Home ताजा समाचार हरिशयनी एकादशीमा कसरी गरिन्छ तुलसी रोपण ? हेर्नुहोस्

हरिशयनी एकादशीमा कसरी गरिन्छ तुलसी रोपण ? हेर्नुहोस्

392
0
SHARE
आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । हरि अर्थात् विष्णु भगवान् शयन गर्ने समय भएकाले यस दिनलाई हरिशयनी भनिएको हो । एकादशी चान्द्र महिनाको एघारौँ दिन हो । यस दिन भगवान््को व्रत धारण, कथा श्रवणका साथै तुलसीको रोपण गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन दल राखी हरिशयनी एकादशीमा रोपण गरेर हरिबोधिनी एकादशीका दिन विष्णु भगवान्सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको छ । यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ ।
यसवर्ष २०७६ साल असार २७ गते हरिशयनी एकादशी व्रत परेको छ । यस दिन एकादशीकोव्रतका साथै तुलसीको बिरुवा मठमा राेप्नुका साथै विशेष पूजा आराधना पनि हुने गर्दछ ।
तुलसी भक्ति ज्ञान र वैराज्ञको केन्द्रविन्दु हो । एकादशीमध्येको उत्तम एकादशी हरिशयनी हो । यस दिनबाट विष्णु भगवान् चार महिनासम्म शयन गर्ने भएकाले यो समयलाई चतुर्मासा पनि भनिन्छ । आयु वृद्धिमा पनि तुलसीको विशेष महत्व रहेको छ । आयुर्वेदमा तुलसीलाई महौषधीको संज्ञा दिइएका छ । बाहिर कतै पवित्र स्थानमा उम्रिएको तुलसीको बिरुवालाई यस दिन मठमा सार्नु पर्दछ ।

तुलसी रोपण गर्ने विधि –

हरिशयनी एकादशीका दिन तुलसीलाई मठमा सारिन्छ । तुलसीको दल राखेको स्थानमा गई निम्न मन्त्रले भगवती तुलसीको प्रार्थना गर्नु पर्दछ –
प्रसीद मम देवेशि कृपया परया सदा ।
अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।। (नेसंवि पञ्चाङ्ग–२०७५, पृ. ६०)
यसरी प्रार्थना पछि जरा र केही माटोसहित तुलसीलाई पूर्व फर्केर उखेल्नु पर्दछ । यसरी उखेल्दा भगवान्को नाम ‘ॐ नमो भगवते वासुदेवाय’ उच्चारण गर्नु पर्दछ । यसरी उखेलिएकी तुलसीलाई मठमा ल्याई पूर्व फर्केर रोपण गर्नु पर्दछ । रोपण पश्चात् पर्याप्त जल पनि राखिदिनु पर्दछ ।
स्नान गरी शुद्ध भई घरको पूजा स्थलमा भगवान् विष्णुको प्रतिमा राखी षोडशोपचारले पूजा गर्ने विधान रहेको छ । यसपछि पीताम्बरले सुसज्जित बनाई भगवान्का कथा श्रवण गर्नाले उत्तम फल प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ । यसरी कथा श्रवण पश्चात् भगवान्लाई झुला वा शैयामा राखेर शयन गराउनु पर्दछ । यस दिन गरिने स्नान, दान, तप, धर्म आदि सबै कार्यको अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ ।

तुलसीका प्रसिद्ध आठ नाम

ब्रह्मवैवर्तपुराण अनुसार तुलसीका प्रसिद्ध आठ नाम छन् –
वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् ।
पुष्पसारं नन्दिनीञ्च तुलसीं कृष्णजीवनम् । ( ब्रह्मवैवर्तपुराण, तुलसीस्तोत्रम्)
वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी । यी नामको. उच्चारण गर्नाले अभीष्ट फल प्राप्त हुने कुरा समेत उक्त पुराणमा वर्णन पाइन्छ ।

हरिशयनी एकादशीको कथा –

स्कन्द पुराण अनुसार पतिव्रता पत्नी वृन्दाको सतीत्व नै जालन्धरको अमरत्वको आधार थियो । वृन्दाको सतीत्व अन्त्य नगरी जालन्धर राक्षसको अन्त्य सम्भव थिएन । सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान् विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नुपरेको थियो । विष्णु भगवान्ले रूप वदली जालन्धरको भेषमा गई वृन्दाको सतीत्व हरण गरेको थाह पाएपछि वृन्दाले भगवान् विष्णुलाई श्राप दिन्छिन् । त्यसपछि भगवान् विष्णु पत्थरका रूपमा शालग्राम हुनुभयो । पुनः वहाँ वृक्षका रूपमा तुलसी पनि हुनु परेका थियो । वृन्दाको श्रापका कारण भगवान् तुलसीरूपमा प्रकट भई सर्वकल्याण गरेको कथा पनि पुराणमा पाइन्छ । तुलसीको वनलाई वृन्दावन भनिन्छ । एकादशी महिमाको चर्चा पद्म पुराणको चौध अध्यायमा पनि पाइन्छ । एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्रप्त हुने कुरा ब्रह्मवैवर्त पुराणमा व्याख्या गरिएको छ ।
आहार विहार
एकादशी तिथिमा सात्विक आहार उपयुक्त मानिएको छ । विशेषतः अन्नलाई पनि त्याज्य मानिन्छ । सात्विक आहार, विहार र विचार एकादशीका पर्याय हुन् । भगवान्का कथा श्रवण एवं भगवान्को नामसंकीर्तन यस दिन उत्तम फलदायी रहन्छन् । यस दिन मांसहार, मैथुन, परनिन्दा, राजसी र तामसी भोजन एवं कार्य निषेध गरिएको छ । दान पुण्यका कर्म भने एकादशीमा शुभ रहन्छन् ।
व्रत रहनु आफूमै पवित्रताको वरण गर्नु हो । आजको विज्ञानले पनि व्रतलाई आवश्यक ठानेको छ । वैदिक संस्कृति र सभ्यतामा व्रतलाई एक यज्ञको संज्ञा दिइएको छ । व्रत पनि एकप्रकारको यज्ञ नै हो । यसैले विशेष तिथि पर्वमा व्रत धारण गर्ने परम्परा रहिआएको छ । यस्तै व्रत धारण गर्ने उपयुक्त दिन एकादशी पनि हो । व्रत रहँनाले समस्त मनोकांक्षा पूर्ण हुने धार्मिक मान्यता रहेको छ । हरेक पन्ध्र दिनमा एउटा एकादशी पर्ने गर्दछ । हाम्रो समाजमा एकादशीको व्रत बस्ने चलन छ । जसको धार्मिक एवं वैज्ञानिक कारण पनि रहेको पाइन्छ । चान्द्रमास अनुसार महिनामा दुईवटा शुक्ल र कृष्ण एकादशी पर्ने गर्दछन् । लाग्दो तिथि छोड्दो व्रत भन्ने चलन नै रहेको छ । व्रत धारण गर्दा छोड्दो तिथिलाई लिनुपर्छ । अर्थात् द्वादशी लाग्ने एकादशीको व्रत बस्नु उत्तम हुने शास्त्रीय प्रमाण पाइन्छ । विशेषगरी एकादशी भगवान्् विष्णुको प्रिय दिन हो । स्मार्तहरू तिथि लागेकै दिन व्रत बस्ने गर्दछन् भने वैष्णव समप्रदायमा छोड्दो एकादशी र लाग्दो द्वादशीलाई व्रतका रूपमा उपयोग गर्दछन् ।
व्रत शारीरिक, मानसिक एवं आध्यात्मि तिनै दृष्टिले उपयुक्त मानिन्छ । महिनामा दुई दिन व्रत धारण गर्नाले मानसिक एवं शारीरिक शुद्धि हुने गर्दछ । आजको विज्ञानले समेत व्रतको पवित्र उद्देश्यलाई स्वीकारेको छ । एक उपचार पद्धतिको रूपमा समेत व्रतलाई प्रयोग समेत गर्दै आएको पाइन्छ । पारलौकिक सत्य नमान्नेका लागि पनि व्रत उपचारको एक माध्यम हुन सक्छ । पाश्चात्य समाजमा पनि यही व्रतमको प्रभाव स्वरूप फाष्टिङ बस्ने चलन रहेको पाउन सकिन्छ । पेटमा भएका विकारलाई शुद्ध गर्ने एक प्रविधि पनि व्रत हो । यसमा शारीरिक एवं मानसिक पवित्रताको आवश्यकता रहन्छ । शरीरको अनुकुलता अनुसार सात्विक आहार लिएर पनि व्रत धारण गर्न सकिन्छ । व्रतको उद्देश्य पवित्र हुनु हो । मनमा पवित्र भावनाको जागृत गराउनु हो । व्रत धारण गरेर पनि मनमा पवित्रता हुन सकेन भने सोको उचित फल प्राप्त हुन सक्दैन । व्रत कसरी गर्ने, कुन व्रतका के नियम छन् भन्ने कुरा ‘व्रतराज’ भन्ने पुस्तकमा उल्लेख गरिएको छ । हरेक व्रतका आ–आफ्नै विधि विधान रहेका छन् । फल अनुसार व्रत उपासना गर्ने विधि पनि भिन्न हुने गर्दछन् ।

नारायणप्रसाद निरौलाद्वारा लिखित ‘संस्कार–सुलोचना’ पुस्तकबाट साभार

LEAVE A REPLY