Home ताजा समाचार जागरण अभियानको सन्देश

जागरण अभियानको सन्देश

134
0
SHARE

-पुरुषोत्तम दाहाल-

नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको छ। देशका सबै जिल्लाका गाउँमा यो पटक केन्द्रीय स्तरका नेताहरू एक महिनासम्म बसेर पार्टी पंक्ति र आमनागरिकसँग संवाद गर्न पाए। खासगरी नेपाली कांग्रेसको आधार कुनरूपमा पुगेको छ भन्ने जानकारी लिने यो सही अवसर बनेको हुनुपर्छ। पार्टीका आमसदस्यको गुनासो करिब देशैभरी समान प्रकृतिको देखिएको छ। पहिलो अवाञ्छित गुटवादको अन्त्य केन्द्रदेखि नै आरम्भ हुनुपर्ने, दोस्रो सदस्यहरूको उचित मूल्यांकन, तेस्रो पार्टीका सबै विभागले तत्काल पूर्णता पाउनुपर्ने, चौथो भातृसंघहरूको अधिवेशन र कार्यसमितिहरू अविलम्ब गठन, पाँचौँ सबै तहमा अनिवार्य प्रशिक्षण, सबै तहमा अभिलेख पद्धतिको विकास र कम्युनिष्ट पार्टीको निरंकुशताविरुद्ध सशक्त अभियान प्रमुख छन्।

केही स्थानमा महाधिवेशनलाई प्राथमिकता दिनुपर्ने कि जागरणलाई भन्ने बहस नभएको होइन। त्यो बहस केन्द्रबाट प्रतिनिधित्व गर्ने केही नेताबाट नै संप्रेषण भएको थियो। जागरण अभियानको अर्को चरणमा पुग्नुपहिले नै आमसदस्यका यी प्रश्नको समाधान अनिवार्य छ। नेपाली कांग्रेसको नेतृत्वकालागि यो जागरण अभियान आफैंमा यसैकारण चुनौती हुनपुगेको छ। जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ बाट एक महिनासम्म निर्धारित छ। नेपालको लोकतान्त्रिक समाजवादका प्रथम भाष्यकार बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर सुरु हुने दोस्रो चरणको अभियानमा उल्लिखित गुनासा वा सुझावहरूको कुनै समाधान गर्न पार्टी नेतृत्वले सकेन भने प्रतिनिधिहरूकालागि उत्तर दिनु कठीन हुनेछ। तेस्रो चरणको निर्धारित समय राष्ट्रिय एकता तथा मेलमिलाप नीति प्रतिपादित भएको दिन पुस १६ बाट हुनेछ।
सामान्यतया कांग्रेसमा २०४८ सालदेखि सतहमा देखिएको अन्तर्घातको आत्मघाती खेल आज पनि निरन्तर छ। प्रत्यक्ष देखिएर विपक्षमा उभिने भन्दा पार्टी संगठनमा नै रहेर प्रत्यक्ष/अप्रत्यक्ष धुलो पार्नेहरू बढी खतरानाक हुन्छन्। यसरी पार्टीमा नै रहेर पार्टीलाई नै धुलो पार्ने चरित्र नेपाली कांग्रेसमा स्थायी हुनपुगेको छ। वास्तवमा केन्द्र, जिल्ला, क्षेत्र हुँदै पालिकाहरूसम्म फैलिएको गुटवादले अन्तर्घातको आत्मघाती खेललाई सहयोग, समर्थन र उपयोग गरिरहेको स्पष्ट छ।२०४८ सालमा काठमाडौँ १ मा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन कांग्रेसभित्रको स्वार्थी पारिवारिक समूह सक्रिय थियो। त्यस समय यो पंक्तिकार नेपाली कांग्रेसको प्रचारविभाग र निर्वाचन प्रचार समितिमा रहेको हुनाले पर्याप्त सूचना पाएको थियो। यो चरित्र २०५० सालको काठमाडौँ१ कै उपनिर्वाचनमा सर्वाधिक नग्न भएर प्रकट हुन प’ग्यो। त्यो घातक आत्मघाती खेल सरुवा रोग जस्तैगरी नेपाली कांग्रेसको शरीरभर फैलिएको देखिन्छ।

कृष्णप्रसाद भट्टराईको विपक्षमा लागेको नेतृत्वपंक्तिलाई लक्षित गर्दै त्यसबेला वरिष्ठ पत्रकार किशोर नेपालले गरेका टिप्पणी यहाँ स्मरणीय हुन्छ। उनले कुनै लेखमा टिप्पणी गरेका थिए– ‘जितेका कृष्णप्रसाद भन्दा हारेका कृष्णप्रसाद बढी खतरनाक हुनसक्छ।’ यो टिप्पणीको सान्दर्भिकता विगत ३ दशकदेखि नेपाली कांग्रेसको जीवनमा चरितार्थ भइरहेको छ। दुर्भाग्य त के छ भने एकाठाउँमा अन्तर्घात गर्नेलाई एउटा नेता र अर्का ठाउँमा अन्तर्घात गर्नेलाई अर्को नेताले च्यापेर बसिरहेको अवस्था छ। पराजय र अन्तर्घातको सन्दर्भमा उपसभापति विमलेन्द्र निधीले मात्र कसैलाई पनि दोष दिन नमिल्ने कुरा स्पष्ट गरेका छन्। आफ्नो पराजयलाई स्वाभाविकरूपमा ग्रहण गर्ने पद्धतिको विकास हुन लागेपछि स्वतः अन्तर्घातका खेल निस्तेज हुने उनको तर्क छ। पराजयका कारणमा कमजोर संगठन र असन्तुष्टहरूलाई सहयोगमा सहमत गराउन नसक्नुलाई नै निधीले महत्व दिएका छन्।

भर्खरमात्र ललितपुरको निर्वाचनमा अन्तर्घात गरेको भनी पार्टीले कार्बाहीका लागि सिफारिस गरेका सदस्य सबैलाई दोषमुक्त गर्ने निर्णय नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले गरेको छ। अहिलेको समयमा एकपटककालागि यस्तो निर्णय स्वाभाविक हुन्छ। खासगरी कम्युनिस्ट पार्टीको सरकारले थालेका लोकतन्त्रविरुद्ध ज्यादतिहरूका कारण लोकतन्त्रमा विश्वास गर्नेहरू सबै एकाठाउँ उभिनुपर्ने अवस्था हो यो। तर सदाका लागि यसलाई नजीर बनाउनु गलत हुनेछ। नेपाली कांग्रेसमा अनुशासन समितिले अनुशासन भंग भएका घटनाको विवरण तयार पारिरहेको छ र यसबारे टुंगो लगाइसकेको छैन।२०४८ सालदेखि नै अनुशासनका कार्बाहीलाई सख्तीका साथ पालना गरिएको भए शायद नेपाली कांग्रेसको संगठन र केही हदसम्म नेपालको राजनीतिकै कोर्स यस अवस्थासम्म आइपुग्ने थिएन होला।
नेपाली कांग्रेसमा व्याप्त गुट र उपगुटहरूको निर्माण पनि हुने थिएन।अन्तर्घातको त्यही लहरोमा अल्झिँदै आएको भएपनि कांग्रेसमा यतिखेर कुनै सैद्धान्तिक भन्दा पनि केही कार्यक्रमका आधारमा र बढीभन्दा बढी व्यक्तित्वबीचको विरोधाभाषका कारण गुटहरूको सिर्जना र विकास भइरहेको छ। नेपालको संविधानमा पारित भएका केही मुद्दामा समेत देखिएका असहमति कांग्रेसभित्र गुटका कारक बनेको देखिन्छ। तर ती कारण त्यति संगठित छैनन्। पालिका र वडा तहमा बस्ने साधारण सदस्य र समर्थकहरूको चिन्ता भनेको कांग्रेसमा विकसित गुट नै हो। आश्चर्य त के छ भने भविष्यमा कुनै पद वा नियुक्ति नखोज्नेहरू अथवा नेतृत्वमा जाने सपना नभएकाहरूमा गुटवादको अन्त्य होस् भन्ने चिन्ता छ। तर जसले भविष्यमा देशको नेतृत्वको सपना देखेकाछन् र पार्टी नेतृत्वको सम्भावना बोकेका छन् तिनीहरू नै पार्टीमा विभाजित तर्कहरू, असन्तुष्टिहरू, असहमतिहरू र गुटवादको पक्षपोषण गर्दै अभियानमा जुटेका छन्।

नेपाली कांग्रेसमा सर्वथा यो सोच र व्यवहार विनाशकारी हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। आफैं नेतृत्वमा रहेर असन्तुष्टिको खेती गर्दै आमजनसमुदाय र पार्टीका तल बस्ने सदस्यहरूमाझ पुग्दा नेपाली कांग्रेसमा नयाँ पुस्ताको भर्ती र जनआकर्षण बढ्छ कि घट्छ ? यो जागरणको समीक्षाक्रममा उठाउनैपर्ने प्रश्न भएको छ। केन्द्रीय नेतृत्वमा बस्नेहरू नै असहमत, असन्तुष्ट र विरोधाभाषले भरिपूर्ण भए भने त्यस पार्टीमा बस्न चाहने, सहयोग गर्न चाहने र नयाँ सम्भावना खोज्ने नयाँ पुस्ताको प्रवेश कसरी सहज हुन्छ ?यी प्रश्न नेपाली कांग्रेसका सन्दर्भमा उठ्न लागेका छन्। लोकतान्त्रिक आन्दोलन र लोकतन्त्रको अभ्यासमा सधैँ विकल्पहीनता रहँदेैन।विकल्प खडा हुन सक्छन् र अनेक सवल मियो पनि ढल्ने सम्भावना रहन्छ।

पार्टी नेतृत्वले अनिवार्य गर्नैपर्ने केही विषय गाउँमा उठेका छन्। कमजोर पार्टी संगठनले सरकारका गलत काम र निरंकुश चरित्रको सामना वा प्रतिरोध गर्ने सामथ्र्य राख्देैन। पार्टीमा रिक्त स्थानहरू विशेषगरी विभागहरूगठन गरी सदस्यहरूलाई जिम्मेवारी दिनु जरुरी छ। जुन अत्यन्त ढिला भएको छ। भातृसंघहरूको अधिवेशन नभएर लथालिंग अवस्था छ। डेढ दशकदेखि महŒवपूर्ण भातृ संस्थाहरूमा नवीनता केही छैन। पुरानाहरूकैकब्जा देखिन्छ। पार्टीलाई ऊर्जाशील बनाउनुपर्ने ती भातृसंस्थामा चलायमान नेतृत्वको आवश्यकता छ। तर गुटवादको शिकार ती संस्था पनि भइरहेका छन्। स्थानीय तहमा उठेका यस्ता जायज गुनासाको निराकरण गर्नैपर्ने देखिन्छ। पार्टी पंक्तिलाई प्रशिक्षण अपरिहार्य छ। विस्तारै प्रशिक्षणको विषयलाई सदस्यहरूले महŒवपूर्ण रुचिको विषय बनाउनु सकारात्मक हो।

भर्खरमात्र प्रशिक्षणका सन्दर्भमा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कांग्रेसमा बनेको छ। प्रशिक्षणको विषयसँगै अनुसन्धान र अभिलेखीकरण महत्वपूर्ण हुन्। पार्टीलाई सशक्त बनाउन सचिवालय व्यवस्थापन र संस्थागत मर्यादाको भूमिका निसन्देह प्रमुख हुन्छ। बाहिरी भागमा अत्तर घस्दै, मुखमा राम्रो मेकअप गर्ने तर शरीरभभित्र भनेभयानक क्यान्सर भएको जीर्ण शरीरको कुनै अर्थ हुँदेैन। पार्टी जीवनमा सचिवालय भनेको शरीरको भित्री भागमा सक्रिय र अनिवार्य महत्वपूर्ण अंग मानिन्छ। धमिरा पसेको रुखमा बाहिरी बोक्रो जति सुन्दर भए पनि त्यो स्थायी र सवल हुदैन। सचिवालय रुखको भित्री चुरो हो भन्ने यथार्थलाई केन्द्रदेखि जिल्ला, क्षेत्र, पालिकाहरूमा कांग्रेसले बुझाउन र तद्नुरूप व्यवहार गर्न तथा संगठनात्मक रूप दिन सक्नुपर्छ।

जागरण अभियानमा धेरै स्थानमा यस्ता प्रश्न र प्रसंग उठ्नु स्वाभाविक थिए। नेपाली कांग्रेसको जागरण अभियानले सिंगो कांग्रेसलाई आमनागरिक तहमा पुग्ने अवसर मिलेको छ। सरकारका कार्यहरूका विषयमा आमजनभनाइबुझ्ने र आफ्नो भूमिका तय गर्ने अवसर मिलेको छ। तर सबैभन्दा यक्षप्रश्न के हो भने नेपाली कांग्रेसको पुनर्जीवन के यसैगरी हुन्छ त ? जस्तो अनेक विचार, भिन्न सोच र शैलीलाई तहगत प्रस्तुतिभन्दा फरक आम बनाउने निरन्तर प्रयास देखिन्छ। के पार्टीमा गुटवाद अन्त्य नभई नेपाली कांग्रेसको सवल भविष्य निर्माण हुनु सम्भव छ? आपसी विवादलाई केन्द्रमा नेतृत्व गर्नेहरूबाट नै गाउँको अदना सदस्यसम्म पु-याउने काम गर्दा के त्यो अदना सदस्य सदा कांग्रेसकै भइरहन्छ त ?

गाउँमा कांग्रेसमा समाहित पुस्ता हिजोको जस्तो ठूलो त्याग, तपस्या र बलिदानको भारी बोकेर बसिरहेको छैन। उसले त्याग र बलिदानका कथाहरूलाई कितावमा पढ्ने वा कसैको भाषणबाट थाहामात्र पाएको छ। यो पुस्ताका लागि स्वतन्त्रता र रोजगारीसँग विभेदरहित सोच प्रमुख विषय हुन्। त्यो सोच भएको कुनै असल मानिस पायो भने कुनै एक पार्टीको मियो समातेर बसिरहनु उसकालागि जरुरी हुँदैन। तर नेपाली कांग्रेसमा शीर्ष स्थानमा बस्नेहरूमा यस सत्यलाई अनुभव गर्ने कुनै चासो देखिँदैन। कमसेकम जागरण अभियानबाट प्राप्त ऊर्जालाई स्खलित हुन नदिनेगरी आत्मकेन्द्रित सोच र संस्कारलाई नेतृत्वले परिवर्तन गर्न सकेको खण्डमा निश्चय पनि यो अभियान सफल मानिनेछ र अभियानका अरु चरणकालागि फराक राजमार्ग आफैँ खुल्ने हुन्छ।

LEAVE A REPLY