Home मुख्य समाचार नेकपाकाे नयाँ दस्ताबेजः जबज प्रणेता मदनकाे अपमान, अमेरिकासँग थर्कमान

नेकपाकाे नयाँ दस्ताबेजः जबज प्रणेता मदनकाे अपमान, अमेरिकासँग थर्कमान

81
0
SHARE

–हरेकपल टिप्पणी–

केही महिनाअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकाले भेनेजुयलाको संस्थापन पक्षलाई बाइपास गरेर विपक्षी दलका नेतालाई मान्यता दिएको विरोधमा कडा वक्तव्य जारी गरेर विरोध जनाए । उनले वर्तमान राष्ट्रपति मडुरोको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

उनको विज्ञप्तिमा भनिएको थियो– ‘भेनेजुयलाका जनता, राष्ट्रको सार्वभौमसत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ । जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको भत्सर्ना गर्दछ ।’

प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेका वेला दाहालले जारी गरेको सो विज्ञप्तिले नेपाली राजनीति मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय राजनीतिलाई नै तरंगित पारेको थियो । नेपालका राजनीतिक दलहरूमध्ये केहीले प्रचण्डको कदमको स्वागत गरे भने अधिकांशले त्यसको आलोचना गरेका थिए । स्वयं सत्तारुढ दलका नेताले पनि प्रचण्डको विज्ञप्तिलाई ‘बढी बाठो भएको’ भनेर प्रतिक्रिया जनाएका थिए ।

प्रचण्डको विज्ञप्ति आएपछि यो सरकारको आधिकारिक धारणा हो कि होइन ? भनेर धेरैले प्रश्न उठाएपछि सरकारले अर्को वित्रप्ति जारी गर्यो । पछिल्लो विज्ञप्ति केही नरम भए पनि अध्यक्ष प्रचण्डको विज्ञप्तिलाई नै समर्थन गर्ने खालको थियो ।

एमाले र माओवादी मिलेर बनेको नेकपाले अहिले जनताको बहुदलीय जनवादलाई तिलाञ्जली दिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘जनताको जनवाद’मा सहमति भएको छ । यसमा वरिष्ठ नेता माधवकुमार नेपालसहितको सहमति छ ।

नेकपाको प्रतिवेदनमा यसअघि अमेरिकालाई ‘साम्राज्यवाद’ का रूपमा चर्चा गरिएको थियो, अहिले त्यसबाट ‘अमेरिकी’ भन्ने शब्द हटाएर नरम बनाइएको छ । अब नेकपाको दस्ताबेजमा अमेरिकालाई ‘साम्राज्यवादी’का रुपमा किटानी गरिने छैन । दस्ताबेजमा ‘विश्व साम्राज्यवाद’ पदावलीको मात्रै प्रयोग हुनेछ ।

सच्याउनुअघिसम्म नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदनमा अमेरिकाको भूमिकालाई यसरी व्याख्या गरिएको थियो–‘इस्लामिक आतंकवादको विरोधको नाममा इराक, अफगानिस्तान, सिरिया लगायतका अधिकांश खाडी मुलुकहरुमा युद्ध थोपरिएको छ । युद्धको भित्री आशय भने खाडी क्षेत्रबाट तेल र ग्यास लगायतका प्राकृतिक स्रोतहरुको दोहन गर्नुमा केन्द्रित छ । सिरियाको युद्धबाट लाखौँ निर्दोषहरुको नरसंहार भएर भयावह मानवीय संकट सिर्जना भएको छ । कोरियाली प्रायद्वीपमा बढ्दो अमेरिकी गतिविधिले तनाव सिर्जना गरेको छ ।’

नेकपा अमेरिकाप्रति नरम बन्नुलाई अहिले अर्थपूर्ण रूपमा हेरिएको छ । दुईतिहाइ बहुमतको सरकार भएर पनि देखिने गरी कुनै काम गर्न नसकेको भनेर आलोचित बनेको सरकारले अमेरिकाको विरोध गरेर सरकार चलाउन नसकिने महसुस गरेर अमेरिकाप्रति नरम बनेको चर्चा चलेको छ ।

हुन त तत्कालीन एमालेले अमेरिकी तथा युरोपेली नेताहरूको नेपाल भ्रमणका वेला आफ्नो पार्टी कार्यालयमा झुन्ड्याइएका माक्र्स, एंगेल्स, लेनिनलगायत कम्युयनिस्ट नेताको फोटो हटाएको चर्चा त्यतिवेलै चलेको थियो । पार्टीको नाममा ‘कम्युनिस्ट राख्न पनि नछाड्ने अनि कम्युनिस्ट पार्टीको सिद्धान्त पनि पालना नगर्ने नीतिमा वर्तमान नेकपा पुगेको देखिन्छ । तर, जनताको बहुदलीय जनवादको सिद्धान्त हटाएर यसका प्रतिपादक मदन भण्डारीलाई भने अपमान गरेको छ ।

समग्रमा हेर्दा नेकपा कुनै सिद्धान्तनिष्ठ पार्टी होइन भन्ने प्रमाणित भएको छ । सो पार्टी जनताको आँखामा छारो हाल्न पनि नछाड्ने अनि अवसरको खेतीलाई मलजल गर्ने दिशामा अग्रसर भएको स्पष्ट देखिन्छ ।

LEAVE A REPLY