Home कला/साहित्य संग्रहणीय पुस्तक ‘संस्कार–सुलोचना’

संग्रहणीय पुस्तक ‘संस्कार–सुलोचना’

491
0
SHARE

असार १०, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नारायणप्रसाद निरौलाद्वारा लिखित धार्मिक एवं सांस्कृतिक उपयोगी विषयवस्तु समेटिएको पुस्तक ‘संस्कार–सुलोचना’ सार्वजनिक भएको छ । एक विशिष्ट धार्मिक अनुष्ठानमार्फत् उक्त पुस्तक सार्वजनिक गरिएको हो । पौरस्त्य वाङ्मयका विशिष्ट विद्वानद्वारा विमोचन गरिएको पुस्तकलाई काठमाडौँको अनामनगर निवासी नारायणप्रसाद ओझाले प्रकाशनमा ल्याएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम र नेसंवि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागीय प्रमुख प्रा. डा. देवमणि भट्टराईका गहन मन्तव्य समेटिएको विविध आवश्यकीय विषयवस्तुको प्रस्तुतिले प्रस्तुत पुस्तक संग्रहणीय बन्न पुगेको छ ।

‘संस्कार–सुलोचना’ अन्तर्गत पाँच खण्ड रहेका छन् । हरेक खण्डमा विविध उपयोग विषयवस्तु समविष्ट रहेको पाइन्छ । पहिलो खण्डमा चाडपर्व सम्बन्धी विषयवस्तुको बारेमा खोजमूलक लेख प्रस्तुत गरिएको छ । वर्षमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेका चाडपर्वको बारेमा यस खण्डमा प्रमाणसहित परिचय दिइएको छ । जस अन्तर्गत हाम्रो नववर्षका वैज्ञानिक आधार, अक्षय तृतीयाका धार्मिक सांस्कृतिक पक्ष, मातातीर्थ औँसी र आमाको महिमा, एकादशी व्रतमहिमा, गुरुको शास्त्रीय महिमा, शिव उपासना र श्रावण महिना, नागपञ्चमी महिमा, जनैपूर्णिमा र शास्त्रीय विधान, श्रीकृष्ण जन्माष्टमी र कर्मयोग, हरितालिका तीज र ऋषिपञ्चमीका धार्मिक सांस्कृतिक पक्ष, प्रविधिका पिता विश्वकर्मा, श्राद्ध विवेचना, दशैँ अर्थात् नवरात्रको महिमा, तिहार एक चिनारी, बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ?, श्रीस्वस्थानीव्रत महिमा, श्रीपञ्चमी र सरस्वती महिमा, शिव आराधनाको उत्तम दिन महाशिवरात्रि, कुन पूर्णिमामा कस्ता पर्वहरू पर्छन ? भन्ने शीर्षकमा शोधपरक संक्षिप्त विवेचना प्रस्तुत गरिएको छ ।

दोस्रो संस्कार खण्डमा हाम्रा सोह्र संस्कारको संक्षिप्त विवेचना, व्रतबन्ध सम्बन्धी विशेष जानकारीका साथै हाम्रो विवाह पद्धतिको पनि वैज्ञानिक विश्लेषण गरिएको छ । सोह्र संस्कार अन्तर्गतको अन्तिम संस्कारको विधि पनि सटीकमा प्रस्तुत गरिएको छ । यसैगरी हाम्रो दैनन्दिनी जीवनमा आइपर्ने जुठो एवं सुतको बारेमा पनि यस पुस्तकले जानकारी प्रदान गरेको छ । वर्तमानमा कर्मकाण्ड शब्दको अर्थ अपकर्ष गरी प्रयोग भएको विषयप्रति आपत्ति जनाउँदै एक विशिष्ट विधिका रूपमा कर्मकाण्ड रहेको कुरा सप्रमाण प्रस्तुत गरिएको छ । यसैगरी संकल्प के हो र किन गर्नुपर्छ भन्ने प्रश्नको ज्योतिषशास्त्रीय आधारमा परिचयात्मक व्याख्या ‘संकल्पको वैज्ञानिक पक्ष’अन्तर्गत गरिएको छ । यसैगरी व्रत भनेको के ? व्रत धारण कसरी गरिन्छ र कुुन व्रतको फल के भन्ने बारेमा शास्त्रीय चर्चाका साथै लाखबत्ती प्रज्वलनको धार्मिक महत्त्व र फल वर्णन सहितको संक्षिप्त विवेचना संस्कार खण्डमा पाइन्छ ।

तेस्रो पौरस्त्य वाङ्मय खण्डमा षड्दर्शन, अठार पुराण को परिचय, नीति वचन एवं अध्यात्म सम्बन्धी गहन विश्लेषण गरिएको छ । यसैगरी विज्ञानको जननी संस्कृत हो भन्ने कुरालाई पनि लेखकले सप्रमाण पुष्टि गरका छन् । जीवनमा सुख कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा पौरस्त्य वाङ्मयको सार सूक्ष्म विश्लेषणसहित प्रस्तुत गरिएको यो खण्ड पूर्वीय वाङ्मयको ज्ञानका साथै जीवन दर्शनका निम्ति उपयोगी रहेको छ ।

चौथो ज्योतिष खण्डमा ज्योतिषीय विषयवस्तुको आवश्यक जानकारीका साथै विशद् विवेचना प्रस्तुत गरिएको छ । हामीले बनाउने चिना भनेको के हो ? चिनमा कस्ता कुरा राखिन्छ भन्ने कुराको जानकारीका साथै चिनाको वैज्ञानिक पक्षलाई उजागर ‘चिना किन बनाइन्छ ?’ भन्ने शीर्षक मार्फत् प्रष्ट्यानउन खोजिएको छ । यसैगरी हाम्रा महिना र बारको निर्धारण कसरी गरिएको छ ? यसको वैज्ञानिक कारण के हो भन्ने कुरा ‘महिना र बार निर्धारणका वैज्ञानिक पक्ष’ भन्ने शोधपरक लेखमा उल्लेख गरिएको छ । यसैगरी आकाशमा देखिने ग्रहण के हो ? ग्रहण कसरी लाग्छ ? र ग्रहणमा कस्ता कुरा बार्नुपर्छ भन्ने विषयमा शास्त्रीय प्रमाण सहित ‘ग्रहण विचार’ शीर्षक उल्लेख गरिएको छ । आकाशमा बृहस्पति र शुक्र कसरी अस्त हुन्छन् । तिनको प्रभाव कसरी हामीमा पर्छ र गुरु–शुक्र अस्तमा के कस्ता कार्य वर्जित रहन्छन् भन्ने कुरा ‘गुरु–शुक्र अस्त र यसले पार्ने प्रभाव’ भन्ने शीर्षकमा व्याख्या गरिएको छ । ग्रहशान्ति कसरी गर्न सकिन्छ ? वास्तु अनुसार हाम्रो घर कस्तो हुनुपर्छ ? भन्ने विषयवस्तुको ज्ञानका साथै सपनाको फल र अन्य आवश्यक ज्योतिषीय विषयवस्तुको उल्लेख यस खण्डमा पाइन्छ ।

यसैगरी उनमासकि श्राद्ध कसरी जुराउने, द्विपुष्कर र त्रिपुष्कर योग भनेको के हो ? कुन दिशाको यात्रा गर्दा के खाने ?, बाटामा अपशकुन देखिए के गर्ने ?, यात्रामा नवौँ दिन विचार, ग्रह एक राशिमा रहने अवधि, संक्रान्तिको विशेष पुण्यकाल, कार्य अनुसार महिनाको प्रधानता, पञ्चक, शरुन वा भद्वा, महिनाका वैदिक नाम, सूर्यको नाम र मासाधिपति देवी–देवता, अधिमास र क्षयमासको परिचयका साथै पूर्णिमा र औँशीका भेदको बारेमा पनि यस खण्डमा संक्षिप्त प्रस्तुति पाउन सकिन्छ ।

पाँचौँ विविध खण्डमा दान गर्ने वस्तु र तिनका देवताको नाम, कुन वस्तु कहाँ छोएर दान गर्ने ?, गायत्री मन्त्र, पत्नी कुन समयमा पतिको कता बस्ने ? कुन देवताको कतिपटक परिक्रमा गर्ने ? त्रिलोक, त्रिमधु, त्रिशक्ति, त्रिगुण, त्रिसन्ध्या, त्रिमद, त्रिदोष, चतुवर्ग, चार वेद, पञ्चांग, पञ्चामृत, पञ्चत्तत्व, पञ्चधेनु वेदांग, सप्तर्षि, सात द्विप, सप्तधान्य, अष्टचिरञ्जीवी, अष्टधातु, अष्टांग अर्घ, अष्टांग योग, अष्टवसु, अष्टमहादान, नवरस, नवदुर्गा, दश महादान, अग्निका दश कला, एकादश रुद्र, सूर्यका बाह्रकला, सूर्यका बाह्र नाम, तेह्र पददान, चौध मनु, चौध विद्या, चन्द्रमाका सोह्र कला, आरती किन गरिन्छ ?, कुन कार्यमा कुन औँलाको प्रयोग गर्ने ?, कुन मन्दिरमा कुन बाजा निषेध छ ?, घरमा अशान्ति हुने कुरा के के हुन् ? कुन वस्तु कुन देवतालाई प्रिय हुन्छ ?, कस्तो फूल अशुद्ध मानिन्छ ? पीपलको पूजा कहिले गर्ने ?, हवनको चरु कसरी बनाउने ?, कुन कुन शब्दमा महा लगाउनु हुँदैन ?, ब्रह्ममुहूत्र्तमा किन सुत्नु हुँदैन ?, आसन कस्तो हुनुपर्छ ?, जनै कतिवेल नयाँ फेर्नुपर्छ ?  चन्दन वा टीका निधारमा किन लगाइन्छ ? हातमा तीर्थ, साँझबत्ती किन बालिन्छ ?, वायु विचार कार्य अनुसार अग्निका नाम जस्ता उपयोगी विषयवस्तुको जनकारी अन्तिम खण्डमा सप्रमाण प्रस्तुत गरिएको छ ।

यसैगरी अन्त्यमा गोत्र–थर–प्रवर सम्बन्धी संक्षिप्त परिचयपूर्वक गोत्र–थर–प्रवरावलीको विवरण समेत प्रस्तुत गरिएको छ । सन्दर्भग्रन्थसहित शोधपरक ढंगले प्रस्तुत गरिएकाे ‘संस्कार–सुलोचना’ एक संग्रहणीय पुस्तक बन्न पुगेको छ ।

LEAVE A REPLY