Home ताजा समाचार आज हरिशयनी एकादशीव्रत, तुलसी रोपण गर्ने दिन, हेर्नुहोस् आजको दिन २०७६ आषाढ...

आज हरिशयनी एकादशीव्रत, तुलसी रोपण गर्ने दिन, हेर्नुहोस् आजको दिन २०७६ आषाढ २७ गते

130
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २७ गते शुक्रबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको हरिशयनी एकादशी तिथि राति २।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र बेलुका ६।३८ बजेसम्म रहनेछ । आज साध्य योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१७ मा छ भने सूर्यास्त बेलुका ७।०० बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज हरिशयनी एकादशीव्रत लिने दिन हो । यसैगरी आज तुलसीको बिरुवालाई मठमा विधिपूर्वक सार्ने गरिन्छ । आजबाट चतुर्मासाको पनि आरम्भ हुन्छ । आजबाट चार महिनासम्म विष्णु भगवान् शेष शैयामा शयन गर्ने भएकाले यो समयमा भगवान्को नाम संकीर्तन एवं भागवत कथा श्रवणका निम्ति शुभ मानिन्छ ।

हरि अर्थात् विष्णु भगवान्् शयन गर्ने समय भएकाले यस दिनलाई हरिशयनी भनिएको हो । एकादशी चान्द्र महिनाको एघारौँ दिन हो । यस दिन भगवान््को व्रत धारण, कथा श्रवणका साथै तुलसीको रोपण गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन दल राखी हरिशयनी एकादशीमा रोपण गरेर हरिबोधिनी एकादशीका दिन विष्णु भगवान््सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको छ । यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ ।

तुलसी भक्ति ज्ञान र वैराज्ञको केन्द्रविन्दु हो । एकादशीमध्येको उत्तम एकादशी हरिशयनी हो । यस दिनबाट विष्णु भगवान्् चार महिनासम्म शयन गर्ने भएकाले यो समयलाई चतुर्मासा पनि भनिन्छ । आयु वृद्धिमा पनि तुलसीको विशेष महŒव रहेको छ । आयुर्वेदमा तुलसीलाई महौषधीको संज्ञा दिइएका छ । बाहिर कतै पवित्र स्थानमा उम्रिएको तुलसीको बिरुवालाई यस दिन मठमा सार्नु पर्दछ ।

तुलसी रोपण गर्ने विधि –
हरिशयनी एकादशीका दिन तुलसीलाई मठमा सारिन्छ । तुलसीको दल राखेको स्थानमा गई निम्न मन्त्रले भगवती तुलसीको प्रार्थना गर्नु पर्दछ –
प्रसीद मम देवेशि कृपया परया सदा ।
अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।। (नेसंवि पञ्चाङ्ग–२०७५, पृ. ६०)
यसरी प्रार्थना पछि जरा र केही माटोसहित तुलसीलाई पूर्व फर्केर उखेल्नु पर्दछ । यसरी उखेल्दा भगवान्को नाम ‘ॐ नमो भगवते वासुदेवाय’ उच्चारण गर्नु पर्दछ । यसरी उखेलिएकी तुलसीलाई मठमा ल्याई पूर्व फर्केर रोपण गर्नु पर्दछ । रोपण पश्चात् पर्याप्त जल पनि राखिदिनु पर्दछ ।

स्नान गरी शुद्ध भई घरको पूजा स्थलमा भगवान्् विष्णुको प्रतिमा राखी षोडशोपचारले पूजा गर्ने विधान रहेको छ । यसपछि पीताम्बरले सुसज्जित बनाई भगवान्का कथा श्रवण गर्नाले उत्तम फल प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ । यसरी कथा श्रवण पश्चात् भगवान्लाई झुला वा शैयामा राखेर शयन गराउनु पर्दछ । यस दिन गरिने स्नान, दान, तप, धर्म आदि सबै कार्यको अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ ।

हरिशयनी एकादशीको कथा –
स्कन्द पुराण अनुसार पतिव्रता पत्नी वृन्दाको सतीत्व नै जालन्धरको अमरत्वको आधार थियो । वृन्दाको सतीत्व अन्त्य नगरी जालन्धर राक्षसको अन्त्य सम्भव थिएन । सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान्् विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नुपरेको थियो । विष्णु भगवान््ले रूप वदली जालन्धरको भेषमा गई वृन्दाको सतीत्व हरण गरेको थाह पाएपछि वृन्दाले भगवान्् विष्णुलाई श्राप दिन्छिन् । त्यसपछि भगवान्् विष्णु पत्थरका रूपमा शालग्राम हुनुभयो । पुनः वहाँ वृक्षका रूपमा तुलसी पनि हुनु परेका थियो । वृन्दाको श्रापका कारण भगवान्् तुलसीरूपमा प्रकट भई सर्वकल्याण गरेको कथा पनि पुराणमा पाइन्छ । तुलसीको वनलाई वृन्दावन भनिन्छ । एकादशी महिमाको चर्चा पद्म पुराणको चौध अध्यायमा पनि पाइन्छ । एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्रप्त हुने कुरा ब्रह्मवैवर्त पुराणमा व्याख्या गरिएको छ ।

व्रत शारीरिक, मानसिक एवं आध्यात्मि तिनै दृष्टिले उपयुक्त मानिन्छ । महिनामा दुई दिन व्रत धारण गर्नाले मानसिक एवं शारीरिक शुद्धि हुने गर्दछ । आजको विज्ञानले समेत व्रतको पवित्र उद्देश्यलाई स्वीकारेको छ । एक उपचार पद्धतिको रूपमा समेत व्रतलाई प्रयोग समेत गर्दै आएको पाइन्छ । पारलौकिक सत्य नमान्नेका लागि पनि व्रत उपचारको एक माध्यम हुन सक्छ । पाश्चात्य समाजमा पनि यही व्रतमको प्रभाव स्वरूप फाष्टिङ बस्ने चलन रहेको पाउन सकिन्छ । पेटमा भएका विकारलाई शुद्ध गर्ने एक प्रविधि पनि व्रत हो । यसमा शारीरिक एवं मानसिक पवित्रताको आवश्यकता रहन्छ । शरीरको अनुकुलता अनुसार सात्विक आहार लिएर पनि व्रत धारण गर्न सकिन्छ । व्रतको उद्देश्य पवित्र हुनु हो । मनमा पवित्र भावनाको जागृत गराउनु हो । व्रत धारण गरेर पनि मनमा पवित्रता हुन सकेन भने सोको उचित फल प्राप्त हुन सक्दैन । व्रत कसरी गर्ने, कुन व्रतका के नियम छन् भन्ने कुरा ‘व्रतराज’ भन्ने पुस्तकमा उल्लेख गरिएको छ । हरेक व्रतका आ–आफ्नै विधि विधान रहेका छन् । फल अनुसार व्रत उपासना गर्ने विधि पनि भिन्न हुने गर्दछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY