Home मुख्य समाचार एसइई, शान्ता र करिश्मा

एसइई, शान्ता र करिश्मा

203
0
SHARE

–हरेकपल टिप्पणी–

पहिले एसएलसी र अहिले एसइई नाम दिइएको माध्यामिक शिक्षाको अन्तिम परीक्षामा विद्यार्थी, शिक्षक मात्र होइन आम अभिभावकको पनि चासो रहने गरेको पाइन्छ । यो परीक्षामा आफ्ना छोराछोरीले कस्तो नतिजा ल्याउलान् र उनीहरूको भविष्य कता मोडिएला भन्नेमा आमअभिभावकले चासो र चिन्ता व्यक्त गरेका हुन्छन् ।

२०७५ सालको एसइई परीक्षार्थीमध्ये यस्ता दुई विद्यार्थी थिए, जसको परीक्षाबारे उनीहरूका अभिभावकले होइन, उनीहरूका सन्तान र आमसर्वसाधारणले चासो राखे । किनकि उनीहरू आफैँ अभिभावक थिए । उनीहरू थिए, अभिनेत्री करिश्मा मानन्धर र नेतृ शान्ता चौधरी । उनीहरू आफ्ना सन्तानको मात्र होइन, देशकै अभिभावक थिए ।

शान्ताले यो वर्ष आफ्नै छोरीसँगै एसइई परीक्षा दिएर पास भएकी छिन् भने करिश्माले छोरीले भन्दा निकै वर्षपछि एसइई दिएर पास भएकी छिन् । बिहीबार प्रकाशित नतिजाअनुसार शान्ताले २.६५ जिपिए ल्याएर बी’ ग्रेडमा उत्तीर्ण भएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । शान्ता चौधरीले दाङबाट एसईई परीक्षा दिएकी थिइन् । पूर्वकमलरी शान्ताले २०७३ सालमा दाङको डाँडागाउँ मावि घोराहीबाट कक्षा ८ मा भर्ना भएर औपचारिक कक्षाको पढाइ सुरु गरेकी थिइन् ।

नेकपा संसदीय दलकी सचेतक शान्ता आफूले बाल्यकालदेखि विद्यालय देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनले गुनासो गर्दै आएकी थिइन् । २०६४ सालमा पहिलोपटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि आफूले उनले पढाइको महत्व बुझेको उनको भनाइ छ ।

त्यस्तै कथा करिश्माको पनि छ । सानो उमेरमा दुःख र संघर्ष गर्दै कुनै समय नेपाली चलचित्र नगरीमा एकछत्र राज गरेकी करिश्माले १४ वर्षकै हुँदा ‘सन्तान’ चलचित्रमा काम गरिन् । आफू रहरले वा लक्ष्यका कारण त्यो क्षेत्रमा लागेको थिएँ भन्ने कुरा उनी आफैँलाई थाहा छैन । करिश्माले करिअरमा ध्यान दिँदा उनको पढाइ बीचैमा छुट्यो ।

त्रिवेणी पब्लिक स्कुल मैतिदेवीमा उनी कक्षा ८मा भर्ना भइन् । दुई वर्षपछि राजधानीको डिल्लीबजारमा रहेको विजय स्मारक माध्यमिक विद्यालय केन्द्रबाट उनले परीक्षा दिइन् । उनले आफूले मलाई परीक्षामा धेरै राम्रो नतिजा नचाहिने उत्तीर्ण मात्र भए पुग्ने बताउँदै आएकी थिइन् । तिनै करिश्मा जिपिए ३ ल्याएर एसइई पास भइन् । मानन्धरले ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् ।

ढिलै भए पनि एसर्ईईमा पास भएकोमा आफू निकै हर्षित भएको उनले प्रतिक्रिया दिएकी छन् । उनले पढाइलाई अझै मिहिनेतका साथ निरन्तरता दिने बताएकी छन् । सरकारी क्याम्पसमा भर्ना भएर पढाइलाई निरन्तरता दिने उनको लक्ष्य छ ।

त्यसो त उनी नयाँ शक्ति नेपाल पार्टीमा आबद्ध भएर झण्डै दुई वर्ष काम गरिन् । अहिले सो पार्टी अर्को पार्टीसँग एकता भएपछि करिश्माले आफूले राजनीति बुझिसकेको र अब राजनीति नगर्ने बताउन थालेकी छिन् ।

उमेरले ४ दशक पार गरिसकेका यी दुई ‘सेलिब्रेटी’को हिम्मतको सबैतिरबाट प्रशंसा भएको छ । विविध कारणले पढाइ छुटेको र अहिले अधबैँसे उमेरमा पढाइलाई निरन्तरता दिन पाउँदा उनीहरू जति खुसी छन् । भावी पुस्ताका लागि पनि आदर्श पात्र भएका छन् ।

LEAVE A REPLY