Home अन्तर्वार्ता सत्तास्वार्थका कारण नेकपा एकता जटिल: रविन्द्र श्रेष्ठ

सत्तास्वार्थका कारण नेकपा एकता जटिल: रविन्द्र श्रेष्ठ

160
0
SHARE

नेपाल कम्युनिस्ट पार्टीको एकता एक वर्ष पूरा भएको छ । तर, अहिले पनि कतिपय पद विभाजन टुंगोमा पुगेको छैन । जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंग्याउने विषय अलमलमा परेको छ । प्रधानमन्त्री युरोप भ्रमणमा जानुअघिसम्म यो विवाद मिलाउन नेकपाको दैनिक बैठक बस्दै आएको थियो, तर निकास निस्कन सकेन । गत शनिबार प्रधानमन्त्री युरोप उडेपछि बैठक दुई साताका लागि स्थगित भएको छ । यो समस्या किन आयो ? यिनै विषयमा कुनै बेला नेपाल कम्युनिस्ट पार्टी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट सम्बन्ध राख्ने भनिएका र पछिल्लो समय एमालेको राजनीतिमा संलग्न रहेका अहिलेका राजनीतिक विश्लेषक रवीन्द्र श्रेष्ठसँग डा. सुरेश आचार्यले गरेको कुराकानी :

० नेकपा एकता प्रक्रियाअन्तर्गत जिल्ला तहमा किन नमिलेकोे होला ?
– एकता जटिल परिस्थितिको बीचमा भएको देखिन्छ । मुख्यतः सत्तास्वार्थ गर्दाखेरी एकता जटिल हुन गएको हो । कम्युनिस्ट पार्टीहरूका बीचमा विगतमा पनि यस्तो एकता नभएको होइन, जस्तो ०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र बन्दा सुरुमा तीनवटा पार्टीबीच एकता भएकै हो । त्यसपछि अर्को पार्टी थपिएर चारवटा पार्टीबीच एकता राम्रोसँग सम्पन्न भएको थियो । त्योबेला यस्तो समस्यापूर्ण थिएन । किनभने त्यो बेला सत्तास्वर्थ आइलागेको थिएन । त्यो बेला लिनेभन्दा पनि दिने भन्ने थियो, त्यसकारण त्यो सरल ढंगले एकता सम्पन्न भयो । कम्युनिस्ट विचारधारा अनुकूल भएको हुनाले त्यो एकता सामान्य रूपमा लामो समय गयो ।

एमाले जुन बन्यो, पुरानो नेकपा माले र पुरानो माक्र्सवादीको एकता पनि सरल र सहज ढंगले भयो । किनभने त्यहाँ पनि तत्काल सत्तास्वार्थ थिएन । मन्त्री वा प्रधानमन्त्री बन्ने सम्भावना थिएन । जसले गर्दा त्यो एकता पनि सरल र सहज ढंगले भयो ।

अहिलेको एकताको केन्द्रविन्दु जुन बाहिर आइरहेको छ, विचारधारा मिल्यो र मिलेन भन्नेमा केन्द्रित छ । नेताहरूको सत्तास्वार्थ केन्द्रित भएको हुनाले सत्ता बाँडफाँटमा कुरा नमिलेको भन्ने मलाई लाग्छ ।

० सत्ताको दौडमा माधव नेपाल त देखिनुभएको छैन नि ?
– पार्टीको नाम कम्युनिस्ट पार्टी भए पनि धेरै विषयमा यो नेपाली कांगे्रसजस्तै भइसकेको छ । जसरी नेपाली कांगे्रसमा प्रधानमन्त्री दोहोरिरहनेक्रम भयो त्यो बेला, धेरैपटक गिरिजाबाबु हुनुभयो, देउवा दोहोरिनुभयो, कम्युनिस्ट पार्टीमा पनि प्रधानमन्त्री दोहोरिएका छन् । केपी ओली दुईपटक हुनुभयो, प्रचण्ड दुईपटक हुनुभयो भने माधव नेपाल दुईपटक किन नहुने ? त्यसअर्थमा सत्तास्वार्थले गर्दा नै पार्टी एकतामा समस्या आएको हो ।

० संगठनको हो कि राज्यको सत्ताकब्जा ?
– नेपाल र बेलायतको पार्टी सिस्टम अलिकति फरक छ । भारत र यहाँको पार्टी सिस्टम पनि फरक छ । पार्टी र सत्ताबीचको सम्बन्ध फरक छ । भारतमा पार्टीको संसदीय दलका नेता शक्तिशाली हुन्छ । बेलायतमा पनि संसदीय दलको नेता शक्तिशाली हुन्छ । बेलायतमा लेबर पार्टीको अध्यक्ष को भनेर त्यति चासो रहँदैन, थाहा पनि हुँदैन हामीमध्ये धेरैलाई । भारतको बल्ल आएर फलानो अध्यक्ष हो भन्ने आयो । पहिला त्यो सामान्य पद मानिन्थ्यो, अहिले आएर अलिकति शक्तिशाली देखियो । तैपनि मोदी शक्तिशाली हुनुहुन्छ, जबकि उहाँ प्रधानमन्त्री मात्र हुनुहुन्छ, पार्टी अध्यक्ष अमित शाह हुनुहुन्छ ।
तर, कम्युनिस्ट पार्टीको इतिहास कस्तो रह्यो भने जसले पार्टी कब्जा गर्छ, अर्थात् पार्टीको अध्यक्ष जो हुन्छ, ऊ नै पछि गएर संसदीय दलको नेता पनि हुने र प्रधानमन्त्री पनि बन्ने । त्यसो भएको हुनाले पहिलो चरणमा प्रधानमन्त्री बन्न पार्टी कब्जा गर्नुपर्यो । पार्टी कब्जा नभई प्रधानमन्त्री नहुने भएकाले अहिलेको सत्तास्वार्थ भनेको पार्टी कब्जा हो ।

० तत्काल ओली कमजोर हुने सम्भावना छ त ?
– छैन भन्ने लाग्छ । नेकपा एमालेको इतिहास हेर्ने क्रममा स्वस्थ र अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । अरु पार्टीको तुलनामा नेकपा एमालेले लोकतान्त्रिक अभ्यास गरेको छ भन्ने लाग्दछ । महाधिवेशनमा नेतृत्व लिन स्वतन्त्र प्रतिस्पर्धा हुन्छ, जिल्ला नेतृत्वका लागि पनि स्वतन्त्र प्रतिस्पर्धा हुन्छ । गुटबन्दी अवश्य छ, यद्यपि चुनावबाट निर्णय भएको छ । पार्टी अध्यक्ष र केन्द्रीय सदस्यको पनि चुनाव हुन्छ । संसदीय दलमा पनि राम्रैसँग चुनाव भएको छ । तर, त्यस्तो चुनाव नेकपा माओवादीमा भएको छैन । निर्वाचनमा जाने भएको हुनाले तत्काल शक्तिशाली भनेको केन्द्रीय सदस्यपछि जिल्ला अध्यक्ष र सचिवहरू नै हुन्, कम्युनिस्ट प्रणालीअनुसार । त्यो भागबन्डा मिलिरहेको छैन । उहाँहरूको त्यसैमा समस्या अड्किएको हो ।

० माधव नेपाल आफ्ना पक्षको मान्छेलाई जिल्ला इन्चार्ज बनाउने प्रयत्नमा हुनुहुन्छ ?
– उहाँ मात्र होइन, तीनैजना नेताहरू र अरु स्तरका नेताहरूले पनि आ–आफ्ना मान्छेहरू ठीक–ठीक ठाउँमा राख्न खोजिराख्नुभएको छ । ओली, प्रचण्डलगायत अरु स्थायी समितिका नेताहरू पनि त्यसैमा लाग्नुभएको हो । नमिलेको तीनजना मात्र होइन, अरु पनि धेरै छन् ।

० दोहोरो जिम्मेवारी नदिऔं भन्दा सैद्धान्तिक प्रश्नजस्तो देखियो नि ?
– सिद्धान्त पनि आफ्नो स्वार्थमा प्रयोग हुन्छ । कसको फाइदा कसले उठाउँछ भन्ने हुँदो रहेछ । अहिले ओली र प्रचण्ड मिलेर माधव नेपाललाई नपेल्ने स्थिति बन्ने हो भने मिल्छ भन्ने एउटा धार देखिन्छ । अति गर्नुभएन भन्ने खालको । केपी ओली पक्षधरका साथीहरूको भनाइअनुसार विगतमा हामीलाई माधव कमरेडले अति गर्नुभएकै हो नि भन्ने पनि छ । आफू सत्तामा हुँदा यसो गर्ने, अहिले आफू विपक्षमा हँुदा यसो भन्ने ? भन्ने पनि छ । कुनै बेला कसको, कुनै बेला कसको आलोपालोजस्तो भइरहेको छ ।

० ओली–प्रचण्ड मिलेर माधवलाई कर्नरमा पार्ने सम्भावना छ ?
– त्यो सम्भावना रहँदैन । किनभने माधव नेपाल पुरानो र वरिष्ठ नेतामध्येमा हुनुहुन्छ । उहाँको सहमतिबिना केपी–प्रचण्ड मात्र मिलेर पार्टी र सरकार चलाउने सम्भावना तत्काल छैन । नेकपाभित्रको जुन शक्ति सम्बन्ध छ, त्यहाँसम्म पुगिसकेको स्थिति होइन । तर वामदेवलाई कर्नरमा पु¥याएर पनि पार्टी चल्न सक्छ, तर माधव नेपाललाई त्यसो गरेर सम्भव छैन ।

० प्रदेश इन्चार्ज बनाउने सवालमा माधव नेपाल हार्नुभएको हो ?
– पार्टीको शक्ति सन्तुलनको आधारमा भएको भन्ने लाग्दछ । तीनवटै पक्ष एउटा सहमतिमा पुगेको देखिन्छ । एक व्यक्ति एक पद भन्नेभन्दा पनि तत्कालको शक्ति सन्तुलनमा अरुसँग त्यो कुरा साटिएजस्तो लाग्छ । स्थायी समितिमा माधव पक्षका साथीहरू आइराख्नुभएको छ । केन्द्रीय समितिमा शक्ति सन्तुलनका रूपमा उहाँको ठीकै रूपमा प्रतिनिधित्व छ ।

० फेरि अर्को बार्गेनिङ हो उहाँको ?
– कम्युनिस्ट पार्टीको सिस्टममा जिल्लाको इन्चार्ज, सहइन्चार्ज र विभागीय प्रमुखको ठूलो भूमिका हुन्छ । किनभने महाधिवेशनमा भोटिङ नै भयो विगतमा । कथंकदाचित अहिले पनि भोटिङ भयो भने त आफ्नो शक्ति सुदृढ गरिहाल्नुपर्छ । त्यसका लागि जिल्ला इन्चार्जको ठूलो भूमिका हुन्छ । आफ्नो प्रतिनिधि ल्याउन, जिल्लामा आफ्नो पक्ष बनाउनका लागि । त्यसो हुनाले शक्ति सन्तुलनअनुसार विविध पक्षको सन्तुलित खालको जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडियोस् भन्ने तीनवटै पक्षको भूमिका हो । माधव नेपालले मात्र निहुँ खोज्नु भएको होइन, तीनवटै पक्षको कुरा नमिलेको हो ।

० प्रचण्ड त मौन देखिनु हुन्छ नि ?
– उहाँको बाध्यता हो । अस्ति मात्रै ठूलै परिघटना घटाउनुभयो । प्रधानमन्त्री बाहिर गएका बेला प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्नेगरी बोले भन्ने एकथरिको गुनासो आएकै छ । प्रचण्डले त्यो किन भन्नुभयो भने प्रधानमन्त्री ओलीप्रति उहाँको अविश्वास हो । उहाँसँग जुन सम्झौता भएको छ, लिखित नै भए पनि पालना गर्नुहुन्छ कि हुन्न भन्ने अविश्वासले गर्दा प्रचण्डले त्यो अभिव्यक्ति दिएका हुन् । केपी ओलीले धोका दिए भने माधव नेपालसँग मिलेर जानुपर्छ भन्ने प्रचण्डलाई कहीँ न कहीँ परेकै छ । त्यसअर्थमा प्रचण्डले अहिले ओली र माधव नेपाललाई चिढ्याउन सक्नुहुन्न । सकेसम्म उहाँ दुवैलाई मिलाउने पक्षमा हुनुहुन्छ ।

० माओवादीभित्र चाहिँ प्रचण्डलाई मिलाउनुपर्ने दबाब छैन ?
– प्रचण्डलाई दबाब नहुनुको कारण चाहिँ उहाँको बहुमत भएकाले हो । माओवादीभित्र प्रचण्डको स्पष्ट बहुमत छ । एक दुईजना वरिष्ठ नेता तथा बीचका कार्यकर्ताले प्रचण्डको ठूलै विरोध गरे पनि खासै क्षति पुग्ने देख्नु हुन्न उहाँले । तर माधव नेपाल पक्ष नै उहाँका विरुद्धमा लाग्यो भने त भविष्य कठिन छ । केपी ओली पक्षका सबै नेता एकढिक्का भएर लागे भने त उहाँको भविष्य गाह्रो छ ।

० प्रचण्डलाई अहिले माधव नेपालकै कित्तामा राखिन्छ नि ?
– त्यो गलत हो, उहाँलाई बीचमा राख्नुपर्छ । मुख्य रूपमा उहाँ केपी समूहसँग मिलेर जाने पक्षमा हुनुहुन्छ । केपी समूहसँग नमिले भविष्य सुदृढ र सम्भव देख्नुहुन्न उहाँले । यथार्थतामा त्यो छैन पनि । तर माधव समूहलाई पनि चिढ्याएर जानु हुन्न भन्ने पक्षमा प्रचण्ड हुनुहुन्छ ।

० रामबहादुर थापा बादलले क्याम्प परिवर्तन गर्नुभएको हो ?
– यो बिल्कुलै गलत समाचार बाहिर आयो । एक दुईवटा सामान्य परिघटनाका आधारमा मूल्यांकन गर्दा सही निष्कर्षमा पुगिँदैन । बादलजी मुख्यतः प्रचण्डजीसँगै हुनुहुन्छ । प्रचण्डजीले जुन अडान लिनुहुन्छ, त्यसलाई उहाँले आफ्नो मत राखेर प्रभावित गर्न सक्नुहुन्छ । त्यसो भन्दैमा अहिले नै उहाँ ओली पक्षमा लागेको हो भन्ने कुरा पूर्णतः गलत हो ।

० प्रचण्डले बादललाई ओलीतिर राखेर आफू चाहिँ माधवतिर नजिक भएको देखाउनु भएको हो कि ?
– त्यो पनि होइन । अहिले बादलको भूमिका पनि प्रचण्डजीकै जस्तो भूमिका हो । मुख्यतः उहाँ बीचमा हुनुहुन्छ, तर मुख्य रूपमा ओलीसँगै मिलेर जानुपर्छ । साथै माधव नेपाल समूहलाई पनि बिच्क्याउनु हुन्न भन्ने पक्षमा बादल पनि हुनुहुन्छ ।

साभार: तरुण साप्ताहिकबाट

LEAVE A REPLY