको बताए ।

सोमबार प्रदर्शनी अवलोकन गर्न पाटन संग्रहालय पुगेका भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले प्रदर्शनीले पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘भोटेकोशी सभ्यता र संस्कृतिलाई कलामार्फत कलाकारले चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । संस्कृति, पर्यटन, पुरातात्विक, जातीय विविधता तथा प्राकृतिक रुपमा भोटेकोशी समृद्ध छ । यसको विकास र प्रवद्र्धनमा चित्रमार्फत कलाकारले गरेको कार्य प्रशंसनीय छ ।’
कलामार्फत समाजमा रहेका सांस्कृतिक वैभवलाई बाहिर ल्याउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलाकारको संयोजन गरेका कलाकार दिवेश प्रधानले बताए । उनले समृद्ध नेपाल बनाउने अभियानमा कलाकारले योगदान दिनुपर्छ भन्ने ध्येय राखेर कार्यशाला तथा प्रदर्शनी गरिएको जिकिर गरे ।


प्रदर्शनीमा सहभागी कलाकार राकेशचन्द्र श्रेष्ठले चित्रमा भोटेकोशी सभ्यताका महत्वपूर्ण स्थल र सम्पदालाई उतारिएको बताए । कार्यशाला तथा प्रदर्शनीका संयोजक प्रकाश खडकाले भोटेकोशीको सभ्यताको उत्खनन्मा सहयोग पुगोस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको बताए । प्रदर्शनीमा विकास बिसुंखे, विक्रम प्रजापति, चन्द्रा श्रेष्ठ, देवेन्द्र थुम्केली, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, दिवेश प्रधान, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद खोटेजा, प्रकाश मानन्धर, राधेश्याम कर्माचार्य, राजेन्द्रप्रसाद याकामी, सुर्यराम सुवाल, अनत्त श्रेष्ठाचार्यले तयार पारेका कलाकृति राखिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीस्थित नारायण मन्दिरलाई आधार बनाइ बैशाख ९ देखि ११ गतेसम्म चित्र कार्यशाला गरिएको थियो ।

LEAVE A REPLY