Home ताजा समाचार नर्वेमा गैर आवासीय नेपाली संघको निर्वाचन अगस्टमा हुने

नर्वेमा गैर आवासीय नेपाली संघको निर्वाचन अगस्टमा हुने

802
0
SHARE

-हरेकपल बिशेष प्रतिनिधि-

ओस्लो, नर्वे— गैर आवासीय नेपाली संघ, नर्वेको असार १४ (२९ जुन, २०१९) गते सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनले राष्ट्रिय समन्वय समिति गठनका लागि डाक्टर सुरज थापाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिमा रहनु भएका अन्य सदस्यहरु हुनुहुन्छ—प्राध्यापक डाक्टर विशाल सिटौला, सन्तोष वानियाँ, मनीष बुढाथोकी तथा नवराज गुरुङ । यस समितिको पहिलो बैठकले आगामी अगस्तको ३१ तारिखमा निर्वाचन गर्ने मिति घोषणा गरेको छ ।

राष्ट्रिय अधिवेशनको मुख्य अतिथि हुनुहुन्थ्यो गैर आवासीय संघ, युरोप प्रमुख शिव बरुवाल । उद्घाटन सत्र र बन्दसत्रमा विभाजित राष्ट्रिय अधिवेशनमा गैर आवासीय संघमार्फत् कसरी नेपाललाई सहयोग गर्न सकिन्छ भन्ने वारेमा व्यापक छलफल भएको थियो । राष्ट्रिय अधिवेशनको दुवै सत्रको अध्यक्षता वर्तमान अध्यक्ष सञ्जीवकुमार थापाले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा बोल्ने विभिन्न वक्ताले गैआनेसंले कसरी नेपालको हितमा काम गर्ने भन्ने चासो र प्रक्रियाको वारेमा बोलेका थिए भने सबैको चासो राष्ट्रिय समन्वय समिति बनाउने कुरामा नै बढी केन्द्रित थियो किनभने काठमाडौँमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गराउन आवश्यक छ ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गरिएको जसमा नर्वेमा कसरी संघको काम कारबाही अगाडि बढिरहेको छ भन्ने कुरा दर्शाइएको थियो । पहिलेका कार्य समितिहरुलाई धन्यवाद दिँदै आगामी समितिले अझ बढी काम गर्न सकोस् भन्ने शुभकामना दिइएको थियो ।

शालिग्राम अर्यालले स्वागत गरेर सुरु गर्ने भएको कार्यक्रममा उद्घाटन समारोहका वक्ताहरु हुनुहुन्थ्यो— हेम गुरुङ,प्रा डाक्टर विशाल सिटौला, डाक्टर सुरज थापा, द्वारिका महर्जन,सन्तोष बानियाँ, विश्वास बजगाईँ, हरिविनोद अधिकारी,शिव बरुवाल( प्रमुख अतिथि),नेत्र तिमल्सिना,मनोज उपाध्याय , बरुण पौडेल, जीतेन्द्र शाही , चन्द्रप्रसाद गिरी आदि । कार्यक्रम सञ्चालन महासचिव राजु अर्यालले गर्नु भएको थियो । कलाकार विनबहादुर खातीले सुमधुर स्वरले मनोरञ्जन गराउनु भएको थियो ।

विश्वमा छरिएर रहेका करिब आधा करोड नेपालीको साझा संगठन हाल ८० देशमा विस्तारित भएको छ र युरोपमा मात्र २८ ओटा देशमा संगठित छ । हालै नेपालका सम्पन्न लगानी सम्मेलनमा गैर आवासीय संघले करिब १० अर्ब लगानी गर्ने वचन दिएको छ । यसमा नर्वेमा रहेका नेपालीहरु पनि लगानी गर्न इच्छुक देखिन्छन् यदि नेपालमा लगानीको वातावरण बनेमा । नर्वेमा नेपालीहरुका सामाजिक संस्थाहरु नै करिब ५० ओटा रहेको जानकारी पनि दिइएको थियो जसले नेपालका सामाजिक सेवा गर्ने लक्ष्य राखेका छन् र कतिपयले सेवा पनि गरिरहेका छन् ।

२ हजार भन्दा बढी नेपालीहरु नर्वेमा रहेको अनुमान गरिन्छ र गैर आवासीय संघमा दर्ता भएका सदस्यहरु नै करिब ७ सय जति छन् । निर्वाचन समितिको मुख्य चासो नै सकेसम्म सबै साधारण सदस्यहरुले मतदान गर्न सकून् र निर्विवाद समिति बनोस् ।

 

LEAVE A REPLY