Home मुख्य समाचार हाेलीवाइनका सूत्रधारकाे मन्त्री बन्ने दाउ, माग्दै छन्–एक थान सांसद पाऊँ

हाेलीवाइनका सूत्रधारकाे मन्त्री बन्ने दाउ, माग्दै छन्–एक थान सांसद पाऊँ

147
0
SHARE

–हरेकपल टिप्पणी–

मुलुकमा समानुपातिक प्रणालीको निर्वाचन प्रणाली भित्रिएपछि कतिपय साना दललाई फाइदा भयो भने कतिपयलाई घाटा पनि भयो । २०६४ को पहिलो संविधान सभा निर्वाचन मिश्रित प्रणालीमा गरियो । समानुपातिक प्रणली र प्रत्यक्ष प्रणलीम निर्वाचन गर्दा ठूला भनिएका दललाई घाटा लाग्यो भने साना दलले त्यसको फाइदा उठाए ।

त्यसरी फाइदा उठाउने एउटा दल थियो, नेपाल परिवार दल । जुन पार्टीले पहिलो निर्वाचनमा दुई सिट र दोस्रो निर्वाचनमा समानुपातितर्फ एक सिट पाएको थियो । त्यही परिवार दलले अहिले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ ।

परिवार दल पूर्वमन्त्री एकनाथ ढकालको नेतृत्वमा पहिले संविधानसभा निर्वाचनअघि गठन भएको दल हो । गत चुनावअघि परिवार दलले तत्कालीन वाम गठबन्धनसँग तीनबुँदे सहमति गरेको थियो । परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सोही सहमति कार्यान्वयनको माग गरेका हुन् ।

त्यतिवेला भएको सहमतिअनुसार परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलले दाबी गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यसबारे दलमा छलफल गर्ने जवाफ दिएको स्रोतले बताएको छ ।

सो पार्टीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेर ध्यानाकर्षण गराउने तयारी गरेको जनाएको छ ।

ढकाल नेपालमा केही महिनाअघि सम्पन्न ‘होली वाइन’ प्रकरणका सूत्रधार मानिन्छन् । धर्मलाई अफिमका रूपमा व्याख्या गर्ने कम्युनिस्ट पार्टीको सरकारले क्रिश्चियन धर्मप्रचारक एक विवादास्पद विदेशी गैरसरकारी संस्थाको कार्यक्रमलाई आफ्नै कार्यक्रमका रूपमा प्राथमिकता दिएर त्यसमा संलग्न हुँदा सर्वत्र विरोध भएको थियो ।

नेपाल सरकारले यसअघि सो कार्यक्रमको सहआयोजकका रूपमा विभिन्न विदेशी राष्ट्रका पाहुनाहरूलाई नेपालमा आमन्त्रण नै गरेको थियो । तर, प्रतिपक्षी नेपाली कांग्रेसको चर्को विरोध र आमसर्वसाधारणको व्यापक आलोचनापछि सरकारले सह–आयोजकबाट पछि हटेको थियो ।

एसिया प्यासिफिक सम्मेलनको नाम दिएर आयोजना गरिएको सो विवादास्पद कार्यक्रम यसअघि फिजीमा आयोजना गर्न खोज्दा त्यहाँको सरकारले अनुमति नदिएपछि नेपालमा कार्यक्रम गर्ने तय भएको थियो । कार्यक्रमका सूत्रधार थिए, पूर्वमन्त्री एवं कोरियाको युनिफिकेसन चर्चका नेपाली प्रतिनिधि एकनाथ ढकाल ।

ढकाल त्यस्ता भाग्यमानी व्यक्ति हुन्, जसको पार्टीले संविधानसभा निर्वाचनमा एक सिट मात्रै जित्दा पनि उनले पटक–पटक मन्त्री बन्ने सौभाग्य पाएका थिए । नेपाल परिवार दल नामको सो पार्टीले वामगठबन्धनलाई सहयोग गर्ने सहमति गरेको थियो ।

उनी पटक–पटक मन्त्री बन्नुमा उनको पार्टीको शक्तिभन्दा पनि अन्तर्राष्ट्रिय क्रिश्चियन संस्थाहरूको दबाबले भूमिका खेलेको त्यतिवेला नै चर्चा हुने गरेको थियो । विकिपीडियाका अनुसार ढकालले नेपाली महिलालाई कोरियन पुरुषसँग विवाह गराउने र क्रिश्चियन बनाउने काम गरेका थिए ।

होलीवाइन प्रकरणमा सहआयोजकबाट नाम हटाए पनि सो कार्यक्रममा सरकारको भूमिका आयोजकको भन्दा कम थिएन । कार्यक्रमका आयोजक र अतिथिको आदर सत्कारका खातिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओली केही दिन प्रधानमन्त्रीनिवास बालुवाटार र सिंहदरबार छाडेर सोल्टी होटेलमा वास बस्न गएका थिए ।

त्यसैको प्रतिफस्वरूप हुनुपर्छ, सो कार्यक्रममा उनी एक लाख डलर (करिब एक करोड रुपैयाँ) राशिको पुरस्कारसहित सम्मानित भएका थिए । उनी आफू सम्मानित मात्र भएनन्, आफ्ना पार्टीका विशिष्ट नेताहरूलाई ‘जिससकी छोरी’बाट दीक्षित गराए ।

सोही कार्यक्रमका नेपाली सूत्रधार ढकाल अहिले सांसद पद माग्दै प्रधानमन्त्रीको ढोका चहार्दै छन् । अहिले सांसद बनेपछि मन्त्री बन्ने बाटो खुल्ने बुझेकै कारण उनले सांसद पद मागिरहेका छन् भन्ने कुरा घामजत्तिकै छर्लंङ छ । उनी मन्त्री बनून् या नबनून् त्यो आमजनतालाई चासोको विषय होइन । चासोको विषय त यो हो कि नेपालको सनातन धर्म र संस्कृतिलाई मासेर वर्तमान सरकारले देशलाई अन्तराष्ट्रिय हस्तक्षेपको केन्द्र बनाउला भन्ने चिन्ता आमनेपालीलाई छ ।

LEAVE A REPLY